रणबहादुर खड्का
दाङको घोराहीस्थित कुनै चोकको चिया पसल होस् वा गाउँघरका चौतारीहरू, पाका पुस्ताको मुखबाट बारम्बार सुनिने एउटा भनाइ छ– “उहिले हाम्रो देश धेरै धनी थियो, हामीलाई कसैको भर पर्नुपर्दैनथ्यो।”
सुन्दा यो भनाइले हाम्रो छाती गर्वले ढक्क फुल्छ। विगतलाई हेर्ने हाम्रो दृष्टिकोण सधैँ यस्तै रुमानी र नोस्टाल्जिक रहिआएको छ। तर, अर्थशास्त्रको कसीमा राखेर हाम्रो सामाजिक र आर्थिक इतिहासको पाना पल्टाउने हो भने, के साँच्चै हाम्रो विगत त्यति धेरै सम्पन्न र वैभवशाली थियो त ? वा यो केवल एउटा मीठो भ्रम मात्र हो ? यथार्थको धरातलमा उभिएर हेर्दा, विगतमा नेपाल समग्रमा ‘धनी’ थियो भन्ने कुरा धेरै हदसम्म एउटा मिथक मात्र हो।
विशेषगरी काठमाडौँ उपत्यका बाहिरको भूगोल र जनजीवनलाई हेर्ने हो भने, हाम्रा पुर्खाहरूको जीवन असाध्यै कष्टकर र संघर्षपूर्ण थियो। दाङकै सन्दर्भ जोडौँ। वि.सं. २००७ सालभन्दा अगाडिको पश्चिम नेपालको आर्थिक इतिहासलाई केलाउने हो भने, पैसाको चलनचल्ती अत्यन्तै न्यून थियो। वस्तु विनिमय (Barter System) मै समाज चलेको थियो।
पहाडी जिल्लाहरू रुकुम, रोल्पा वा सल्यानबाट मानिसहरू दाङ झरेर यहाँका आदिवासी थारु समुदायसँग अन्नको साटासाट गर्थे। दाङ भ्यालीमा औलोको डर एकातिर थियो भने, अर्कोतिर हिउँदमा नुन र मट्टितेलको जोहो गर्न कोइलाबास नाकासम्म महिनौँ लगाएर पैदल हिँड्नुपर्ने बाध्यता थियो। यो कुनै ठूलो धनसम्पत्ति कमाउने यात्रा थिएन। त्यो त केवल ‘दुई छाक पेटभरि खान पाइन्छ कि’ र ‘जीवन चलाउन सकिन्छ कि’ भन्ने आधारभूत संघर्ष मात्र थियो।
हाम्रो समाज पूर्ण रूपमा गुजारामुखी कृषिमा निर्भर थियो। उब्जनी हुन्थ्यो, खाइन्थ्यो, सकिन्थ्यो। पुँजीको निर्माण वा बचत गर्ने अवस्था नै थिएन। सम्पत्ति वा पुँजीको केन्द्रीकरण हुनका लागि सहरहरू चाहिन्छन्। आजभन्दा करिब ६० वर्ष अगाडिको तथ्याङ्क हेर्ने हो भने, नेपालभरिमा १० हजारभन्दा बढी जनसंख्या भएका सहरहरू जम्मा पाँचवटा मात्र थिए। जहाँ सहर हुँदैन, जहाँ बजार र व्यापारको चक्र घुम्दैन, त्यहाँ सम्पत्तिको सिर्जना हुन सक्दैन।
हाम्रा हजुरबुवा र जिजुबुवाहरूले दिनरात माटोसँग पौठेजोरी खेल्दा पनि हातमा नगद वा पुँजी जम्मा नहुनुको कारण यही थियो। उहाँहरूको सम्पूर्ण ऊर्जा केवल बाँच्ने संघर्षमा अर्थात् ‘सर्भाइभल’ मा मात्र सीमित थियो। आज घोराही, तुलसीपुर वा भालुवाङ जस्ता बजारहरू जसरी गुल्जार छन् र यहाँ जसरी पुँजी चलायमान छ, त्यो हिजोको दिनमा कल्पना बाहिरको कुरा थियो। हाम्रो विगतको गरिबीलाई बुझ्न धेरै टाढा जानु पर्दैन, हाम्रा ऐतिहासिक भौतिक संरचनाहरूलाई हेरे पुग्छ।
विश्वको इतिहास पल्टाउने हो भने, समृद्ध साम्राज्यहरूले करोडौँ रुपैयाँ र सुनचाँदी खर्चिएर ताजमहल जस्ता विशाल संरचनाहरू बनाएका छन्। तर, हाम्रो देशको सन्दर्भमा काठमाडौँ उपत्यकालाई छाडेर बाहिर हेर्ने हो भने, दुई तलाको पक्की र कलात्मक मन्दिर वा भवन बनाउनु पनि एउटा ठूलो पहाड फुटाउनु सरह हुन्थ्यो। तपाईं आफैँ विचार गर्नुहोस्, आजभन्दा केही दशक अगाडिसम्म हाम्रा गाउँघरका देवीदेउताका थानहरू वा प्रख्यात मन्दिरहरू कस्ता थिए ?
प्रायः ती सामान्य ढुङ्गाको थुप्रो, खरको छाना वा सानो कुटीका रूपमा मात्र थिए। त्यहाँ न कुनै भव्य कलात्मकता थियो, न त सुनचाँदीको जलप। यसले के देखाउँछ भने, समाजसँग त्यस्ता ठूला संरचना खडा गर्ने अतिरिक्त पुँजी (Surplus Wealth) नै थिएन। त्यसो भए विगतमा नेपालमा अलिअलि भएको सम्पत्ति कहाँबाट आयो त ? यसको एउटै उत्तर हो– व्यापार। काठमाडौँले विगतमा जे जति वैभव कमायो, त्यो त्यहाँको माटोले उब्जाएको सुन नभएर तिब्बत र भारतबीचको व्यापारिक ट्रान्जिट हुँदाको फाइदा थियो।
सम्पत्तिको मुख्य स्रोत सधैँ व्यापार र व्यवसाय नै रहिआएको छ। आज दाङले पनि आफ्नो मुहार फेर्दैछ। हिजो स-साना किराना पसल र हाटबजारमा सीमित यहाँको अर्थतन्त्र आज ठूला थोक व्यापार, कृषि उद्योग, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता स्वास्थ्य सेवाका केन्द्र र आधुनिक शिक्षाका हबहरूसम्म बिस्तारित भएको छ।
पश्चिम नेपालकै प्रमुख व्यापारिक केन्द्रका रूपमा दाङको उदय हुनुले पनि के प्रमाणित गर्छ भने, पुँजीको निर्माण खेतको गरामा मात्र सीमित रहेर हुँदैन, यसका लागि बजार, उद्यमशीलता र व्यापारको विस्तार नै चाहिन्छ। हामीले आफ्नो इतिहासलाई सम्मान गर्नुपर्छ, आफ्ना पुर्खाले गरेको हाडतोड मिहिनेतप्रति नतमस्तक हुनुपर्छ। तर, ‘हामी पहिले धनी थियौँ, अहिले पो यस्तो भयो’ भन्ने हीनताग्रन्थि र भ्रमबाट अब मुक्त हुनु जरुरी छ।
हाम्रा पुर्खाहरू धनी थिएनन्, उनीहरू त केवल अभावै अभावकाबीच पनि बाँच्न कला जान्ने साहसी योद्धाहरू थिए। उनीहरूले अभावको जगमा टेकेर आजको पुस्ताका लागि एउटा बलियो आधार तयार गरिदिएका छन्। त्यसैले, अब हामीले एकादेशको ‘सुनको देश’ को काल्पनिक कथामा रमाउन छोडेर यथार्थको धरातलमा उभिनुपर्छ।
आज जसरी दाङ लगायतका क्षेत्रहरूमा पूर्वाधारको विकास भइरहेको छ, गाउँ-गाउँमा सडक पुगेको छ, र युवाहरूले परम्परागत कृषिलाई छाडेर आधुनिक व्यापार र सूचना प्रविधिको बाटो समातेका छन्, यो नै हाम्रो वास्तविक आर्थिक प्रगतिको पाइला हो। विगतको गरिबीलाई स्वीकार गरेर मात्रै हामीले भविष्यको समृद्धिको स्पष्ट मार्गचित्र कोर्न सक्छौँ। अबको हाम्रो लक्ष्य भनेको पुर्खाको त्यो गुजारामुखी अर्थतन्त्रलाई पूर्ण रूपमा विस्थापित गरी, उद्यम, व्यापार र उत्पादनमुखी आधुनिक अर्थतन्त्रको निर्माण गर्नु हो। यो नै साँचो अर्थमा समृद्धिको बाटो हो।
(लेखक रण बहादुर खड्का महेन्द्र बहुमुखी क्याम्पस दाङका मास्टर अफ बिजनेस स्टडिजका बिद्यार्थी हुन )