मेरो खुशी : हर्षका आँसु झरेको त्यो दिन …

जीवनमा केही यस्ता क्षण हुन्छन्, जसले मानिसको सम्पूर्ण जीवनयात्रालाई नयाँ दिशा दिन्छन् । संघर्षका अनेकौँ मोड पार गरेर प्राप्त गरेको सफलताको आनन्द वर्षौँ बितिसक्दा पनि उस्तै ताजगीका साथ सम्झनामा रहिरहन्छ । ८१ वर्षीय एकराज अधिकारीका लागि पनि त्यस्तै अविस्मरणीय क्षण थियो, सरकारी जागिरको परीक्षामा नाम निकालेर राष्ट्रसेवक बन्ने अवसर प्राप्त गरेको त्यो दिन ।

सरल जीवनशैली, विनम्र स्वभाव र अध्ययनशील व्यक्तित्वका धनी अधिकारी अहिले जीवनको उत्तरार्धमा पुगे पनि उत्तिकै सक्रिय छन् । घोराहीमा हुने साहित्यिक कार्यक्रम, समाजसेवादेखि अध्ययनमा निरन्तर लागिरहने उनी घोराहीमा हुने विभिन्न कार्यक्रममा नियमित सहभागी हुने गर्छन् । दैनिक जसो घोराही बजार पुगेर पत्रपत्रिका पढ्ने, लेखरचना तयार गर्ने र विभिन्न विषयमा अध्ययन गर्ने उनको बानी अहिले पनि कायमै छ ।

वि.सं. २००० साल चैत १७ गते प्युठान जिल्लाको माण्डवी गाउँपालिका अन्तर्गत तत्कालीन मर्काबाङ गाविस–२ रातापानीमा बुबा खिमानन्द अधिकारी र आमा दलक्वारदेवी अधिकारीको कोखबाट माइलो सन्तानका रूपमा जन्मिएका एकराज अधिकारीका दुई दाजुभाइ र तीन दिदीबहिनीमध्ये माइलो सन्तान हुन् । उनले प्रारम्भिक शिक्षा गाउँकै सुन्नानी आधार मिडिल स्कुलबाट सुरु गरेका थिए ।

कक्षा ५ सम्म त्यहीँ अध्ययन गरेपछि संस्कृत शिक्षा पढ्नु पर्ने भयो । संस्कृत अध्ययनका लागि प्युठानसँगै नजिकमा विद्यालय थिएनन् । त्यही कारण अधिकारी संस्कृत भाषा अध्ययनका लागि महोत्तरीको मटिहानी संस्कृत महाविद्यालय पुगे । त्यतिबेला गाउँबाट टाढा गएर पढ्नु आफैंमा चुनौतीपूर्ण थियो ।

एक्लै बस्नु पर्नेदेखि आर्थिक अवस्थाका लागि समेत समस्या हुने गरेको थियो तर शिक्षाप्रतिको लगावले उनलाई निरन्तर अगाडि बढाइरह्यो । मटिहानीमा अध्ययनका क्रममा परीक्षा दिन भारतको दरभंगा विश्वविद्यालय जानु पर्ने व्यवस्था थियो । दरभंगा विश्वविद्यालयबाट आठ कक्षासम्म अध्ययन गरेपछि बनारसस्थित संस्कृत विश्वविद्यालयबाट पूर्वमध्यामासम्मको अध्ययन पूरा गरे । वि.सं. २०२१ सालमा उत्तरमध्यमा उत्तीर्ण गरेपछि उनको जीवनले नयाँ मोड लियो ।

पढाइ पूरा गरे लगत्तै अधिकारीले सप्तरी जिल्लाको तिलाठीस्थित महेन्द्र मावि विद्यालयमा नेपाली र संस्कृत विषय अध्यापन गर्दै शिक्षक पेसा सुरु गरे । त्यतिबेला मासिक ८० रुपैयाँ तलब पाइन्थ्यो । त्यसमध्ये ३० रुपैयाँ खानबस्न खर्च हुन्थ्यो भने बाँकी रकम बचत हुन्थ्यो । ‘त्यो बेला पैसाको ठूलो मूल्य थियो,’ अधिकारी सम्झन्छन्, ‘खर्च कम गरेर बचेको रकम जम्मा गर्थेँ । भविष्यका लागि केही गर्नुपर्छ भन्ने सोच सधैं मनमा हुन्थ्यो ।’

शिक्षकको रूपमा काम गर्दै जाँदा उनी सहायक प्रधानाध्यापकको जिम्मेवारीसम्म पुगेका थिए । टाढाको बसाई अस्थायी जागिरका कारण धेरै समय त्यहाँ बस्न सकेनन् । एक वर्षको अवधिमा पढाउँदा जम्मा गरेको करिब तीन सय रुपैयाँ लगेर काठमाडौँ जाने निधो गरे ।

घरदेखि निकै टाढा बसेर काम गर्नु पर्ने अवस्था, खानबस्नको असहजता र भविष्यमा स्थायी पेसा बनाउने चाहनाले अधिकारीलाई सरकारी सेवातर्फ आकर्षित ग¥यो । त्यही रहरका कारण २०२१ सालतिर पहिलो पटक सरकारी जागिरको खोजीमा काठमाडौँ पुगे । त्यतिबेला काठमाडौँ पुगे गाउँका युवाका लागि सपना जस्तै मानिन्थ्यो ।

सप्तरी जिल्लाबाट त्रिभुवन राजपथ हुँदै राजधानी पुगेका अधिकारी आज पनि त्यो क्षण सम्झिन्छन् । ‘काठमाडौँ पुगेपछि मलाई स्वर्गमा पुगेजस्तो लागेको थियो,’ उनी भन्छन्, ‘सफा सडक, बिजुलीको उज्यालो, ठूला भवन र मानिसको चहलपहल देख्दा निकै उत्साहित भएको थिएँ, त्यो क्षण पनि मेरो खुसीको क्षण हो ।’

त्रिपुरेश्वरस्थित मैथिली होटलमा बस्दै अधिकारीले जागिरको खोजी सुरु गरे । दैनिकजसो सिंहदरबार पुग्ने र विभिन्न कार्यालयका सूचना हेर्ने उनको दिनचर्या बन्यो । त्यही क्रममा प्युठानका तत्कालीन सांसद टंकबहादुर विष्ट, दाङका सांसद जनकबहादुर शाह र रोल्पाका सांसद बालाराम घर्तीसँग उनको भेट भयो । उनीहरूले सरकारी सेवामा प्रवेश गर्नका लागि सल्लाह दिए, जागिरका लागि सूचना टाँसिएको ठाउँसम्म लग्ने काम गरे ।

सरकारी जागिरमा प्रवेशका लागि मार्गदर्शन गरे । सांसदसँगै जागिरका लागि सिंहदरबार गएको दिन सूचनापाटीमा खरदार पदमा जागिर खुलेको सूचना देखे । उक्त पदमा पाँचजनाको माग भएको विज्ञापन देखे र उनले पनि दरखास्त दिए । पाँच पदका लागि एक सय पाँच जनाको प्रतिस्पर्धा थियो ।

प्रतिस्पर्धा कठिन थियो तर आफूले गरेको अध्ययन र आत्मविश्वासमाथि उनलाई भरोसा थियो । लिखित परीक्षा र अन्तर्वार्ता सफलतापूर्वक पास गरेपछि नतिजा प्रकाशित भयो । नतिजाको सूचीमा आफ्नो नाम तेस्रो नम्बरमा देख्दा उनी खुसी भए ।

विगत सम्झिँदै भन्छन्,‘मेरो नाम देख्ने वित्तिकै आँखाबाट आँसु झ¥यो । त्यो खुसी शब्दमा व्यक्त गर्न सकिँदैन । सरकारी जागिरमा नाम निकाल्दाको दिन जीवनमा पहिलो पटक ठूलो सफलता प्राप्त गरेको अनुभूति भएको थियो । साथीहरूसँग खुसी साटासाट गरेर त्यो दिन रमाइलो गरेका थियौँ, त्यो दिन हर्षको आँसु खसेको थियो ।’ जसअनुसार त्यो क्षण नै जीवनको सबैभन्दा ठूलो खुसीमध्ये एक हो ।

अहिले आठ दशकभन्दा बढी उमेर पुग्दा पनि त्यो दिन सम्झिँदा मनमा उस्तै आनन्दको अनुभूति हुने गर्छ । सरकारी सेवामा उनको पहिलो नियुक्ति काठमाडौँ कै भूमिसुधार मन्त्रालयको योजना शाखामा भयो ।
काठमाडौँ आएको एक महिनाभित्रै जागिर सुरु गर्न पाउँदा उनी थप उत्साहित भए । केही समयपछि उनको सरुवा धनगढी भयो । त्यहाँ करिब तीन वर्ष सेवा गरे । त्यसपछि आफ्नै जिल्ला प्युठानमा भूमिसुधार कार्यालयको प्रशासनिक सहायकका रूपमा काम गर्ने अवसर मिल्यो ।

‘आफ्नै जिल्लामा जिम्मेवारी लिएर काम गर्न पाउँदा निकै खुसी लागेको थियो,’ उनी भन्छन्, ‘त्यो पनि मेरो जीवनको महत्वपूर्ण उपलब्धिमध्ये एक हो, आफ्नै जिल्लामा सरकारी जागिरेका क्रममा जाँदाको क्षण खुसीको क्षण हो’ तर सरकारी सेवामा विभिन्न जिल्लामा जानु पर्ने बाध्यताले उनलाई कहिले काहीँ घरपरिवार र गाउँ सम्झाइरहन्थ्यो ।

त्यसैले पछि उनले फेरि शिक्षण पेसालाई रोजे । आफूले अध्ययन गरेको सुन्नानी आधार मिडिल स्कुलमै शिक्षक पदका लागि आवेदन दिए । एक पदका लागि पाँचजनाको प्रतिस्पर्धा भए पनि उनी सफल भए । त्यसपछि वि.सं. २०२६ सालदेखि २०४८ सालसम्म शिक्षण क्षेत्रमा निरन्तर योगदान दिए । विभिन्न विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाले ।

वि.सं. २०४१ सालमा राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा भए । त्यसपछि दाङको धर्नास्थित महेन्द्र मावि विद्यालयमा सरुवा भएर आएपछि स्थायी रूपमा दाङसँग उनको सम्बन्ध गाँसियो । जागिरका क्रममा उनले वि.सं. २०४० सालमा घोराही–६ गुरुवागाउँमा जग्गा खरिद गरेका थिए ।

पछि त्यहीँ ठाउँमा घर किनेर बसोबास गर्न थाले । शिक्षण पेसामा करिब ३३ वर्ष बिताएका अधिकारीले हजारौँ विद्यार्थीलाई शिक्षा दिएका छन् । ‘अहिले मैले पढाएका विद्यार्थी डाक्टर, शिक्षक, प्रशासक र विभिन्न क्षेत्रमा कार्यरत छन्,’ उनी भन्छन्, ‘उनीहरूले भेट्दा गुरुको योगदान सम्झेर सम्मान व्यक्त गर्छन् । त्यो क्षण पनि निकै खुसी लाग्छ ।’

भूमिसुधार कार्यालयमा कार्यरत रहँदा वि.सं. २०२४ सालमा प्युठानको किमिचौर निवासी लोकराज घिमिरे र पिमादेवी घिमिरेकी माइली छोरी सरस्वतीदेवी घिमिरेसँग वैवाहिक बन्धनमा बाँधिएका अधिकारी दम्पत्तिका पाँच छोरा र एक छोरी छन् । निवृत्त जीवनमा पनि उनी निष्क्रिय छैनन् ।

निवृत्त कर्मचारी संघ पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति दाङ, राप्ती साहित्य परिषद्, लेखक संघ दाङ, दाङ, प्युठान सरोकार समाजलगायत विभिन्न सामाजिक तथा साहित्यिक संस्थामा आवद्ध छन् । उनका ‘पाण्डवेश्वर महात्म’, ‘जीवन दर्पण’, ‘सुभाषित संग्रह’ र ‘रचना कुसुम’ जस्ता कृति प्रकाशित भइसकेका छन् भने ‘लघु महाभारत’ प्रकाशनको तयारीमा रहेको छ ।

साहित्य, शिक्षा र समाजसेवामा पु¥याएको योगदानका लागि विभिन्न संस्थाबाट सम्मानित हुँदै आएका अधिकारी आज पनि अध्ययन र सिर्जनामै रमाइरहेका छन् । तर जीवनका अनेक उपलब्धिमध्ये सरकारी जागिरको नतिजामा आफ्नो नाम देख्दा प्राप्त भएको खुसी भने उनका लागि सबैभन्दा विशेष र अविस्मरणीय बनेर रहेको छ ।

प्रस्तुति  : लीलाधर वली