भुवन पोख्रेल
नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठुलो प्रसिद्ध ताल रारा ताल हो । यो ताल समुन्द्र सतहदेखि २,९७२ मिटर उचाईमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट पश्चिमतर्फ करिब ३ घण्टाको पैदल यात्रा गरेपछि रारा ताल पुगिन्छ ।
१०८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालो अधिकक्तम लम्बाइ ५ किलोमिटर र अधिकतम चौडाइ ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ । प्रकृतिको उपहारको रुपमा सिर्जित रारालाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरुका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चराचुरुंगीहरुले समेत थप शोभा पु¥याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटरले फैलिएको छ ।
दिनभरिमा आफ्नो रुप फेरिरहने रारा ताल जेठदेखि आश्विन महिनासम्म विभिन्न फूलहरुले सजिएर स्वर्गकी अप्सरा जस्ती देखिन्छिन् । रारा तालको अर्को एक थप विशेषता के छ ने यस तालमा विश्वमा अन्यत्र नपाइने असला (हिमाली) माछा पाइन्छ । रारातालबाट करिब ३ घण्टा पैदल यात्रा पश्चात यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारातालको मनमोहक दृश्यका साथै सैपाल हिमालको श्रृङ्खलाको मनमोह दृश्य अवलोकन गर्न सकिन्छ । यस तामा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिन्छ ।
राजा मेहन्द्रले यस ताललाई स्वर्गकी अप्सराको सङ्ज्ञा दिँदै विसं २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरुमा रारादह भनेर चिनिँदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए । ग्रीष्म ऋतुमा राराताल निकै सुन्दर हुन्छ तर जाडो हुन्छ । सबैभन्दा भ्रमण गर्नका लागि उत्तम समय सेप्टेम्बर । अक्टोवरदेखि अप्रिल मे सम्म हो । डिसेम्बरदेखि मार्चसम्म तापमान पनि जम्ने प्वाइन्टभन्दा तल झर्छ ।
हिउँदमा भने १ मिटरसम्मको हिउ पर्ने गरेको छ । रारातालबाट बगेको खोला अत्याङ हो । मुगुको गर्मीमा लुकेको स्वर्ग भनेर चिनिने सुन्दर ताल हेर्ने धेरै नेपालीको सपना हुन्छ । नेपाल सानो देश भए पनि हिमाल, पहाड, तराई, अद्रभूत हावापानी भएकै संसारकै प्राकृतिक सुन्दरताले भरिपूर्ण स्वर्ग झै लाग्ने देश हो भन्दा फरक पर्दैन । तराईमा ४० डिग्री भन्दा बढी गर्मीले पसिना खलखलती बगिराखेको बेला यो जेठको महिनामा मुगुमा हिउ परिराखेको दृश्यले आश्चर्य चकित परियो ।
राराताल नेपालको निलो स्वर्ग हो । राराताल नेपालको एक प्राकृतिक गहना हो । यो ताल रारा राष्ट्रिय निकुञ्जको घना सल्लाको जंगलले घेरिएको छ । तालको वरिपरि देखिने हिमालको दृश्य र हरियाली जंगलले यहाँको प्राकृतिक सुन्दरतालाई अझ मनमोहक बनाएको छ । मौसम अनुसार दिनमा रङ फेरिरहने यस तालको विशेषताले पर्यटकलाई मन्त्रमुग्ध पार्दछ । धर्तीको अप्सराको रुपमा चिनिने रारातालले पर्यटकहरुलाई आकर्षित गर्दछ ।
जहाँ ट्रेकिङ, बोटिङ र प्राकृतिक सौन्दर्यको आनन्द लिन सकिन्छ । राराताललाई विश्वमा चिनाउनका लागि एउटा राम्रो उदाहरण हो । यसको सुन्दरता र शान्त वातावरण धेरै अन्तर्राष्ट्रिय प्रकृति पर्यटन वेवसाइटहरु, टेकिङगाइडहरु र सामाजिक सञ्जालमा यसको तस्वीर अनुभवहरु साथै विभिन्न वृतचित्रहरु, ब्लगहरु र यात्रा गाइडहरुले पनि रारातालको बारेमा चर्चा गरेर विश्वभर यसको नाम र ब्रान्ड निर्माण गर्न मद्दत गरेका छन् । रारातालको शान्त वातावरण, प्रकृतिसँगको सानिध्यले मानिसलाई मनको शान्ति, आराम र एकदमै अनौठो अनुभव दिन्छ ।
राराताल वास्तवमै अनौठो प्राकृतिक गन्तव्य हो, किनिक यो एक्लै यस्तो ताल हो जसमा नेपाली हिमालको सुन्दरता, शान्ति र जैविक विविधता एकै ठाउँमा पाइन्छ । यसको उच्च स्थान, शुद्ध निलो पानी, वन्यजिवजन्तुले गर्दा यसले एकदमै फरक अनुभव दिन्छ । आधुनिक जीवनको कोलाहलबाट टाढा हटेर बाच्न यो गन्तव्य अत्यन्त उपयुक्त छ । सुर्खेतदेखि रारासम्मको यात्रा गर्दा हामी कालिकोटतर्फ जान्छौँ जहाँ बाटो पहाडी र जंगलबाट गुज्रिन्छ र सिन्जा भ्याली पनि निकै महत्वपूर्ण छ यो स्थान नेपाली भाषाको उद्गम स्थान हो ।
रारा जाने बाटोमा नदी घाटी, हरियाली जंगल, हिमाली दृश्यहरु सबैसँगै पाइन्छन् । जसले यात्रालाई साच्चै अविस्मरणीय बनाउँछ । कालिकोटमा पाचल झरना जो नेपालको सबैभन्दा अग्लो झरना हो । बडिमालिका मन्दिर जस्ता ठाउँ छन् । जुम्लामा चन्दन्नाथ मन्दिर स्याउ बगैँचा र रातो चामल (मार्सी) का खेतहरु लोकप्रिय छन् । सुर्खेतदेखि रारासम्मको यात्रा लगभग २ दिन लाग्दछ । जहाँ करिब १५० किलोमिटर पहाडी बाटो हो । बाटो साँघुरो, ढुङ्गे र खतरनाक हुन्छ विशेष गरी मनसुनमा । यात्रा कुल १२ देखि १४ घण्टा ड्राइभमा सकिन्छ ।
नेपालको सुन्दर पर्यटकीय स्थल सुदुरपश्चिम कर्णालीका जिल्लाहरु जुन विकट छन् । पर्यटन प्रवद्र्धन गर्नका लागि बहुआयामिक नीतिहरु बनाउनु पर्छ । पहिलो यातायात सुधारेर सजिलो पहुँच सुनिश्चित गर्नुपर्छ । दोस्रो स्थानीय संस्कृति, इतिहास, प्राकृतिक सौन्दर्यको डिजिटल प्रचार, सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मेलाहरुमा प्रवद्र्धन गर्नुपर्छ । तेस्रो स्थानीय जनतालाई होमस्टे सिप विकास र रोजगारीका अवसर प्रदम गरेर उनीहरुलाई पर्यटनमा सहभागी गराउन सक्नुपर्छ ।
सुदुर अब दुरनही भन्ने बालेन सरकारले रारा, मुगु र कर्णालीका अन्य विकट जिल्लाहरुमा पर्यटन विकासका लागि केही मुख्य नीतिगत कदमहरु चाल्नुपर्दछ । सरकारले आधारभूत पूर्वाधारमा लगानी जस्तै ः सडक, हवाइसेवा र सञ्चार पहुँच वृद्धि गर्ने र युवा उद्यमशीलता र सिप विकास कार्यक्रम जसले स्थानीय युवाहरुलाई पर्यटनमा संलग्न गराउँछ ।
विशेष प्यकिजहरु, जस्तै सांस्कृतिक अनुभव, ट्रेकिङ र प्राकृतिक गाइड कार्यक्रमहरु जसले पर्यटकहरुलाई आकर्षित गर्दछ । साथै अन्तर्राष्ट्रिय साझेदारी प्रवद्र्धन कार्यक्रम, स्थानीय समुदायको सहभागीता सुनिश्चित गरेर दीर्घकालीन र दिगा.े पर्यटन विकास सम्भव हुन्छ । नयाँ बनेको सरकारले कर्णाली मुगु, जुम्ला जस्ता विकट क्षेत्रमा बस्नेहरुको जीवनस्तर सुधार्न र गुणस्तरीय जीवन वृद्धि गर्नका लागि केही मुख्य कार्यक्रम र नीति बनाउनुपर्छ ।
पहिलो आधारभूत स्वास्थ्य सेवा, शिक्षा, खानेपानीको पहुँच बढाउन बजेट सुनिश्चित गर्नुपर्छ । दोस्रो कृषि, स्थानीय उत्पादन र हस्तकलालाई प्रवद्र्धन गर्ने कार्यक्रम जसले रोजगारी सिर्जना गर्दछ, तेस्रो पर्यटन होमस्टे र स्थानीय व्यवसायलाई प्रोत्साहन गर्ने नीतिहरु । बजेटमा दीर्घकालीन पूर्वाधार, सिप, विकास र सामाजिक सुरक्षा जस्ता क्षेत्रमा प्राथमिकता दिनुपर्छ ताकि यी समुदायहरु दिगो रुपमा अघि बढी गुणस्तरीय जीवन जिउन सकून् ।
कर्णाली प्रदेशको पहिलो समस्या भनेको यातायातको अभाव र साँघुरो बाटो हुन् । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सुविधाको कमी पनि कर्णालीका समस्या हुन् । सरकारले पर्यटनका लागि विशेष प्याकेज, डिजिटल मार्केटिङ र स्थानीय समुदायको सहभागीता सुनिश्चित गरेर दिगो र समावेशी पर्यटन प्रवद्र्धन र विकास गर्न सकिन्छ । जसले कर्णालीको सुन्दरता, सांस्कृतिक धरोहर र स्थानीय जनजीवनलाई उजागर गर्छ ।
कर्णाली क्षेत्र विशेषगरी मुगु, जुम्ला र रारा जस्ता ठाउँहरु नेपालको सुदुरपश्चिमका विकट र समृद्ध भाग हुन् तर यहाँका समस्याका कारण यी क्षेत्रहरुको पर्यटन सम्भावना अझै राम्रोसँग विकास हुन सकेको छैन । मुख्य समस्या भनेको यातायातको अभाव हो, बाटोहरु साँघुरा, खतरनाक र वर्षामा अस्थिर हुन्छन् । आधारभूत सेवा सुविधाको कमी छ । जस्तैः शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीका अवसरहरु सीमित छन् । साथै स्थानीय युवाहरुका लागि सिप विकासको कमी र पारम्परिक रोजगारीमा मात्र निर्भरता पनि प्रमुख चुनौती हो ।
नेपालको कुल पर्यटन विकास बजेटमा संस्कृति, पर्यटन र नागरिक उडड्यन मन्त्रालयलाई करिब १३ अर्ब २८ करोड रुपैयाँ छुट्याइएको छ तर यसमा विशेषगरी कर्णालीको पर्यटन बजेट अलग गरी उल्लेख गरिएको छैन । यसैले कर्णाली क्षेत्रको रारा, मुगु, कालिकोट जस्ता स्थानहरुका लागि अझै बजेट थप आवश्यक हुनसक्छ । किनकि हालको बजेटले मात्र यी सबै क्षेत्रहरुका पर्यटनलाई पूर्णरुपमा प्रवर्धन गर्न प्रयाप्त नहुनसक्छ ।
सरकारले कर्णाली र सुदुरपश्चिमका जिल्लाहरुलाई बढी उपेक्षा ग¥यो । किनकि यी क्षेत्रहरु भौगोलिक रुपमा विकट छन् । पहुँच र पूर्वाधारको अभाव छ र पहिले पनि यी क्षेत्रको विकासमा अन्य क्षेत्रको तुलनामा कम जोड दिइएको थियो । यी क्षेत्रलाई विकास गर्न सरकारले पहिलो यातायात, शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरुमा विशेष लगानी गर्नुपर्छ । साथै दीर्घकालीन बजेट, समावेशी योजना र स्थानीय सहभागीतालाई प्राथमिकता दिएर यी क्षेत्रहरुलाई दिगो, गुणस्तरीय र दु्रत विकासको मार्गमा लैजानुपर्छ । खाली प्राकृतिक सुन्दरताको उपमा दिँदै रारालाई मनमोहक तुल्याएर हुँदैन । यसको विकास, प्रवद्र्धनका लागि भौतिक पूर्वाधारमा पनि प्रशस्त लगानी बढाउनुपर्छ ।
तराईको प्रचण्ड गर्मीले आहत भएको शरीर शीतलता खोजीमा कर्णाली नदीको तिरैतिर अगाडि बढ्दै गर्दा सिन्जाको काखमा पुग्दा जुम्लाबाट झरेका हिमा र तिला नदी नाग्मगाढमा मिसिएर सुसेली हाल्दाको मनोरम दृश्य आँखामा मात्र होइन हृदयमा कैद गरिएका छन् । यही दोभानबाट कालिकोटको सदरमुकाम मान्म र पिली हुँदै नाग्मगाढ पुगिन्छ । तिला र हिमा नदीहरु मिसिएको यो ठाउँबाट हिना नदीको किनारै किनारको राजमार्गलाई नछाडि सिजा उपत्यकातिर उकालो लाग्नुपर्छ ।
सिजाका वरिपरिका रमणीय बस्ती, खेतहरुलाई हिमा नदीले अभिसिञ्चन गरी जीवनदान दिएकी रहिछन् । बाइसे खसराज्यको मार्सी धान उत्पादनको मूल थलो सिजा उपत्यकाभित्र थुप्रै गाउँ रहेछन् । तराईको गर्मीले उकुसमुकुस हुँदै बाँफिँदै उकालिएको हाम्रो जिउ रारामा आइपुग्दा पुरै चिसिएको थियो । हामी दाङदेखि यात्रा सुरु गरेका थियौँ । दाङ, बाँके नेपालगञ्जको भन्दा कयौ गुण चिसो ठाउँमा पुगेकाले तातो ज्याकेट र आगोको सहारा लिइरहेका थियौँ ।
आगो र ज्याकेटको कृत्रिक न्यानो वा तातोपनलाई राराको प्राकृतिक चिसोले जितिसकेको थियो । यात्राको थकानले लखतरान परेको शरीर बिहानको सूर्योदय हुन नपाउँदै राराको सौन्दर्यपान गर्ने खुसीले मन फुरुङ भएको थियो । बिहान उठेर हाम्रो टिम आफ्नो सपनाको गन्तव्य राराको आगनीमा पुगेर एकटकले सारा रारा धर्तीको अप्सरालाई आफ्नो आँखाको नानीभित्र अटाउन खोज्यौँ । बिहानीको मिरमिरे उज्यालोसँगै हामी रारातालमा डुंगा चढेर सयर गर्न, राराको पानीलाई छुन, रारालाई अंगालोभरी समेट्न मन थियो तर यसका छालसँग आफू पनि समाहित भइने पो होकि भन्ने रोमाञ्चकारी अनौठो दृश्य मनभित्र अटेसमटेस हुन पुग्यो ।
किनारमा छचल्किदै आउने रारातालका बेताल लहरहरु कतै बैंसको उन्मातसँगंै हामीसँग पिरती गास्न हतारिएका त होइन भन्दै हामी रोमाञ्चक बन्यौँ । राराको सौन्दर्य हेर्न आउने जति सारा पर्यटकहरुको दिल चोर्ने जादुमयी राराको मादकतामा नलट्ठिने कोही महापुरुष पनि फेला पार्न सकिएको छैन । राराको छेउमा पुग्दा जस्तोसुकै क्रुर शासक, तानाशा र निरकुंश पनि कवि वा साहित्यकार बन्दो रहेछ ।
त्यो भावुकता मैले पाएँ । राजा मेहन्द्रले त्यतिकै ‘रारा कि अप्सरा’ कविता लेखेका रहेनछन् । रारामा त शासकलाई समेत एकै नजरमा साहित्यकार र कजि बनाइदिन सक्ने जाइ रहेछ । मलाई पनि रारा भ्रमण गरेर फर्केपछि आफूले अनुभव गरेका भावहरु पोख्न मन लाग्यो र कलमको सहारामा पुगे । राराको सुन्दरता यस्तो जादुमयी रहेछ जसलाई जति हेरे नि नअघाइँदो रहेछ र अझै भोक जाँगिरो रहेछ मनमोहक दृश्य पान गर्ने ।
राराका प्राकृतिक सुन्दरताका छालहरु सुन्दर कविताका पंक्ति झै रसस्वादन भइरहे । भौतिक सम्पत्ति, सुख र वैभवका पछाडि कुद्दा कुद्दै कृत्रिमताको फोहोर मैलोले कटकटिएको मानव मनलाई धोइपखालिदिएर प्राकृतिक मानव बनाउने जादुमयी तागत यी रारामा नै रहेछ भन्दै मन फुरुङ भयो ।
राराकै किनारमा बसेर गाढा हरियो राराकै छालहरु छचल्किदै हामीसँग जिस्किन आइपुग्दा राराको न्यानो मायाले जीउ नै सिरिङ र रोमाञ्जक परेको अनुभूति भयो । राराको वरिपरि करिब पाँच किलोमिटर हिडेर हामीले राराको परिक्रममा ग¥यौँ । आकाशमा देखिने बादलका छायाँहरु, हरिया पहाड, सिस्ने र सैपाल हिमालहरु पनि तछाडमछाड गर्दै राराका लहरहरुमा हाम फाल्दै आनन्द लुटिरहेको दृश्य देखियो ।
रारा क्षेत्रमा पैताला टेक्दा आफूभित्र नेपाली हुनको गौरव राराको चौडाइ र लम्बाइभन्दा दोब्बर फराकिलो बन्न पुग्यो । राराबाट करिब दुई घण्टा हिडेपछि मुर्माटप जहाँबाछ अथीकान्जिरोवा र सिस्ने जस्ता हिमाल हेर्न पाइने रहेछ तर त्यहाँ पुग्न हामी सकिएन । रारालाई हेर्ने र अघाउने धोको अपुरो राखी फेरि आउने र अघाउन्जेल हेर्ने वाचाका साथ हामी आफ्नो घरतर्फ फर्कियौँ ।
राराको प्राकृतिक सुन्दरताको वर्णन कुनै साहित्यकार, कवि, गजलकार, गीतकारले अघान्जेल गर्न सकेका छैनन् भने म सामान्य यात्रीले कसरी पूर्णता दिन सकुला र तर पनि प्रकृतिको अनुपम बरदान कर्णाली प्रदेशका रारा, कालिकोट, जुम्लाई राज्यले आँखा चिम्लनु हुँदैन । यी ठाउँले नेपाललाई विश्वमै चिनाउँछन् ।