राष्ट्रिय दिव्य सम्मेलन सुरु

गोरक्ष समाचारदाता
दाङ, १६ जेठ । घोराहीमा राष्ट्रिय दिव्य सम्मेलन–२०८३ सुरु भएको छ । ‘विश्व नवनिर्माणका लागि आध्यात्मिक जागरण’ भन्ने अन्तर्राष्ट्रिय नारासहित घोेराहीमा ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय एवम् राजयोग प्रशिक्षण केन्द्र घोराहीको आयोजनामा राष्ट्रिय दिव्य सम्मेलन सुरु भएको हो ।

सम्मेलनको उद्घाटन गर्दै लुम्बिनी प्रदेश प्रमुख माननीय कृष्णबहादुर घर्ती मगरले शारीरिक, मानसिक एवम् आध्यात्मिक जागरणका लागि ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । सम्मेलनले नागरिकमा असल आचरणको विकाससँगै सभ्य समाज निर्माणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । सम्मेलनका प्रमुख अतिथि रहेका घर्ती मगरले नागरिकमा नैतिक शिक्षा हराउँदै गएको समयमा आध्यात्मिक जागरण, नैतिक पुनर्जागरण तथा विश्व शान्तिका लागि सम्मेलनले सहयोग पु¥याउने बताए ।

ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय पूर्व उत्तर प्रदेश एवम् नेपाल प्रमुख राजयोगिनी परनीता दिदीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्व सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी, ब्रह्माकुमारिज युवा प्रभाग भारतका राष्ट्रिय उपाध्यक्ष बरिष्ठ राजयोगी ब्रह्मकुमार आत्मप्रकाश, घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीलगायतले सम्बोधन गर्दै आध्यात्मिक जागरणका माध्यमबाट सकारात्मक सचेतना अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका थिए ।

ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय राप्ती क्षेत्रीय प्रमुख गीता दिदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्षेत्रीय सचिव शिवलाल महतराले ब्रह्मकुमारिज मधुवन पुनर्जागरण केन्द्रमा निर्माण गरिएको ‘शिवशक्ति भवन’बारे जानकारी गराएका थिए । सम्मेलनमा देशका विभिन्न भागबाट राजयोग साधक, सेवा केन्द्र प्रतिनिधि, प्रशिक्षक तथा आध्यात्मिक अभियन्ताको सहभागिता रहेको छ । सम्मेलनमा राजयोग साधना, आध्यात्मिक चिन्तन, अनुभव आदानप्रदान, संस्थागत समन्वय, वार्षिक समीक्षा तथा प्रशिक्षण कार्यक्रम हुनेछन् ।

कार्यक्रममा बोल्ने वक्ताले सकारात्मक सोच, नैतिकता, सहअस्तित्व र शान्तिमय संस्कृतिको विकासमा योगदान पुग्ने विश्वास गरेका छन् । बह्मकुमारिज ईश्वरीय विश्वविद्यालयले नवनिर्मित शिवशक्ति भवनबाट आध्यात्मिक साधना, मूल्यनिष्ठ शिक्षा तथा मानव सेवाका विविध गतिविधि सञ्चालन गर्ने भएको छ । आयोजकका अनुसार सम्मेलनमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ४२ जिल्लाका प्रतिनिधिका साथै भारतको बनारस क्षेत्रबाट समेत सहभागिता रहेको छ । सम्मेलनको सहजीकण ब्रह्माकुमार माधव तिमिल्सिनाले गरेका थिए । सम्मेलन जेठ २० गतेसम्म सञ्चालन हुनेछ ।