गढवामा एकीकृत घुम्ती शिविर सुरु

आलोक भावुक

गढवा, २१ जेठ । गढवा गाउँपालिकाले नागरिकलाई घरदैलोमै सहज, सरल र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले पालिकाबाट उपलब्ध सम्पूर्ण सेवा समेटिएको एकीकृत घुम्ती शिविर सञ्चालन सुरु गरेको छ । पालिकाबाट टाढाa रहेका वडा नं. १, २ र ८ का नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविर अन्तर्गत बुधवार वडा नं. १ को मलमलास्थित वडा कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालका अनुसार शिविरमा पञ्जीकरण तथा सामाजिक सुरक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, योजना शाखा, ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचयपत्रलगायतका सेवा प्रदान गरिएको हो । गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीका अनुसार सेवा पहुँचबाट टाढा रहेका नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । शिविरमार्फत् योजना शाखासम्बन्धी सेवा, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण, कृषि शाखाबाट माटो परीक्षण, स्वास्थ्य परीक्षण तथा पशुपन्छी तथा मत्स्य विकास शाखाबाट घरपालुवा जनावरका लागि औषधी वितरण गरिएको छ ।

स्वास्थ्य शाखा अन्तर्गत ६६ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले बताए । परीक्षणका क्रममा तीन जनामा उच्च रक्तचाप, चार जनामा मधुमेह र पाँच जनाको पिसाबमा एल्बुमिनको मात्रा बढी देखिएको छ । केहीमा मृगौलासम्बन्धी समस्या हुन सक्ने सम्भावना देखिएकाले थप परीक्षणका लागि स्वास्थ्य संस्थामा बोलाइएको चौधरीले बताए । कृषि विकास शाखाबाट छ जना सेवाग्राहीले सेवा लिएका छन् भने पशुपन्छी तथा मत्स्य विकास शाखाबाट ३४ जना सेवाग्राही लाभान्वित भएका छन् ।

शाखाका अधिकृत अनन्तराज रेग्मीका अनुसार बाख्राका लागि दुई सय २६, गाईका लागि आठ, भैँसीका लागि ३६, बङ्गुरका लागि १७, कुखुराका लागि एक सय ३९, भेँडाका लागि १० तथा कुकुरका लागि तीन वटा औषधी वितरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा अन्तर्गत तीन जना अपाङ्गता भएका व्यक्तिको परीक्षण गरिए

को, दुई जनालाई परिचयपत्र वितरण गरिएको तथा एक जनालाई प्रतिलिपिका लागि सहजीकरण गरिएको शाखा प्रमुख प्रेरणा चन्दले बताइन् । गाउँपालिकाले जेठ २० गते वडा नं. १ को मलमलामा शिविर सम्पन्न गरेको छ भने जेठ २१ गते वडा नं. २ र जेठ २२ गते वडा नं. ८ कोइलाबासमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको प्रशासन शाखा प्रमुख भरत केसीले बताए ।