गोरक्ष समाचारदाता
दाङ, १८ जेठ । दाङमा अपाङ्गताका क्षेत्रमा काम गर्ने सरोकारवालाले जेठ १८ गतेलाई राष्ट्रिय बौद्धिक अपाङ्गता दिवसका रूपमा घोषणा गर्दै बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई क्षमता अनुसारको सिप र समावेशी शिक्षाको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
राष्ट्रिय बौद्धिक दिवसका अवसरमा सुस्त मनस्थिति अभिभावक संघ दाङले सोमवार घोराहीमा आयोजना गरेको कार्यक्रमका वक्ताले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू फरक क्षमताका नागरिक भएको भन्दै उनीहरूलाई शिक्षासँगै सिपको व्यवस्था गर्नु पर्ने र सबै बालबालिकाका लागि समावेशी, पहुँचयोग्य तथा गुणस्तरीय शिक्षा सुनिश्चितता गर्नु पर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा विद्यालयलाई बौद्धिक अपाङ्गतामैत्री बनाउनु पर्ने, नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गर्नु पर्ने, समुदायमा आधारित पुनःस्थापना कार्यक्रम सुदृढ गर्नु पर्ने, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ को प्रभावकारी कार्यान्वयन गर्नु पर्ने र स्रोत कक्षासहित व्यावसायिक तालिम केन्द्रहरू स्थापना गरेर अपाङ्गता भएका व्यक्तिलाई सिपसँग जोडनु पर्ने बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको बताउँदै क्षमता अनुसारको सिप विकासका लागि स्थानीय सरकार सहयोग गर्न तयार रहेको बताइन् । घोराहीमा विशेष विद्यालय घोषणा गरी स्थानीय सरकारसँगै प्रदेश र संघ सरकारले पनि लगानी गरिरहेको उनको भनाइ थियो ।
संघकी अध्यक्ष निशा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघ लुम्बिनी प्रदेशका व्यवस्थापक प्रकाश नेपाली, वडा नं. १५ का कार्यवाहक अध्यक्ष लेखनाथ बुढाथोकी, मानव सञ्जालन दाङका संयोजक चिन्तामणि पौडेल, समावेशी अपाङ्ग संघका निर्देशक रामशङ्कर यादव, अपाङ्ग मानव अधिकार एवम् सरोकार मञ्चकी अध्यक्ष देवका खनाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुशीला सार्की र शिक्षक पुष्पा दाहाललगायतले फरक क्षमता भएका नागरिकको उत्थानका लागि सरकारले विशेष कार्यक्रम बनाई सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । उपाध्यक्ष नवराज आचार्यले स्वागत गरेको कार्यक्रमको सहजीकरण फिल्ड अधिकृत धर्मबहादुर यादवले गरेका थिए ।