विदेशबाट फर्केर कृषि कर्ममा रमाउँदै महरा

भरत विश्वकर्मा
रोल्पा, २० जेठ । सुनिलस्मृति गाउँपालिका–४ तेबाङ खुङ, रोल्पाका ४५ वर्षीय नेत्रबहादुर महरा हिजोआज व्यावसायिक कृषि कर्ममा व्यस्त छन् । महरा २०७० सालदेखि महरा व्यावसायिक बाख्रा फर्म अर्गानिक तरकारी फर्म दर्ता गरेर व्यावसायिक कृषि कर्ममा होमिएका हुन् ।

२०७० सालअघि लामो समय वैदेशिक रोजगारीमा रहेका उनी गाउँमै आएर व्यावसायिक कृषिमा लाग्ने योजना बनाएर स्वदेश फर्किए । विदेशबाट फर्किएलगत्तै उनले बाँझो बारीमा उत्पादनको अभियान सुरु गरे । सुरुवाती चरणमा बाख्रापालनबाट कृषि व्यावसाय सुरु गरेका उनले उत्पादनमा जोड दिँदै गए ।

उनले अहिले फर्मलाई थप व्यवस्थित गर्दै व्यावसायिक बाख्रापालनसँगै तरकारी खेती, कुखुरापालन, माहुरीपालन र केरा खेती गर्दै आएका छन् । उनी हाल वार्षिक लाखौँ रुपैयाँको कारोबार गर्दै आएका छन् । उनी यस भेगकै उदाहरणीय अगुवा कृषकको रूपमा चिनिन्छन् ।

कृषिबाट १२ लाख बढीको कारोबार गर्दै आएको उनले बताए । ‘मैले वर्षमा १२ लाख बराबरको कारोबार गर्दै आएको छु’, उनले भने, ‘केही वर्षदेखि केरा खेती पनि सुरु गरेको छु, केराले पनि वर्षमा तीन÷चार लाख आम्दानी दिन्छ यसका साथै माहुरीपालन पनि सुरु गरेको छु ।’

बजार नजिकैको क्षेत्रमा उनको फर्म भएकाले बजारको खासै चिन्ता छैन । जिल्लाकै ठुलो व्यापारिक केन्द्र सुलीचौर र रुइनिबाङ बजार नजिक भएकाले उत्पादन खेर जाने चिन्ता छैन । उत्पादन गर्न सके बजारको कुनै समस्या नभएको उनी बताउँछन् । उनको फर्ममा अहिले सिरोही, जमुनापारीलगायत उन्नत जातका खसी–बोका रहेका छन् ।

हालसम्म फर्ममा झन्डै २५ लाख रुपैयाँ बराबरको लगानी गरेको उनले बताए । विदेशमा मेहनत गरी कमाएको पैसा लगानी गरी उनले कृषि कर्म गरेका हुन् । उनी यस पेसामा भविष्य राम्रो देखेको बताउँछन् ।

फर्मबाट महराले केहीलाई रोजगारीसमेत दिएका छन् । त्यसलाई व्यवस्थित गर्ने र उत्पादनमा जोड दिने सोच हुँदाहुँदै कहिलेकाहीँ फर्ममा काम गर्न कामदार अभाव हुने गरेको उनी बताउँछन् । ‘कृषि क्षेत्रलाई धेरैले प्राथमिकता नदिएकाले कामदारकै अभाव हुने गरेको छ, खेतीपातीका लागि कामदार पाउन मुस्किल छ’, उनले थपे ।

उनको व्यावसायिक कृषि कर्मलाई देखेर विभिन्न सरकारी निकायले अनुदानसमेत दिँदै आएका छन् । उनले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्र, गाउँपालिकालगायतको निकायबाट अनुदान पाएका छन् । जसले गर्दा कृषि कर्ममा जुट्न थप हौसला मिल्ने गरेको उनी बताउँछन् । सरकारले व्यावसायिक रूपमा कृषि कर्ममा होमिन चाहने कृषकका लागि प्रोत्साहन गर्नु पर्ने उनको भनाइ छ ।

राज्यले युवाहरूलाई देशमै कृषि कर्ममा लाग्ने वातावरण तयार गर्नु पर्ने उनको भनाइ छ । ‘अहिले देशमा धेरै जग्गाजमिन बाँझो राखेर युवा बिदेसिने र बसाइँ सराईको क्रम बढी छ’, उनले भने, ‘राज्यले यसलाई रोक्नुपर्छ, त्यसका लागि कृषि नै विकल्प हो, देशमा उत्पादन गरेर बाहिर देशमा निर्यात गर्ने वातावरण राज्यले बनाउन आवश्यक छ ।’ राज्यले कृषि क्षेत्रलाई ध्यानमा राख्दै व्यावसायिक कृषि कर्म गर्ने कृषकका लागि निरन्तर प्राविधिक सहयोग र सहायता दिनु पर्ने उनले बताए ।