सहकारी समान आर्थिक, सामाजिक तथा सांस्कृतिक उद्देश्य भएका व्यक्तिहरू स्वेच्छाले सङ्गठित भई प्रजातान्त्रिक ढङ्गले सञ्चालन गर्ने व्यावसायिक संस्थालाई बुझाउँछ । यो ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तमा आधारित हुन्छ । आर्थिक पहुँच र बचत छरिएर रहेको स–सानो पुँजीलाई एकीकृत गरी सदस्यहरूलाई सहजरूपमा ऋण तथा बचतको सुविधा प्रदान गर्दै आत्मनिर्भरता र रोजगार सदस्यहरूको सिप तथा क्षमता अभिवृद्धि गर्दै स्वरोजगारका अवसर सिर्जना समेत गर्ने गर्छ ।
पछिल्लो समयमा सहकारीमा बचत जम्मादेखि सहकारीप्रति धेरै व्यक्तिहरुको नकारात्मक बुझाई हुने गरेको छ । देशभर हाल हजारौँको सङ्ख्यामा बचत तथा ऋण, कृषि, दुग्ध र उपभोक्ता सहकारीहरू सक्रिय रूपमा सञ्चालनमा छन् । केही सहकारी सङ्कटग्रस्त समेत घोषणा गरिएको छ । हजारौँ सहकारीमा बचत गरेका बचतकर्ताहरुले अहिले देशका विभिन्न स्थानमा आफ्नो रकम फिर्ता नपाएको भन्दै आवाज समेत उठाउन थालेका छन् ।
दाङ जिल्लामा पनि विभिन्न सहकारी रहेका छन् । यसै सन्दर्भको सहकारी के हो, सहकारी संस्थाहरुको चुनौती के–के छन् तथा यसका अवसर लगायतका विषयमा जिल्ला सहकारी संघ लिमिटेड दाङका अध्यक्ष हेमराज गौतमसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुराकानी ।
स्वागत छ तपाईलाई सातावार्तामा ?
धन्यवाद, तपाई तथा तपाईको मिडियालाई मेरा केही सहकारी सम्बन्धी कुरा राख्न दिएकोमा ।
सहकारी के हो र यसका सहकारीको उद्देश्य के हो ?
सहकारी भन्नाले समान आर्थिक, सामाजिक तथा सांस्कृतिक उद्देश्य भएका व्यक्तिहरू स्वेच्छाले सङ्गठित भई प्रजातान्त्रिक ढङ्गले सञ्चालन गर्ने व्यावसायिक संस्थालाई बुझाउँछ । यो ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तमा आधारित हुन्छ । सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सीमाभित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसले आपसी हितका निम्ति आर्थिक कारोबार गर्न स्थापित गरिएको संस्था हो ।
साझा उद्देश्य लिएर एउटै भौगोलिक क्षेत्र भित्रका व्यक्तिहरूले आ–आफ्नो आर्थिक उन्नतिका लागि दुई वा दुईभन्दा बढी व्यक्तिहरू मिली आ–आफ्नो आयको केही अंश नियमित रूपमा जम्मा गरी आयमूलक कार्य सञ्चालन गर्न ऋण प्रदान गरेर समूह वा संस्थालाई निरन्तरता प्रदान गर्नु नै सहकारी हो ।
सहकारीलाई औद्योगीकरणको उपज मान्न पनि सकिन्छ । अर्को कुरा सहकारी संस्था भन्नाले किसान, मजदुर वा साना पूँजी भएका व्यवसायी वा उपभोक्ताहरूले साझा रूपमा मिलेर सबैको निम्ति उपभोग्य वस्तुको उत्पादन वा वितरण आदिको प्रबन्ध गर्ने र पूँजी श्रम र रोजगार तथा श्रमअनुसार मुनाफा बाँडिने एक संस्था पनि भन्न सकिन्छ ।
सहकारीको मूलभूत उद्देश्य उनीहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो । सामुहिक रूपमा सङ्गठित भएर सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गरी आपसमा मितव्ययिता, स्वावलम्बन र पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु पनि सहकारीको उद्देश्य रहेको छ । सहकारीको उद्देश्य विभिन्न छन् ।
सहकारीका फाइदा के–के छन् ?
मैले पहिले पनि भने सहकारी र सहकारीका फाइदा धेरै छन् । छरिएर रहेको स–सानो पुँजीलाई एकीकृत गरी सदस्यहरूलाई सहज रूपमा ऋण तथा बचतको सुविधा प्रदान गर्नु, त्यस्तै आत्मनिर्भरता र रोजगार सदस्यहरूको सिप तथा क्षमता अभिवृद्धि गर्दै स्वरोजगारका अवसर सिर्जना, व्यक्तिगत रूपमा गर्न नसकिने ठूला व्यवसाय र कृषि, दुग्धजन्य वा साना उद्योगहरू सामूहिक रूपमा सञ्चालन गनु सहकारीले कमाएको नाफा वा लाभांश कार्यसमितिको गोजीमा मात्र नभई नियमअनुसार शेयर सदस्यबिच समानुपातिक रूपमा वितरणदेखि सामुहिकता एउटा बन्धुतो, आत्मीयता र यसमा लाग्नुका फाइदा धेरै छन् ।
दाङ जिल्लामा कति जति सहकारी छन्, जिल्ला सहकारी संघका कति आवद्ध छन् ?
देशभर हाल हजारौँको सङ्ख्यामा बचत तथा ऋण, कृषि, दुग्ध र उपभोक्ता सहकारी सक्रिय रूपमा सञ्चालनमा छन् । त्यस्तै जिल्लामा हाल ४३७ सहकारी हामीसँग आवद्ध हुनुहुन्छ । हाल जिल्लामा करिब सात सयको हाराहारीमा सहकारी छन् जस्तो लाग्छ । त्यसमा अहिले कृषि, बचत, सहकारी, उपभोक्ता, बहुउद्देश्य लगायतका सहकारी संस्थाहरु रहेका छन् ।
सहकारी संस्थाका मुख्य चुनौती के रहेको देख्नुहुन्छ ?
दाङमा त्यस्तो धेरै चुनौती त छैन तर पनि कोहिले ऋण लगेर नतिरेको, कर्मचारी, सञ्चालकले रकम हिनामिना गरेको, सञ्चालक समिति फरार रहेको लगायत विभिन्न समस्या छन् । सबै सदस्यले एउटा कुरा के सोच्नु प¥यो भने मैले ऋण फिर्ता गरे अरूले पनि पाउँछन् ।
सबैले एक–एक पैसा जम्मा गरेको हो भन्ने कुरा बुझ्नु पर्छ । गलत भाष्य के भयो भने ऋण नतिरे पनि हुन्छ भन्ने फैलायो तर त्यो गलत हो । अहिले जिल्लामा १०÷११ वटा सहकारी सङ्कटग्रस्त छन् । त्यसमा तुलसीपुरमा ५ वटा छन् । त्यसमा सञ्चालक फरार रहेको पाइएको छ ।
नियमन निकायलाई हामीले जानकारी गराएको अवस्था छ । वर्तमान सरकारले पनि केही नीतिगत निर्णय गरेको अवस्था छ । पक्कै पनि बचतकर्ताहरूले जम्मा गरेको रकम ढिलो चाडो पाउनुहुन्छ आसा गरौँ । सहकारीका मुख्य चुनौती यिनै हुन् ।
सहकारी संस्थाप्रति जनताले कसरी विश्वास गर्ने ?
दाङमा धेरै समस्या अहिलेको अवस्थामा आएको छैन । अहिलेसम्म सबैले विश्वास गर्नुभएको छ । जुन सहकारीमा स्थानीय सञ्चाल समिति कर्मचारी हुनुहुन्छ त्यो सहकारी कहिले पनि धारासाही हुँदैन र जनताको बचत तथा लगानी डुब्दैन । जस्तै शिवशिखर सहकारी स्थानीय थिइन् अहिले बन्द भयो । त्यसैले राम्रो संस्था बुझेर, सहकारी कुन ठिक कुन बेठिक कस्तो मान्छे सञ्चालक सबै बुझेर बचतदेखि लगानी गर्नु पर्ने हुन्छ ।
जिल्लामा सहकारीमार्फत् कतिलाई रोजगारी दिनुभएको छ ?
जिल्लामा विभिन्न प्रकृतिका सहकारी सञ्चालन छन् बहुउद्देश्यले धेरै कुरा सञ्चालन गर्नुभएको छ । केहिले विद्यालय सञ्चालन, त्यस्तै अन्य कृषि बचत ऋणलगायतका सहकारीले हजाराँैलाई रोजगारी दिनुभएको छ । मलाई लाग्छ जिल्लामा दुईहजारभन्दा धेरैले प्रत्यक्ष रोजगारी पाउनुभएको छ भने अन्य अप्रत्यक्ष पनि धेरैको जिविकोपार्जनदेखि जनजिविका सञ्चालनमा सहकारीले सहजता ल्याएको अवस्था छ ।
अन्तमा केही भन्नु छ ?
अन्तमा मैले के भन्छु भने सहकारी कस्तो, त्यसमा कुन व्यक्ति र सञ्चालक समिति स्थानीय हो वा होइन कसरी सञ्चालन भएका छन् । सबै कुराहरू जानेर बुझेर सहकारीहरूमा बचतदेखि अन्य कुराहरू गर्नुहोस् । सहकारी नराम्रो होइन राम्रो हो यसमा लाग्नु सबैको हित हुन्छ तर एक पटक जानेर बुझेर नबुझेको भए बुझेकोलाई सोधेर लाग्नुहोस् भन्न चाहन्छु । जय सहकारी ।