लीलाधर वली
दाङ, २२ जेठ । राजपुर गाउँपालिका–३ खरदरिया निवासी कसान परिक्रमाप्रसाद यादवलाई दुध बिक्रीका लागि हुने समस्या हटेको छ । गाउँमै दुध सङ्कलन केन्द्र खुलेपछि दुध बिक्रीका लागि लमही वा घोराहीसम्म पुग्नुपर्ने बाध्यता हटेको छ । भँैसीपालन मुख्य पेसा भए पनि गाउँमा दुध बिक्रीका लागि ठाउँ नहुँदा लमही, भालुबाङ बजारसमस्या जाने गरेको यादव अहिले गाउँमै बिक्री गर्ने गरेको बताउँछन् ।
्गढवा गाउँपालिका(६ गढवामा स्थापना भएको दुध सङ्कलन तथा बिक्री केन्द्रमा दुध बिक्रीका लागि आइपुगेका यादवले गाउँमै दुध सङ्कलन केन्द्र स्थापना भएपछि बिक्रीमा सहजतासँगै आम्दानीमा समेत वृद्धि भएको बताउँछन् । दु्ध बिक्रीकै लागि टाढाका बजार धाउनु पर्ने बाध्यता हटेको भन्दै यादवले भने, ‘गाउँमै दुध सङ्कलन केन्द्र स्थापना भएपछि दुध बिक्रीका लागि सहज भएको छ, फ्याटका आधारमा दुध बिक्न थालेपछि आम्दानीसमेत बढेको छ ।’
उनका अनुसार फुटकर रूपमा घरघरमा पुगेर दुधसँगै दही बिक्री गर्नुभन्दा सङ्कलन केन्द्रमार्फत् दुध बिक्री गर्दा फाइदा हुने गरेको छ । मासिक रूपमा एकमुष्ठ भुक्तानी पाउँदा बचत समेत हुने गरेको भन्दै यादव भन्छन्, ‘बजारमा घरघरमा पुगेर बिक्री गर्दा दुःखसँगै समय धेरै लाग्ने गर्दथ्यो । पैसा पनि आउँदाजाँदा खर्च धेरै हुन्थ्यो तर अहिले घर नजिकै बिक्री गर्न पाउँदा समयसँगै पैसाको पनि बचत भएको छ ।’ दैनिक २० देखि २५ लिटर दुध बिक्री गर्दै आएका छन् ।
यादव जस्तै गढवा गाउँपालिका–३ चयनपुरका नारायण पुरी व्यावसायिक गाई तथा भँैसीपालक किसान हुन । विगत तीन वर्षदेखि दुध उत्पादनका लागि पशुपालन फर्म सञ्चालन गरेका पुरीले गढवामा दुध सङ्कलन केन्द्र नहँुदा लमहीसम्म दुध बिक्रीका लागि जानु पर्ने बाध्यता थियो । तर अहिले गढवामै दुध बिक्री हुन थालेपछि सहज भएको बताउँछन् । टाढा दुध बिक्रीका लागि जानुपर्दा समयसँगै आर्थिक रूपमा बढी खर्च हुने गरेको भन्दै पुरीले अहिले त्यो समस्या हटेको बताउँछन् ।
‘राप्ती नदी दक्षिण क्षेत्रमा दुध सङ्कलन केन्द्र नहुँदा पहिले दुध बिक्रीका लागि किसानलाई समस्या थियो’, उनले भने, ‘तर अहिले त्यो समस्या हटेको छ । किसानले उत्पादन गरेको दुध बिक्रीका लागि कुनै समस्या छैन ।’ उनी जस्तै गढवा–६ मतपुर निवासी किसान हेमन्त रावतले पनि दुध सङ्कलन केन्द्र स्थापना भएपछि दुध बिक्री नहुने समस्या हटेको बताउँछन् । दुध सङ्कलन केन्द्र स्थापना भएपछि जति दुध उत्पादन गर्न सकेपनि बिक्री भइरहेको भन्दै रावत भन्छन्, ‘अहिले दुध बिक्रीका लागि कुनै समस्या छैन, उत्पादन गर्न सकेको दुध गढवामै बिक्री भइरहेको छ । यो किसानका लागि राम्रो हो ।’
उनीहरू प्रतिनिधिमूलक पात्र भए पनि गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना अन्तर्गत गाउँपलिकाको सहयोगमा गढवा सामाजिक महिला उद्यमी सहकारी संस्थाले गढवामा दुध सङ्कलन तथा बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि गढवा तथा राजपुरका धेरै किसानलाई सहज भएको छ । दुध सङ्कलन केन्द्रमा दैनिक चार सय बढी किसानले आठ सय बढी लिटर दुध बिक्री गर्दै आएको परियोजना संयोजक बसन्तराज शर्मा बताउँछन् ।
सङ्कलित दुध गढवा सामाजिक महिला उद्यमी सहकारी संस्थामार्फत् रुपन्देहीको तिलोत्तमास्थित विशिष्टीकृत सहकारी संस्थालाई बिक्री गर्ने गरिएको संयोजक शर्मा बताउँछन् । परियोजना संयोजक शर्माका अनुसार गढवा गाउँपालिकाका विभिन्न क्षेत्रमा एक हजार दुई सय किसानले तीन हजार छ सय ६५ वटा भैँसीपालन गर्दै आएका छन् ।
गढवा गाउँपालिकाका कृषि विकास अधिकृत कर्ताराम यादवका अनुसार सङ्कलन केन्द्रले दुधको गुणस्तर परीक्षण गरी सरकारद्वारा निर्धारित दर अनुसार मासिक रूपमा भुक्तानी गर्दै आएको छ । केन्द्र स्थापना हुनु अघि किसानले प्रतिलिटर करिब ६० रुपैयाँ मात्र पाउने गरेका थिए भने अहिले दुधको गुणस्तरका आधारमा प्रतिलिटर ८३ रुपैयाँदेखि एक सय २१ रुपैयाँसम्म मूल्य पाउन थालेका छन् । दुध सङ्कलन केन्द्र सञ्चालनमा आएपछि किसानले उत्पादनको सुनिश्चितता बजार पाउनुका साथै उचित मूल्यसमेत प्राप्त गर्न थालेका छन् ।