खेलाडी सशक्तीकरण र लागूऔषध सचेतना

गोरक्ष समाचारदाता
दाङ, १६ जेठ । खेलाडीलाई सशक्तीकरणसँगै लागूऔषध दुव्यर्सनीसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजनामा शुक्रवार घोराहीमा ‘खेलाडी सशक्तीकरण तथा लागूऔषध दुव्यर्सनविरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको हो ।

खेलाडीलाई अनुशासित, आत्मविश्वास तथा स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्नुका साथै लागूऔषध दुव्यर्सनविरुद्ध सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको छ । दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष विशाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताले सभ्य र अनुशासित नागरिक बनाउन बालबालिकालाई सानैदेखि असल कुराको ज्ञान दिनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले ट्राफिक सचेतना, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक तिलक बोहरा र लागूऔषध दुव्यर्सनीसम्बन्धी सामाजिक अभियान्ता वसन्त पुनले सहभागी खेलाडीलाई लागूऔषध दुव्यर्सनी र यसबाट बच्ने उपायबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगर, दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विवेक श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, सुभसन्देश बोर्डिङ स्कुलका प्रिन्सिपल थम्मन बस्नेतलगायतले मन्तव्य व्यक्त गरेका थिए । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा सहभागीलाई हाप्किडो खेलका नीति र नियमसँगै लागूऔषध दुव्यर्सनी, ट्राफिक सचेतनाबारे प्रशिक्षण दिने कार्यक्रम रहेको संघका जिल्ला अध्यक्ष थापाले जानकारी दिएका छन् ।