खेलले समाज र राष्ट्रलाई एकतामा जोडने काम गर्छ : महामन्त्री गुरुराज घिमिरे

दाङ, २० जेठ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले खेलकुद समाजलाई एकताबद्ध बनाउने सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका–४ वडा कार्यसमितिको आयोजनामा बुधवारदेखि सुरु भएको दोस्रो खेतुलाल नेपाली स्मृति कप क्रिकेट प्रतियोगिता–२०८३ को उद्घाटन गर्दै महामन्त्री घिमिरेले खेलकुद केवल मनोरञ्जनको माध्यम नभई समाज, राष्ट्र र विश्वलाई जोड्ने सशक्त माध्यम भएको बताउनुभएको थियो । स्वस्थ, सभ्य र समृद्ध समाज निर्माणका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेको भन्दै उहाँले खेलमा जात, धर्म, भाषा, क्षेत्र वा राजनीतिक आस्थाको कुनै विभाजन नहुने बताउनुभएको थियो ।

खेलले सबैलाई एउटै सूत्रमा बाँध्ने काम गर्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि महामन्त्री घिमिरेले खेलकुदले अनुशासन, नेतृत्व क्षमता, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्ने भएकाले युवापुस्तालाई खेलतर्फ आकर्षित गर्न आवश्यक रहेको बताउनुभएको थियो । महामन्त्री घिमिरेले ग्रामीण क्षेत्रबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन हुन सक्ने बताउँदै बंगलाचुलीमा क्रिकेटप्रति देखिएको उत्साह सकारात्मक रहेको बताउनुभएको थियो ।

खेलाडीले भविष्यमा प्रदेश तथा राष्ट्रिय टोलीमा स्थान बनाएको हेर्न चाहेको उल्लेख गर्दै त्यसका लागि नेपाली कांग्रेसले आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेका भन्दै उहाँले खेल पूर्वाधारको विकास, प्रतिभाको पहिचान तथा खेलाडीको प्रोत्साहनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको धारणा राख्नुभएको थियो । नेपाली कांग्रेस बंगलाचुली–४ का वडा सभापति शिवराज परियारको सभापतित्वमा भएको कार्यक्रममा बिशिष्ट अतिथि नेपाली कांग्रेस दाङका जिल्ला सभापति शंकरप्रसाद डाँगीले खेलकुद क्षेत्रको विकासका माध्यमबाट युवाहरुलाई कांग्रेसमा जोड्न सकिने बताउनुभएको थियो ।

नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका उपसभापति इन्द्रमणि वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव चेतप्रसाद डाँगीले गर्नुभएको थियो । प्रतियोगिताको विजेताले नगद २० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा बंगलाचुली क्षेत्रका ८ वटा टोली सहभागी रहेको प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा स्युजा क्रिकेट टिम, जुम्लेपानी क्रिकेट टिम, काभ्रे श्रीवारी क्रिकेट टिम र बचेनी क्रिकेट टिम रहेका छन्।

यस्तै समूह ‘बी’ मा बंगलाचुली क्रिकेट क्लब, श्रीवारी क्रिकेट टिम, छिप्पन क्रिकेट टिम र रोयल मुर्कुटी सहभागी छन् । प्रतियोगिताअन्तर्गत पहिलो खेलमा स्युजा क्रिकेट टिमले बचेनी क्रिकेट क्लबलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । दोस्रो खेलमा बंगलाचुली क्रिकेट क्लब (पुरुङ) ले रोयल मुर्कुटी माथि जित हात पारेको छ । तेस्रो खेलमा काभ्रे श्रीवारी क्रिकेट टिमले जुम्लेपानी क्रिकेट टिमलाई पराजित गर्दै प्रतियोगितामा बिजयी सुरुवात गरेको छ ।