गुरुप्रसाद शर्मा रेग्मी
सतगौवा थारु समाज संघले प्रकाशन गरेको थारु सांस्कृतिक दर्पण पुस्तक देउखुरी आएको बेला हेर्ने, पढ्ने अवसर पाएको थिए । पुस्तक आदि अन्य पढेपछि अत्यन्त खुसी किन लाग्यो भने यो पुस्तकका लेखकहरु प्रायजसो महेन्द्र क्याम्पस भरतपुर दाङका विद्यार्थी र आफू प्राध्यापक भएर हो जस्तो लाग्यो ।
यो पुस्तक शुभकामना विषयवस्तु १८ पृष्ठ र लेखहरु ५०७ पृष्ठ पहिचान र फोटोहरु १५ पृष्ठ गरी ५०४ मा रहेको यो पुस्तक ज्यादै आकर्षक ान वर्धक भएकाले पठनीय संग्रहलीय किन हुन गएको छ भने अहिलेसम्मका थारु समुदायका प्रकाशित पुस्तकहरुमा थारु जातिहरुको संस्कार संस्कृतिको सम्बन्धमा ऐतिहासिक दस्तावेज जस्तो सामान्य कुरादेखि ठुला कुरा उल्लेख नभएको जस्तो लाग्दछ ।
यो पुस्तकले पाठकहरुलाई के कुराको जानकारी गराइदिने रहेछ भने नेपालका सबै जातजातिहरुले घरपूजा, सामुहिक पूजा, कूलपूजा र देवीदेवताको पूजामा शिव गणेश विष्णुदेवीहरुको पूजा गर्ने गरेको देखिन्छ तर यिनीहरुले गर्ने पूजा देवीदेवताको नाममा भने धेरै भिन्नता देखिन्छ । यसो हुनुको कारण के हो भने त्यतिबेला शिक्षाको भाव भएकाले मानिसले आफ्ना सन्तानको नाम राख्दा वार, समय, परिस्थिति, घटनाको अवसरबाट नाम राख्ने गरेको देखिन्थ्यो ।
त्यसैगरी देवीदेवताहरुको नाम पूजा विधि पनि अकाट अलग जातिमा अलग–अलग हुन गएको कुरा नकार्न सकिँदैन । अरु जातिहरुको जस्तै थारु संस्कृतिले पनि गणेशलाई गुरुबाबा, शिवलई–अखरिया विष्णुलाई रामकृष्ण, खेखरी पार्वती, मैया लक्ष्मी, हनुमान गदाधारी आदि विभिन्न नामले सबै देवताको पूजा अर्चना गरेको स्पष्ट देख्न सकिन्छ ।
थारु जातिले भूतको पूजा गर्दछन् भन्ने जो गलत चिन्तनदेखि छ । त्यो भ्रम हो । यो जातिले पनि सबै देवीदेवताको आस्था र निष्ठाका साथ आफ्ना तरिकाले पूजा गर्दछन् । दाङ र देउखुरीको थारु जातिको भेषभुषा भाषा देवीदेवताको पूजा विधि र फरक पर्दछ । यो कुरा स्थान, बास स्थानका मानिसको प्रचलन संगतको असर पनि भएकाले यस्तो सबै जातिहरुको अवस्था पनि हुन्छ ।
यो पुस्तकमा कूल देवता थारु जातिले अरिया बाबा(शिव) लाई मान्ने कुरा उल्लेख छ । यस सम्बन्धमा विभिन्न पुराण र महात्यको संकलन गरेर प्रकाशन गरेको हिमवत खण्ड भन्ने पुस्तकमा थारु जातिको कुल पुरुष शिवका छोरा स्वामी कार्तिक भएको कुरा उल्लेख छ ।
त्यसमा अर्को एउटा के कुरा पनि उल्लेख गरेको छ भने देवीदेवताको पूजा गर्दा सबैभन्दा पहिला गणेशको पूजा हुने आर्शिवाद शिवबाट पाएको खबरले दुःखी भएर रुकुमको खोलको किनारमा रहेको ओडारमा बसेर तपस्या गर्दा गर्दै सन्तान जन्मेका थारु नै हुन् भन्ने उल्लेख छ । यो पुस्त्क हेर्न सकिन्छ । यो ऐतिहासिक दस्तावेजको रुपमा रहेको पुस्तकमा गीतहरु प्रसङ्गहरु परिदृश्यले धेरै कुरा त देखाइदिएको छ तर देवताहरुको रुपमा प्रयोग गरिएका झाला, तरवार, खुँडा, घोडा, हात्ति, लाठी जस्ता कुराहरुको पूजा गर्नुको पछाडी के रहस्य छ ।
त्यो भने कहीँ कतै उल्लेख छैन । यस सम्बन्धमा धार्मिक पुस्तक, महाभारतकै आधारमा केही वर्ष अगाडि मैले एउटा लेख लेखेको थिए । यस सम्बन्धमा देवनारायण चौधरीसँग संवाद भएको थियो । मेरो लेखमा उहाँ सन्तुष्ठ हुनुभएको थियो ।
जानकारीको लागि सतगौवा समाजलाई उल्लेख गर्न चाहन्छु । राजाबाट शोषित र पीडित भएका थारुको मुखियासँग भीमको भेट भएछ । उनले आफ्नो सबै पीडा भीमलाई भनेछन् । भीम गएर राजालाई मारेर त्यो राज्य तीनै मुखियालाई भीमले दिएका रहेछन् । त्यसैले कौख पाण्डवको युद्धमा साथ दिन पाण्डवको सामु थारु सेना पनि आएछ । त्यहाँ धेरै थारु सेना मारिएका रहेछन् । युद्ध समाप्ती पछि राजालाई चिन्तित देखेर कृष्णले भनेका रहेछन् ।
हेर ती सबै मृत सैनिकहरुले सत्यको लागि लडेर वीर गति पाएका छन् । त्यसकारण चिन्ता नगर, तीर वीर योद्धाहरुले प्रयोग गरेका घोडा हाती भाला वर्छा खुँडा लाठी बनाएर घरपूजा र सामुहिक पूजा गर्ने स्थानमा राखेर देवीदेवताको पूजा गर्दा पितृहरु खुसी भएको देखेर देवताहरु पनि खुसी हुनेछन् र परिवारको कल्याण हुनेछ भनेकाले तीनको पूजा पितृहरुको स्मृतिमा गरिएको हो ।
यही भएर थारु संस्कृतिले कृष्ण र भीमको पूजामा बढी अभिरुचि देखाएको देखिन्छ । हुनत सबै देवीदेवताको विभिन्न रुपमा पूजा गरे पनि कृष्ण र भीमको पूजा विशेष रुपमा गर्ने गरिन्छ । यो थारु सांस्कृतिक दर्पण सबैं दृष्टिले राम्रो भएको छ तर पनि केही कुरामा पाठकहरुलाई खाना खाने बेला ढुंगा लाग्यो भने त्यसको मिठोपनालाई बिसाइदिए झैँ यो पुस्तकका केही कुरा टुंगो लागे जस्तो हुन गएकाले त्यही कुरा उल्लेख गर्ने जमर्को गरेको छु ।
यो पुस्तकको नाम थारु सांस्कृतिक दर्पण भनेर उल्लेख गरिएको छ तर पुस्तकको समस्त विषयवस्तु भने सतगौवा थारु समाज देउखुरीको संस्कार र संस्कृति देखाइएको छ । यसलाई सतगौवा थारु समाजको संस्कृतिक दर्पण भन्न सकिन्छ । देउखुरीका पनि सबै थारु समाजको संस्कृति नदेखिने भएकाले थारु सांस्कृतिक दर्पण भन्न उपयुक्त हुन्छ जस्तो लाग्दैन ।
थारु सांस्कृतिक दर्पण भनेर पुस्तकको नाम राखिएको छ तर पुस्तक समर्पणले गर्दा परशुनारायण चौधरीको स्मृतिमा भनेर भनिएको छ । सतगांैवा जाति देउखुरीको ऐतिहासिक प्रतिष्ठित व्यक्तित्व भएकाले परशुनारायण स्मृति ग्रन्थथ नाम राखेको भए बढी सान्दर्भिक हुने थियो ।
सामुदायिक पुस्तक प्रकाशन गर्दा लेखक पनि दोहरिन हुँदैन रचनाको विषयवस्तु पनि दोहरिनु हुँदैन भन्ने मान्यता हुन्छ । यहाँ यो मान्यताको अवज्ञा गरिएको छ । एउटै लेखकको नाम ७÷८ पटक अलग विषयको लेखमा देखिन्छ । खड्गबहादुर चौधरी, कुनारायण चौधरीले विशेष स्थान पाएको जस्तो देखिन्छ ।
थारु सांस्कृतिक दर्पण भएकाले दाङका थारुको पनि लेख समावेश गर्न सकिएको देखिँदैन । महेश चौधरीको शुभकामना र अशोक चौधरीको नाम मात्र उल्लेख भएको पाइन्छ । दाङको थारु संस्कृतिको पहिचान हुने केही देखिँदैन । जे भए पनि पुस्त्क संग्रहणीय छ पठनीय छ समय–समयमा गाउने गीतहरुमा रामायण महाभारतका संवादहरु शिव पार्वतीका संवादहरुमा उल्लेख भएका कुराहरुले यो जाति पनि सनातनी धर्मावलम्बी जाति नै हो र आफ्नो सांस्कृतिक मूल्य मान्यतामा यो जाति अगाडि नै भएको देखिन्छ ।
पाठकहलाई पाच्य हुन नसकेको के कुरा छ भने, सतगौवा थारु समाजको ऐतिहासिक व्यक्तित्व परशुनारायण चौधरी भनिएको छ तर यो थारु संस्कृति दर्पणमा परशुनारायण चौधरीको सम्बन्धधमा कसैले एक शब्द पनि उल्लेख गरिएको छैन । त्यसैले यो पुस्तक नाम र विषयवस्तुको बिचको अन्तर सम्बन्ध स्थापित हुन नसकेको जस्तो लाग्छ ।
सतगौवा थारु समाजको संस्कृतिक दर्पण भनेको भए उचित हुने थियो । सबैको लागि पाच्य हुने थियो । यो पुस्तकबारे जे भने पनि पठनीय संग्रहणीय छ । त्यसकारण यसको दोस्रो संस्करण प्रकाशन गर्दा यसलाई अझ परिस्कृत र परिमार्जित गरेर एउटा अमूल्य दस्तावेज बनाउने कार्यमा सफलता मिलोस् यही शुभ भाव राख्दै कलमलाई विश्राम दिन्छु