गोरक्ष समाचारदाता
दाङं, २० जेठ । स्थापना भएको झन्डै ७० वर्षपछि दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि सरकारले आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा २५ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेट विनियोजनसँगै विमानस्थलको धावनमार्ग विस्तार हुने र भविष्यमा ७२ सिटेसम्मका विमान अवतरण गर्न सक्ने अपेक्षा गरिएको छ ।
टरिगाउँ विमानस्थल नेपालकै दोस्रो पुरानो विमानस्थल हो । दाङमा नियमित र स्तरीय हवाई सेवा सञ्चालन हुन सके दाङ मात्र नभई समग्र राप्ती क्षेत्र अन्तर्गत दाङ, सल्यान, रोल्पा, रुकुम र प्युठानका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने तथा यसले क्षेत्रको समग्र विकास र समृद्धिमा ठुलो फड्को मार्ने विश्वास व्यक्त गरिएको छ ।
२०११ सालदेखि सञ्चालनमा आएको टरिगाउँ विमानस्थल नेपालका पुराना विमानस्थलमध्ये एक हो । हाल विमानस्थलको धावनमार्ग सात सय ५० मिटर मात्र कालोपत्रे भएकाले १९ सिटेसम्मका साना विमान मात्रै अवतरण गर्न सक्ने अवस्था छ । नयाँ बजेटमार्फत् धावनमार्गलाई एक हजार पाँच सय मिटर पु¥याउने लक्ष्य राखिएको छ ।
प्रतिनिधि सभा सदस्य कमल सुवेदीका अनुसार धावनमार्ग विस्तार सम्पन्न भएपछि तुलसीपुरबाट ठुला विमान सञ्चालनको सम्भावना बढ्ने छ, जसले दाङको आर्थिक, सामाजिक तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याउने छ ।
लुम्बिनी प्रदेशको राजधानीका रूपमा रहेको दाङमा नियमित हवाई सेवा सञ्चालन हुन सके समग्र राप्ती क्षेत्रका बासिन्दाको जीवनशैली, व्यापार–व्यवसाय तथा आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । सङ्घीय राजधानी काठमाडौंसँग सहज हवाई पहुँच स्थापित हुँदा लगानी, रोजगारी, पर्यटन तथा सेवा क्षेत्रको विस्तारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । स्थानीयले वर्षौँदेखि टरिगाउँ विमानस्थल विस्तारको माग गर्दै आएका छन् ।