नेपाली सेनामा नाम निकाल्ने प्रशिक्षार्थीलाई सम्मान

गोरक्ष समाचारदाता
दाङ, २२ जेठ । द होप ट्रेनिङ सेन्टरले नेपाल सेनामा नाम निकाल्न सफल प्रशिक्षार्थीलाई सम्मान तथा बिदाई गरेको छ । घोराही उपमहानगरपालिका–१४ मा रहेको द होप ट्रेनिङ सेन्टरले बिहिबार कार्यक्रमको आयोजना गरी ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिएका १९ जनालाई सम्मान तथा बिदाई गरेको हो ।

सेन्टरको १४ औँ ब्याच अन्तर्गत प्रशिक्षण लिएका १९ जनाले नेपाली सेनामा नाम निकाल्न सफल भएका छन् । ट्रेनिङ सेन्टरका सञ्चालक गिररोदन महराको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यता एवम् नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सफल प्रशिक्षार्थीलाई अविर, टीका र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रियासनले राष्ट्र सेवाका लागि नेपाली सेनामा भर्ना हुन सफल युवाहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै सामाजिक सेवाको कार्यमा लाग्न आग्रह गरेका थिए ।

कार्यक्रममा प्रशिक्षार्थीले गीत तथा नृत्यसमेत प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण प्रबन्ध निर्देशक भ्युमान पुनले गरेका थिए ।