ड्यालस (अमेरिका),१८ जेठ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विपुल पोख्रेलले नेपाल बनाउने विचार निर्माणका लागि डायस्पोरामा रहेका नेपालीहरूको योगदान महत्वपूर्ण रूपमा स्थापित भइसकेको बताउनुभएको छ ।
हिमालय खबर ड्यालस र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ड्यालसको संयुक्त आयोजनामा अमेरिकाको ड्यालसमा सम्पन्न ‘नेपाल चर्चा, कविता पुस्तक समीक्षा’ कार्यक्रममा बोल्दै पोख्रेलले उक्त कुरा बताउनुभएको हो । पूर्व अध्यक्ष पोख्रेलले सरकारले डायस्पोरामा रहेका नेपालीहरूको क्षमता, अनुभव, पूँजी र अन्तर्राष्ट्रिय सम्बन्धलाई देश निर्माणमा सही ढंगले सदुपयोग गर्नुपर्ने सुझाव दिनुभयो । नेपाललाई हाल राष्ट्र निर्माणको प्रक्रियामा सबैलाई समेटेर अगाडि बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको उहाँको भनाइ थियो ।
विगतको राजनीतिक घटनाक्रमको स्मरण गर्दै पोख्रेलले भन्नुभयो,‘विगतमा प्रधानमन्त्री स्वयंले नै संसद भंग गरेर अस्थिरता निम्त्याउन खोजेको इतिहास छ, र अहिलेका प्रधानमन्त्रीले पनि त्यही प्रवृत्तिलाई जोगाउने वा दोहोर्याउने खतरा उत्तिकै छ ।’ लोकतन्त्रमाथि विश्वव्यापी रूपमा नै चुनौतीहरू थपिँदै गएको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा डायस्पोराका नेपालीहरूले पनि आफ्नो भूमिका प्रखर रूपमा खेल्नुपर्नेमा जोड दिनुभयो ।
विशिष्ट व्यक्तित्वहरूको उपस्थिति र अन्तर्क्रिया उक्त कार्यक्रममा नेपालको वर्तमान राजनीतिक तथा सामाजिक सन्दर्भमा केन्द्रित रहेर वरिष्ठ पत्रकारद्वय सुधिर शर्मा र बसन्त बस्नेतबीच प्यानल छलफल (प्यानल डिस्कसन) समेत सञ्चालन गरिएको थियो । छलफलमा नेपालको समसामयिक वस्तुस्थिति र भविष्यको दिशाबारे गम्भीर चर्चा(परिचर्चा गरिएको थियो ।
यसैगरी, कार्यक्रममा साहित्यकार नारायण श्रेष्ठले एकल कविता वाचन गर्नुभएको थियो भने लेखक केशव दाहालको नवीनतम पुस्तक ‘अज्ञात’ माथि समेत समीक्षात्मक टिप्पणी र चर्चा गरिएको थियो । डायस्पोरामा रहेका नेपालीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम वैचारिक र साहित्यिक दुवै दृष्टिकोणले भव्य रूपमा सम्पन्न भएको आयोजक संस्था हिमालय खबरका प्रबन्ध सम्पादक बिकास राज न्यौपानेले जनाएका छन् ।