प्रेरणाको विन्दु : मौकामा हिरा फोर्नु–बेमौकामा कौडी नछोड्नु

तुफानबाबु श्रेष्ठ

जीवनमा कहिले काहीँ ठूलो सफलता सानो प्रयासकै भित्री शक्ति लुकाएर बसेको हुन्छ । तर, कहिले काहीँ हामीले सामान्य देखिने कामलाई बेवास्ता गर्ने बानीले ठूलो अवसर नै गुमाइरहेका हुन्छौँ । यही सत्यलाई अत्यन्त मन छुने ढङ्गले उजागर गर्ने एउटा प्रेरणादायी कथा हो– ‘मौकामा हिरा फोर्नु, बेमौकामा कौडी नछोड्नु ।’

यो महाभारतकालको प्रसंग हो । राजा युधिष्ठिर भाइहरूसहित बनबासमा थिए । कठिन परिस्थिति, अभाव र सीमित साधनबिच पनि युधिष्ठिरले एउटा ठूलो यज्ञ गर्ने सोच बनाए । यज्ञ गर्नलाई धेरै धन आवश्यक थियो, तर उनीहरूको हातमा एक पैसा पनि थिएन । चर्चा–विमर्शपछि अन्तिम निष्कर्ष निस्कियो– धनका देवता कुबेरकै शरण लिनु पर्छ । भाइहरूबिच सल्लाह भयो र कुबेरकहाँ जान भीमसेनलाई पठाउने निर्णय गरियो ।

भीमसेन कुबेरको दरबार पुग्दा उनले देखे– कुबेरको आँगनमा एकजना मानिस थुक लगाउँदै भुईँमा पोखिएका तोरीका गेडा टिप्दै थिए । भीमसेनलाई यो दृश्य देखेर आश्चर्य लाग्यो– ‘जाबो तोरीका गेडा टिप्न लगाएका यति कन्जुसले कसरी लाखौँ रूपैयाँ देलान् ?’ उनले आफ्नो उद्देश्य नै नबताई त्यहीँबाट फर्किए र सम्पूर्ण घटना दाजु युधिष्ठिरलाई सुनाए ।

युधिष्ठिरले हल्का मुस्कानसहित भने– ‘भीम, यही त तिम्रो भूल हो । जाबो भन्छौँ, त्यसैले त धन टिक्दैन । सानो चीज पनि कदर गर्न सक्ने मानिस कहाँ नै धन बस्छ । फेरि जाऊ, कुबेर अवश्य सहायता गर्छन् ।’ भीमसेन फेरि कुबेरकहाँ फर्किए । यस पटक भीमसेनले दाजुको सन्देश र आफ्नो वास्तविक उद्देश्य खुलाए ।

कुबेरले पनि पहिलो पटक भन्न नसकेकोमा क्षमायाचना गरे र उनलाई विशाल ढुकुटी देखाए । सुन, चाँदी, हिरा–मोतीले भरिएको त्यो खजाना देखेर भीमसेन आश्चर्य चकित भए । कुबेरले उनलाई बिना हिचकिचाहट सयौँ बोरा अशर्फी दिए । बोराहरू गाडामा राखिए, तर गाडा गुडेन । बाटोमा ठूला खाल्टाखुल्टी परेकाले पाङ्ग्रा अड्केका थिए ।

त्यसपछि कुबेरले भुईँमा धेरै मात्रामा तोरी पोखिदिए । भीम आश्चर्य चकित भए– ‘अहिले फेरि तोरी किन पोख्नुभयो ?’ कुबेर मुस्कुराए– ‘भीम, मन लगाएर गरेको काम कहिल्यै खेर जान्न । मैले वर्षौँदेखि एक–एक गेडा तोरी टिपेर बचत गरेको हुँ । आज यही तोरीले बाटो चिप्लो बनायो र गाडा अब सजिलै गुड्छ । यदि त्यही ‘जाबो’ भन्ने बानीले मैले तोरी नटिपेको भए, आज यसको आवश्यकता पर्दा के गर्थेँ होला ?’

कुबेरले कुरा सकेपछि भीमले गाडा हल्का थिचे, र तोरीको चिप्लोपनले गाडा तुरुन्तै चल्न थाल्यो । भीमसेन खुसीसहित दश करोड बराबरका अशर्फी लिएर युधिष्ठिरकहाँ फर्किए । यो कथाले हामीलाई एउटा अत्यन्त महत्वपूर्ण सन्देश दिन्छ– जीवनका हरेक क्षण, सानो वस्तु र सानो बानीसम्मको आफ्नै मूल्य हुन्छ ।

सानो प्रयास नै दीर्घकालीन सफलताको आधार बन्छ, र जुनसुकै काम मन लगाएर निरन्तरतासहित गर्दा त्यो कठिन समयमा ठूलो सहारा बन्न जान्छ । ‘जाबो’ भनी बेवास्ता गरिएको सानो कुराले पनि भविष्यमा ठूलो अवसर र उपलब्धिमा रुपान्तरण हुन सक्छ ।

त्यसैले नै भनिन्छ– ‘मौकामा हिरा फोर्नु, बेमौकामा कौडी नछोड्नु ।’ अर्थात्, समयमै गरिएको सानो बचत, सानो प्रयास र लगनले जीवनका ठूला चुनौती पार गर्न अमूल्य सहारा प्रदान गर्छ ।