खेमराज रिजाल
दाङ, १५ जेठ । लुम्बिनी प्रदेश बाल मातृमृत्यु दरमा मुलुककै कमजोर छ । प्रशस्तै अन्नभण्डार भएर पनि यो प्रदेशमा कुपोषणको समस्या उल्लेख्य छ । अन्य सूचकमा लुम्बिनी प्रदेश धेरै अब्बल भए पनि यी स्वास्थ्यका सूचकले समग्र प्रदेशलाई नै लज्जाबोध बनाएपछि संघ र प्रदेश सरकारसमेत मातृशिशु मृत्युदरको न्यूनीकरण तथा पोषण व्यवस्थापनमा पछिल्लो वर्ष जागरुक बनेको छ ।
यही विषयलाई जोडेर गैरसरकारी संस्था व्याकवार्ड सोसायिटी (बेस) नेपालले केही दातृ संस्थाको सहयोगमा पोषणमार्फत् जीवन रूपान्तरण कार्यक्रम सुरु गरेको छ । यसमा समूहगत कृषिदेखि कुपोषणमा परेका बालबालिकालाई ‘सुपरसिरियल’ प्लस खुवाउने अभियान जिल्लाका १० वटै पालिकामा सञ्चालन गरेको छ ।
यसैगरी शीघ्र कुपोषण र मध्यम कुपोषण देखिएका बालबालिकालाई बहिरङ्ग उपचार सेवासमेत जिल्लाका विभिन्न स्वास्थ्य संस्थामार्फत् १० वटै पालिकामा सुरु गरेको बेसद्वारा सन्चालित पोषणमार्फत् जीवन रूपान्तरण परियोजनाका कार्यक्रम संयोजक सुरेश चौधरीले बताएका छन् । हाल चार वर्षका लागि सुरु गरिएको परियोजना करिब दुई वर्ष पूरा गरेको छ ।
कडा कुषेषणमा परेका बालबालिकालाई आरयुटिएफ सप्लीमेन्ट खुवाइँदै आएको छ भने मध्यमखालका कुपोषित बालबालिकालाई सुपरसिरियल प्लस सम्बन्धित उपचार केन्द्र (ओटिसी)मार्फत् बालबालिकाका अभिभावकलाई निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ । यी पौष्टिक आहार बच्चाको कुपोषणको अवस्था हेरेर दुई महिनादेखि छ महिनासम्म उपलब्ध गराइने ओटिसिका स्वास्थ्यकर्मीहरूले बताएका छन् । यी पौष्टिक आहार धेरै प्रभावकारी भएको स्वास्थ्यकर्मीहरूको प्रतिवेदनले देखाएको छ ।
यसैगरी परियोजना अन्तर्गत कुपोषणमा परेका बालबालिकालाई उपचार मात्रै नभएर उनीहरूको परिवारलाई यही परियोजनामै जोडेर केही आर्थिक सहयोग गरी उद्यमी बनाउने कार्यक्रम सञ्चालन गरेको छ । कुपोषणको सम्भावना हुन सक्ने लक्षित समुदाय पहिचान गरी ती क्षेत्रमा सामूहिक रूपमा व्यावसायिक तरकारी खेती समूह गठन गर्ने, उनीहरूलाई कृषि उपज बिउबिजनको व्यवस्थापन गर्ने, टनेल उपलब्ध गराउने तथा अर्गानिक खेतीलाई प्रोत्साहित गर्न विभिन्न सचेतनामूलक तालिमको समेत आयोजना गर्ने गरेको परियोजनाले जनाएको छ ।
‘खासमा यो अर्गानिक तरकारी खेती पोषणमार्फत् जीवन रूपान्तरणकै एउटा अङ्ग बन्न सकोस् भन्ने हाम्रो चाहना हो’, कार्यक्रम संयोजक चौधरीले भने, ‘आमाहरूलाई गर्भावस्थामा पोषिलो खाना खुवाउँदा जन्मने बच्चामा यसको प्रभाव पर्न सक्ने वैज्ञानिक आधारलाई स्वीकारर्दै यो कार्यक्रम जोडिएको छ ।’ कुपोषणको समस्या देखिएका अभिभावक जसको आयस्रोत कमजोर छ उनीहरूलाई आवश्यकता अनुसार कसैलाई ब्रोइलर पालन, कसैलाई लोकल कुखुरा पालन त कसैलाई तरकारी खेतीमा लगाएर आयआर्जनमा जोडेको बेसले जनाएको छ ।
पछिल्लो सर्वेक्षण अनुसार मुलुकमा नसर्ने रोगका बिरामीको उपचारमा राज्यको ठुलो धनराशी खर्च हुन थालेको छ । अहिले मृत्युका कारक नसर्ने रोगहरू बनिरहेको अवस्थामा यसको दीर्घकालीन समाधानमा परियोजनाका केही कार्यक्रम रहेका छन् । तरकारी तथा फलफूल खेतीमा प्रयोग हुने रासायनिक मल तथा अत्यधिक विषादीको प्रयोगका कारण उपभोक्तालाई क्यान्सर जस्ता नसर्ने रोग लाग्ने सम्भावना बढिरहेका बेला रासायनिक मललाई विस्थापित गर्दै प्राङ्गारिक मल उत्पादन गर्न गँड्यौला खेती तथा भर्मी कम्पोस्ट तथा जैविक विषादीको प्रयोगमा केन्द्रित बनाउन बेसले विभिन्न स्थानमा सहयोगका कार्यक्रम सञ्चालन गरेको छ । यसले केही किसानलाई गँड्यौला मल उत्पादनमा प्रोत्साहन गरी व्यावसायिकसमेत बनाएको छ ।
कार्यक्रमको अनुगमन
यसैबिच बेसद्वारा सञ्चालित पोषणमार्फत् जीवन रूपान्तरण परियोजनाको बुधवार स्थलगत अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको संयोजकत्वमा स्वास्थ्य कार्यलय दाङका प्रतिनिधि, स्थानीय तह स्वास्थ्य शाखाका प्रतिनिधि, बेस कार्यसमितिका प्रतिनिधि तथा बेसद्वारा सञ्चालित पोषणमार्फत् जीवन रूपान्तरण परियोजनाका कर्मचारी तथा सञ्चारकर्मीसमेतको सामूहिक टोलीले तुलसीपुर उपमहानगरपालिका र दंगीशरण गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालन भएका कार्यक्रमको स्थलगत अनुगमन गरेको छ ।
अनुगमन टोलीले तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङीमा २५ जना किसानको सुवर्ण कृषि समूहले सुरु गरेको सामूहिक अर्गानिक खेतीको स्थलगत अनुगमन गरेको छ । त्यस स्थानमा किसानले टनेल निर्माण गरी लौका, फर्सी, काँक्रा, खुर्सानीलगायतका बेमौसमी तरकारी खेती सुरु गरेका छन् ।
यस पटकको खेतीलाई असिनाले क्षति पु¥याएपछि किसानले टनेल बनाएर व्यावसायिक तरकारी खेती सुरु गर्ने लक्ष्य लिएको समूहका प्रतिनिधि सुमनकुमार थारूले बताए । ‘आश पलाएर ग¥या यो पहिलो प्रयास हो, व्यावसायिक तरकारी खेतीमा हामी सफल हुने छौँ भन्ने विश्वास पनि छ’, समूहकी अर्की सदस्य मीना चौधरीले बताइन् ।
व्यावसायिक तरकारी खेतीका लागि त्यहाँका स्थानीय किसानले टनेलभित्र जोत्न एउटा हाते टेक्टर र सिँचाइका लागि डिप बोरिङ भए सहज हुने अनुगमन टोलीलाई बताएका थिए । त्यहाँ वडाध्यक्ष शक्तिराम चौधरीको उपस्थिति रहेको थियो । यसैगरी अनुगमन टोलीले तुलसीपुर–८ दोघरेमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालित कुपोषण उपचार केन्द्रको स्थलगत अनुगमन गरेको छ ।
सो केन्द्रले कम्तीमा दुई सय ९८ जना कुपोषित बालबालिकाको उपचार गरेको बताइएको छ । जसमा शीघ्र कुपोषणका छ जना बालबालिका थिए । सो संस्थामा काउन्सिलिङ, पोषण लेखाजोखा तथा पौष्टिक आहार सुपरसिरियल प्लस उपलब्ध गराउनेलगायतका क्रियाकलाप भएको स्वास्थ्यकर्मीले बताएका छन् । दाङ जिल्लामा जम्मा ५६ ओटिसी (कुपोषण उपचार केन्द्र) रहेकोमा २७ वटा केन्द्रमा बेसले सपोर्ट गर्दै आएको छ ।
यसैगरी अनुगमन टोलीले दंगीशरण–२ को सरुवाडाँडामा बेसको सहयोगमा स्थानीय उद्यमी ईश्वरबहादुर पुनले सञ्चालनमा ल्याएको गँड्यौला मल उत्पादन केन्द्रको पनि स्थलगत अनुगमन गरेको छ । वैदेशिक रोजगारी छाडेर आएका उनले आफ्नै घर खेतमा गँड्यौला मल उत्पादन गरी अर्गानिक तरकारी खेतीलाई व्यावसायिक रूपमा बढाउँदै जाने बताएका छन् । बेसले सो कार्यक्रमका लागि करिब दुई लाख रुपैयाँ लगानी गरेको बताएको छ ।
यसैगरी अनुगमन टोलीले कुपोषणको उपचार गरी निको भएका बालकका परिवारलाई आयआर्जनमा जोड्न दंगीशरण–३ पदमपुरमा ब्रोइलर चल्ला सहयोग गरेको स्थानको स्थलगत अनुगमन गर्दै परिवारलाई पोषणसम्बन्धी आवश्यक परामर्श दिएको छ । एक पटक निको भएर पनि फेरि कुपोषणको समस्या देखिन सक्ने भन्दै तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक बिमल केसीले नियमित पोषण व्यवस्थापनमा ध्यान दिन कुपोषित बालकका अभिभावकलाई आग्रह गरेका थिए ।
अनुगमन दंगीशरण–३ चखौरामा कुपोषित बालकको परिवारमा गरिएको थियो । त्यहाँ पनि बेसले पोषण व्यवस्थापनमा दिगोपना तथा परिवारलाई व्यावसायिक बनाउन कम्तीमा एक सय ५० बढी लोकल कुखुराका चल्ला वितरण गरेको थियो । अनुगमनपछि आयोजित सङ्क्षिप्त समीक्षा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले बेसद्वारा सञ्चालित पोषणमार्फत् जीवन रूपान्तरण परियोजनाले धेरै बालबालिकालाई कुपोषणका कारण मृत्यु हुनबाट जोगाएको बताउँदै अर्गानिक खेतीको अभ्यास अनुकरणीय रहेको प्रतिक्रिया दिए ।
सरकारले गर्नु पर्ने काममा संस्था जोडिएको भन्दै दाङको कुपोषणको दर घटाउन तथा मातृ शिशुमृत्यु दर शून्यमा झार्न सबैको सामूहिक प्रयास आवश्यक रहेको औल्याए । कार्यक्रममा जिल्ला समन्वय अधिकारी सावित्री श्रेष्ठ, स्वास्थ्य कार्यालय दाङका पोषण फोकाल पर्शन गजेन्द्र यादव, तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाका प्रतिनिधि बिमल केसी, बेसका जिल्ला अध्यक्ष महावीर पुन, सचिव रूपलाल चौधरीलगायतको सहभागिता रहेको थियो ।