नारायणप्रसाद श्रेष्ठ
‘बोल्नु बडो अनमोल हो, बोल्नु भन्दा पहिले शब्दलाई हृदयको तराजुमा तौलेर बोल्ने बानी गर ।’ यो वाक्य २०३२÷०३३ सालतिर अध्ययनको क्रममा काठमाडौँ रहँदा कुनै पार्कमा लेखेको देखेको थिए । यो वाक्यले मलाई निकै प्रभाव पारेको थियो । आपसी संवाद र एकअर्काको भावना मुखरित गरिने माध्यमको रुपमा बोलिने भाषा विचार तथा उल्लिखित यो वाक्य अहिले पनि त्यतिकै महङ्खव रहेको महसुस गर्दै यसै विषयमा केही कुरा पस्किदै छु ।
बोलीमा मिठास, वचनमा शिष्टता, मानव जीवनलाई सफल बनाउने महङ्खवपूर्ण आधार हुन् । मानव जीवन सुख दुःखको सागर हो । जीवनको प्रारब्धदेखि उत्तरार्धसम्म यसले निकै आरोह अवरोहको सामना गरिरहेको हुन्छ । छिनछिनमा अप्ठ्यारो र सफ्ठेरो सहनु परिरहेको हुन्छ । चाहँदा, नचाहँदै पनि परिस्थितिको दास बनेर जिउनु परेको हुन्छ ।
जीवन संघर्षको अर्को रुप हो भन्ने गरी संघर्ष गर्दै आफूलाई प्रस्तुत गर्नुपरेको हुन्छ । त्यसैले जीवनमा आउने जति पनि उतारचढाव छन्, त्यसलाई सहजीकरण गर्दै आपसी विश्वास र भरोसा बढाउने उत्तम विकल्प बोली र वचनमा पवित्रता ल्याउनु पर्दछ । मानिसले अरुप्रति श्रद्धा र विश्वास जगाउन र आफ्ना भावनालाई मुखरित गर्न संयम र धैर्यशील भएर आफूलाई प्रस्तुत गर्नुपर्दछ । विश्वास र भरोसाले, धैर्य र सहनशील बनाई मानिसलाई एकअर्कासँग मिलेर बाँच्ने आधार तयार गर्दछ । तसर्थ जीवनलाई सहज गति उन्मुख गराउन, हेर्ने दृष्टिकोणमा शुद्धता जगाउँनु पर्दछ ।
आपसी सम्बन्धले विश्वासमा भरोसा जगाई प्रेम र सद्भावको वातावरण तयार गर्दछ । त्यसैले स्वच्छता र समर्पण भाव ल्याउन मानिसले आफ्नो बोली र वचनमा शिष्टता र शालिनता प्रकट गर्नुपर्दछ । नम्रताले आदरणीय र सभ्य नागरिकको सूचना प्रवाह गरेको हुन्छ ।
त्यसैले मन वचन र कर्मले अरुप्रति देखाउने सद्भावमा शुद्धता ल्याउन सक्ने र सम्बन्धमा न्यानोपन ल्याउने सत्यलाई आत्मसात गरी प्रत्येक व्यक्तिले आफूलाई सम्यम र धैर्यशील बनाई, बोली र वचनमा शिष्टता ल्याउन जरुरी हुन्छ । बोलीमा नम्रता र व्यवहारमा पवित्रता जीवनलाई सहज गति दिने बलियो आधार भएकोले, प्रथमत आफू र आफ्नो परिवेशलाई सहज बनाउन सबैले स्वभाव र आचरणमा शुद्धता प्रदर्शन गर्नुपर्दछ ।
कोही कसैप्रति कुनै किसिमको भेदभाव नराखी म उनको उनी मेरो सहयोगी हुन् भन्ने पवित्र धारणा विकसित गरी व्यक्तिले आफूलाई अरुको सहयोगी बनाउनुपर्दछ । सहयोग र सद्भाव कायम राख्ने गरी आफ्ना विचार झल्काउनु पर्दछ । भनिन्छ ‘बोली अरुलाई आफूतिर आकर्षित गराउने अनमोल निशानी हो’ ।
त्यसैले बोल्नुभन्दा पहिले शब्दलाई हृदयको तराजुमा तौलेर बोल्ने बानी गर्नुपर्दछ । बोल्दा प्याच्च बोल्ने, बस्दा थ्याच्च बस्ने, यी दुवै प्रवृत्ति जीवनलाई गलत मार्गमा लैजाने प्रवृत्तिहरु हुन् । बोल्न पाए भन्दैमा मुखमा जे आयो त्यही शब्द ओकलने बानी वास्तवमा अहंकार र घमण्डको पराकाष्ट हो ।
त्यही शब्द विस्तारै मिलाएर शिष्टतापूर्वक पस्किने बानी भयो भने त्यो वाक्य मिठो र सुन्दर बन्न सक्छ । अलि झर्केर वा अरुलाई होच्याउने हप्काउने गरी बोलियो भने त्यही वाक्य अरुको लागि अपाच्य हुन सक्दछ । जसको फलस्वरुप मानिसमा बदलाको भावना जागृत भई प्रतिशोधको भावना जागृत हुन पुग्दछ । त्यसैले प्रत्येक बोली र वचनमा शुद्धता ल्याई आफ्ना भावनाहरुलाई मुखरित गर्नुपर्दछ ।
मानव जीवन प्रेम र दुःखको सागर हो । यदि यो सत्यलाई बुझेर अरुपति आदर र सम्मान गर्न सकियो भने यसले अरुको मनमा पवित्रता जगाउन मद्दत गर्दछ । आफूप्रति अरुको दृष्टिकोण र सोचाई सकारात्मक हुन पुग्दछ । यसैले जीवनमा सहजता ल्याउने सन्दर्भमा सधैं सचेत रहनुपर्छ ।
सम्बन्धलाई सधैं मजवुत बनाउन एकअर्काको भावनालाई सम्मान दिन सिक्नुपर्दछ । कर्म र व्यवहारमा शुद्धता जगाउन सम्बन्धमा न्यानोपन ल्याउनु पर्दछ । न्यानोपन आउनु भनेको उ र मेरो बिचको सम्बन्धमा नयाँ विचारहरु प्रवाह हुनु हो । त्यसैले क्षणिक आनन्द र प्रतिशोधको भावनाले कोही कसैलाई कुनै पनि बेला उसको विचार र सम्मानमा ठेस लाग्ने गरी वचनमा पूर्णता र सोचाइमा अहंकार ल्याउनु हुँदैन ।
एक अर्कामा दोषारोपण गरी आफूभित्र रहेको कलुसित विचार ल्याउनु हुँदैन । अरुलाई तल पारी आफूलाई सर्वेसर्वा भएको ठान्नु यो सर्वदा गलत विचार र मानसिकता हो । किनकि सृष्टिको रचनामा सवैमा समान क्षमता र शक्ति रहेको हुन्छ भन्ने कुरो, सबैले बुझ्न जरुरी हुन्छ । कसैले तुरुन्तै प्रदर्शन गर्छन्, भने कसैले विस्तारै प्रस्तुत गर्छन् । फरक यति मात्र हो ।
त्यसैले हरेक पलपलमा आउने समस्या भनेको मानिसको व्यवहार र बोलीले ल्याउने समस्या हो भन्ने ठानी आफूलाई संयमित र धैर्यवान बनाउनुपर्छ । अरुलाई दोषारोपण गरेर लान्छना लगाएर मात्र पनि कोही मान्छे योग्य बन्न सक्दैन । आफू र आफ्नो विगतलाई पनि सम्झेर नयाँ दिशालाई उद्घोष गर्ने गरी आफ्ना भावनालाई प्रदर्शन गर्नुपर्दछ ।
त्यसैले प्रथम त आफूलाई शुद्ध र पवित्र बनाउनुपर्दछ । हेर्ने बोल्ने र व्यवहार गर्ने दृष्टिकोणमा सकारात्मक भाव दर्शाउनुपर्छ । बाह्य आवरणमा देखिने जति पनि मपन र फटाई पन छ, त्यसलाई मनभित्रैबाट हटाउनु पर्दछ । क्षणिक आवेगमा आई आफूलाई अब्बल दर्जाको बनाउन खोज्ने प्रवृत्ति देखाई जथाभावी बोल्न भनेको अहंकार र क्रोधलाई प्रसय दिनु हो ।
यस्तो अवस्थाले क्षैनिक स्वार्थ त पूरा होला तर पनि यो पछी गएर प्रत्युपादक बन्न सक्छ । जीवनको गोरेटो मा आउने समस्यामा थप समस्या निम्त्याउन सक्छ । घृणा र इष्र्याले आफू र आफ्नो जीवन पद्धति नै अमर्यादित बन्न सक्छ । जीवनरुपी डुङ्गा एक किनाराबाट अर्को किनारा नपुग्दै बिचैमा डुब्ने खतरा हुन्छ ।
त्यसैले जीवनरुपी रथलाई सहज गतिशील बनाई सुख समृद्धि र ऐश्वर्य खोज्नु छ भने पहिले आफूले आफैलाई हेर्नु बुझ्नु पर्दछ । आफ्नो आङमा भैंसी हिडेको नदेख्ने अरुको आङमा जुम्रा हिँडेको देख्ने प्रवृत्ति भनेको मानव आचरणको सबैभन्दा घिनलाग्दो चरित्र हो । त्यसैले बोली र वचनले ल्याउने तरङ्गलाई बुझेर प्रत्येकले आफूलाई प्रस्तुत गर्नुपर्दछ ।
स्वार्थले प्रेरित विचारहरु प्रदर्शन गर्नु भनेको आफूले आफूलाई धोका दिनु हो । हुन त कतिपयले क्षणिकतामा लुटेको आनन्दको तिर्खा फेरि–फेरि पाइन्छ भन्ने गरी एकअर्काप्रतिको गलत मानसिकतालाई पनि राम्रो तारिफ गर्न र योग्य चरित्र भनी हुटिट्याउले सागर थाम्न आफै उत्तानो परेको जस्तो गरि प्रशंसा गरेको देखिन्छ । लम्पसार परी प्रशंसा गरेको पनि देखिन्छ, सुनिन्छ तर यस्तो प्रवृत्ति भनेको ताग परे तिवारी नत्र गोतामे हो । यस्ताको संगतले पनि मानिसमा गलत प्रवृत्ति हावी हुन पुग्दछ । तसर्थ हमेशा अर्जुन दृष्टिले हेर्ने, बुझ्ने र बोल्ने अभ्यास गर्नुपर्दछ ।
भ्रमको खेती गरी खान पल्केका केही तत्वले शब्दजाल बुनेर बोलिने भाषाले पनि मानिसलाई दिगभ्रमित नगरेको पनि होइनन् तर सत्य सधै सत्य भएर आउने परिस्थितिको सबैले बुझ्न जरुरी हुन्छ । छलछाम गरी अरुलाई पछि पार्छु भनी नाना भाती फलाक्नु भनेको आफ्नो अस्तित्व आफैले कमजोर गराउनु हो ।
त्यसैले समयको परिवर्तित सत्यलाई बुझेर परिवर्तनसँगै आएको समयको प्रवाह अनुसार (स्पस्ट र छलछामविहीन) बोलीमा शिष्टता ल्याउनुपर्दछ । आफूलाई परिवर्तन गर्नुपर्दछ । हतास र निराशाभाव जगाई मनस्थिति बिगार्ने गरी आउने जति पनि कुविचारहरु छन् त्यसलाई समयमै शुद्ध गर्नुपर्दछ । आइ पर्ने चुनौती यी मेरा अवसर पनि हुनसक्छ भने सोच वृद्धि गरी आफूलाई सच्याई आफ्नो भावना र विचारलाई सक्षम र प्रतिभाशाली बनाउनेतर्फ लागि पर्नुपर्दछ ।
बगैँचामा फुलेको फूल सधैँ एकनासको हुँदैन । समय चक्र अनुसार यो पनि परिवर्तन भइरहन्छ । अहिले खोलामा धेरै पानी बगिसकेको छ । हिजो कै कुरा गर्नु भनेको समयलाई सदुपयोग गर्न नसक्नु हो । त्यसैले जीवन यात्राको क्रममा आउने प्रत्येक समस्या र सुखद क्षण हामीलाई समयले परीक्षा लिन आएको भन्ने ठानी प्रत्येक कदममा शिष्ट र मर्यादित जीवन जिउने सङ्कल्प गर्नुपर्दछ ।
नम्रता र इमान्दारिता नै जीवन जिउने महङ्खवपूर्ण कला भएकोले सोही अनुसार आफूलाई प्रस्तुत गर्नुपर्दछ । मन वचन र कर्मले यदि मानिस स्वच्छ र पवित्र छ भने उ सधै असल र योग्य हुन्छ । चेतना भया ।