सिप सिकाउँदै बङ्गलाचुली : कतै अल्लोका तान, कतै पन्चेबाजा थिएटर

खेमराज रिजाल
बङ्गलाचुली, २० जेठ । आर्थिक वर्षको अन्त्य हुन करिब सवा महिना बाँकी रहँदा जनप्रतिनिधि र कर्मचारीहरू आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेटका तानावाना बुन्न लाग्दा गाउँपालिकाले नै चलाएको एकमहिने सिप विकास तालिम अन्तर्गत गाउँका १५ जना महिला भने अल्लोको ताना तान्न र सामान बुन्न अभ्यस्त देखिन्छन् ।

कसैले धागो मिलाइरहेका छन्, कसैले तान तानिरहेका छन् त कसैले हाते काँटाले अल्लोका साना सामग्री बुन्न थालेको देखिन्छन् । गाउँपालिका भवनकै उपल्लो तलामा स्थानीय रेवती बुढा मगरका हात हातेकाँटामा छन् । धागोलाई उनले झोलाको आकार दिँदै छिन् । ‘तालिममा आएको पन्ध्र दिन जति भयो, अलिअलि सिक्याछम्’, रेवतीले भनिन् ।

उनी जस्तै १५ जना महिला अल्लोलाई आम्दानीको स्रोत बनाउन सिप सिकिरहेका छन् । बारीको छेउकुनामा खेर गइरहेको अल्लोलाई प्रशोधन गरेर कपडा बुनी बजारीकरण हुन सके आफ्नो तालिम सार्थक हुने आशा प्रशिक्षार्थी महिलाको छ । त्यसैले तालिम सुरु भएदेखि एक दिन नबिराएर सहभागीहरू निर्धारित समयमै तालिममा आउने गरेको पालिकाले जनाएको छ ।

अल्लो बुन्ने सिप सिकाउन पालिकाले घोराहीबाट एक जना प्रशिक्षक लगेको छ । लामो समयदेखि अल्लो व्यवसायमा लागेर पोख्त भएकी प्रशिक्षक सामना घर्ती मगरले अल्लोको तान नान्नेदेखि तानमा तयार भएको अल्लोको कपडाबाट विभिन्न पोसाक बुन्न सिकाइरहेकी छिन् ।

तालिम सुरु भएको भर्खरै १५ दिन मात्र भएको छ । गाउँपालिकाले तालिमको अवधि एक महिनाको राखेको छ । यही बिचमा तालिममा सहभागी महिलाले सिप सिक्नु पर्ने छ । ‘एक महिनामा कति काम सिक्न सकिएला ?’ गोरक्षको प्रश्नमा प्रशिक्षक सामना भन्छिन्, ‘सक्ने जति सिकाउने हो, पर्फेक्ट हुन त एक महिना मात्रैको तालिमले अलि पुग्दैन ।’ तालिम हलमा तीन थरिका तान छन्, कपडा बुन्नका लागि । कसैमा कटन मिक्स छ त कसैमा प्योर अल्लो मात्रै भएको सामनाले सुझाइन् ।

बङ्गलाचुली गाउँपालिकाका हरेक बारीका कल्नामा सिस्नु प्रशस्त पाइन्छ । भाँगो पनि प्रशस्त खेती हुने ठाउ हो, बङ्गलाचुली । त्यसैले अल्लोलाई प्रशोधन गरेर कपडा बुन्न र बजारीकरण गर्न सके स्थानीय महिला स्वारोजगार बन्न सक्ने उद्देश्यले यो तालिम आयोजना गरिएको गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरले बताए ।

स्थानीय उत्पादनलाई आम्दानीको माध्यम बनाउन र आन्तरिक रोजगारीको समेत वृद्धि गर्न तालिम फलदायी हुने अध्यक्ष पुनको भनाइ थियो । यो गाउँपालिकाको आन्तरिक स्रोतको तालिम हो । पछिल्लो समयमा अल्लोको माग अत्यधिक बढेको छ ।

आन्तरिक बजारमा मात्र नभएर अल्लोको माग अन्तर्राष्ट्रिय बजारमा पनि धेरै छ । अल्लो उत्पादन र प्रशोधनलाई व्यावसायिक बनाउन सके यसले स्थानीय अर्थतन्त्र बलियो हुने गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले बताए ।

गाउँपालिकाको भवनमा अल्लोका सामग्रीहरू बुन्ने तालिम भइरहेका बेला पालिका माथितिरको एउटा मण्डलामा पञ्चेबाजा प्रशिक्षण चलिरहेको छ । ‘ड्याङ ! ड्याङ !’ पन्चेबाजा बजिरहँदा सडकमा यात्रा गर्ने यात्रुहरूले कसैको विवाह भएको अनुमान गर्छन । तर, हराउँदै गएको पन्चेबाजाको सिपलाई पुस्तान्तरण गर्न गाउँपालिकाले राखेको तालिम थियो, त्यो ।

ट्याम्कुलीको तालमा बाजाले ताल लिँदा रहेछन् । त्यसपछि झ्याली र सनैले बाजाको ताल समाउछन् अनि नर्सिङेले तालिम मण्डला गुन्जायमान बनिरहेको छ । बङ्गलाचुली त्यसै पनि स्वर र सङ्गीतको धनी क्षेत्र हो । बङ्गलाचुलीका स्वर र संस्कृति विभिन्न सामाजिक सञ्जालमा व्यापक रूपमा छाउने गरेका छन् । अर्थात् बङ्गलाचुली कलाकार उत्पादनको ऊर्वर भूमि पनि हो । चाहे गीतमा होस् या नृत्यमा ।

बङ्गलाचुली परापूर्वकालदेखि नै स्थानीय कला, संस्कृतिको धनी क्षेत्र हो । पन्चेबाजा, सोरठी नाँच र देउसी–भैलो बङ्गलाचुलीका प्रशिद्ध सांस्कृतिक गहना हुन् तर पछिल्लो समयमा पुर्खाले सिक्दै आएको यो सिप तल्लो पुस्तालाई पुस्तान्तरण हुन नसकेको सन्दर्भमा संस्कृतिको पुस्तान्तरणको अभियानसहित यो तालिम छानिएको गाउँपालिकाले जनाएको छ । यो कार्यक्रम प्रदेश सरकारको अनुदानको कार्यक्रम हो ।

पन्चेबाजा, देउसी भैलो तथा सोरठी नाँचको परम्परालाई पछिल्लो समयमा गाउँपालिकाले पछ्याउँदै आएको छ । पालिकाले विगत केही वर्षदेखि हरेक वर्षको तिहारपछि पालिकास्तरीय देउसी भैलो प्रतियोगिता आयोजना गर्दै आएको छ । यसका लागि पालिका सभाले नै हरेक वर्ष आवश्यक बजेटसमेत विनियोजन गर्दै आएको छ । बङ्गलाचुलीमा हुने प्रतियोगितात्मक देउसी भैलोको मनोरञ्जन लिन बङ्गलाचुलीको भ्यु टावर मुनतिरको ठुलो लेकको चौरमा जिल्ला भरबाट दर्शक पुग्ने गरेका छन् ।