लोकतन्त्रका दुई खम्बा : गणतन्त्र र मिडिया

नुमाकान्त पौडेल

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको ऐतिहासिक घोषणा वि.सं. २०६५ जेष्ठ १५ गते भएको हो । गणतन्त्र स्थापना भएको झन्डै डेढ दशक भइसकेको छ ।

२०८२ साल भदौ २३ र २४ गतेको राजनीतिक विद्रोहबाट जन्मिएको नयाँ पार्टीका नयाँ युवाहरुले हाल नेपालमा पुराना दलहरुको सट्टा नयाँ पुस्ताका युवा नेताहरुले देशको शासन सञ्चालन गरिरहको अवस्था छ । जहाँ जनताका प्रतिनिधिद्वारा जनताकै शासन सञ्चालन हुने उत्कृष्ट राजनीतिक प्रणाली नै गणतन्त्र हो ।

यस व्यवस्थाको मूल मर्म नागरिक स्वतन्त्रता, विधिको शासन र पूर्ण लोकतन्त्र हुन् । गणतन्त्रलाई संस्थागत गर्न, नागरिकलाई सुसूचित गराउन र राज्यलाई जवाफदेही बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहन्छ । त्यसैले मिडियालाई लोकतन्त्रको ‘चौथो अङ्ग’ भनिन्छ । गणतान्त्रिक व्यवस्था र मिडियाबीचको सम्बन्ध नङ र मासु जस्तै अन्योन्याश्रित रहन्छ ।

ऐतिहासिक पृष्ठभूमि र नेपाली सञ्चार माध्यमको योगदान

नेपालमा गणतन्त्र स्थापनाका लागि भएका हरेक राजनीतिक आन्दोलनमा नेपाली सञ्चार माध्यमले अहम् भूमिका निर्वाह गरेका छन् । वि.सं. २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनमा तत्कालीन शाही सरकारको कडा सेन्सरसिप, धरपकड र नियन्त्रणका बावजुद पनि सञ्चारमाध्यमहरुले जनतालाई आन्दोलनको अग्रपङ्क्तिमा उतार्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने काम गरे ।

एफएम रेडियो, टेलिभिजन, छापा माध्यम र न्यु मिडिया अर्थात अनलाइनहरुले गाउँ(गाउँसम्म गणतन्त्र र लोकतन्त्रको आवाज पु¥याउन अहम भूमिका खेले । राजनीतिक दलहरु प्रतिबन्धित वा नियन्त्रित भएको अवस्थामा समेत मिडियाले जनता र आन्दोलनकारी दलहरुका नेताहरुबीच पुलको काम गरेको इतिहास थियो ।

गणतन्त्रमा मिडियाको सैद्धान्तिक तथा व्यावहारिक भूमिका

गणतन्त्र केवल व्यवस्था परिवर्तन मात्र होइन, यो नागरिकको अवस्था परिवर्तन गर्ने माध्यम पनि हो । यस प्रणालीमा मिडियाका बहुआयामिक भूमिकाहरु हुन्छन् ।

सुशासन र जवाफदेहिता

गणतन्त्रमा शक्ति जनतामा निहित हुन्छ । जनताले चुनेका प्रतिनिधिहरुले जनभावना अनुरुप काम गरेका छन् कि छैनन् भनी निगरानी गर्ने काम मिडियाको हो । सार्वजनिक पदमा रहेका व्यक्तिहरुको कामकारबाही, नीति निर्माण र बजेट परिचालनको वाचडगका रुपमा मिडियाले भ्रष्टाचार र विकृतिलाई उजागर गर्दछन् ।

नागरिक सचेतीकरण

राज्यका नीति, नियम, नागरिकका अधिकार र कर्तव्यबारे जनतालाई सरल भाषामा बुझाउने काम सञ्चारमाध्यमले गर्छन् । सचेत नागरिक नै गणतन्त्रको वास्तविक रक्षक हुन् ।

बहुलवाद र समावेशीकरण

सङ्घीय गणतन्त्रले विविधताको सम्मान गर्छ । नेपाली मिडियाले विभिन्न भाषा, संस्कृति, लिंग, वर्ग र क्षेत्रका आवाजलाई मूलधारमा ल्याउन मद्दत पु¥याएका छन् । सीमान्तकृत समुदायको आवाजलाई राज्यको केन्द्रसम्म पु¥याउने माध्यम मिडिया नै बनेको छ ।

सार्वजनिक बहसको मञ्च

कुनै पनि राष्टिूय मुद्दा, संविधान कार्यान्वयन, वा विकास निर्माणका योजनाहरुमाथि मिडियाले खुला बहसको वातावरण निर्माण गर्छन्। यसले नीति निर्माताहरुलाई जनमुखी निर्णय लिन दबाब सिर्जना गर्छ ।

गणतन्त्रमा नेपाली मिडियाका सबल पक्षहरु

गणतन्त्रको आगमनसँगै नेपालको सञ्चार क्षेत्रमा अभूतपूर्व परिमाणात्मक र गुणात्मक विकास भएको छ । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । हाल देशमा हजारौँको सख्यामा अनलाइन न्युज पोर्टल, सयौँ एफएम रेडियो, टेलिभिजन च्यानल र पत्रपत्रिकाहरु सञ्चालनमा छन् । प्रविधिको विकास र इन्टरनेटको पहुँचसँगै डिजिटल मिडियाको ठुलो सञ्जाल तयार भएको छ ।

आज सानोभन्दा सानो गाउँको भ्रष्टाचार वा अन्यायको घटना पनि तत्कालै राष्टिूय सञ्चारमाध्यमको हेडलाइन बन्न सक्ने अवस्था सिर्जना भएको छ । सूचनाको हकको प्रयोग गर्दै खोजमूलक पत्रकारिता गर्ने परिपाटी बढेको छ, जसले ठुला(ठुला नीतिगत भ्रष्टाचारलाई सार्वजनिक गर्न सफल भएका छन् ।

वर्तमान चुनौती र विकृतिहरु

सङ्ख्यात्मक रुपमा मिडियाको विकास भए पनि गणतन्त्र सुदृढीकरणको मार्गमा नेपाली सञ्चार क्षेत्रले थुप्रै चुनौती र आन्तरिक विकृतिहरुको सामना गरिरहेको छ ।

व्यावसायिकता र विश्वसनीयताको सङ्कट

मिडियाको सङ्ख्या बढेसँगै बजारमा अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ । भ्युज र क्लिकको लोभमा ‘क्लिकबेट’ पत्रकारिता, पीत पत्रकारिता, र सनसनीपूर्ण समाचार सम्प्रेषण गर्ने प्रवृत्ति बढेको छ। यसले मिडियाप्रतिको जनविश्वासमा ह्रास ल्याएको छ ।

भ्रामक सूचना र ‘फेक न्युज’ को बाढी

सामाजिक सञ्जाल र अनलाइन सञ्चारमाध्यमहरुबीचको सिमाना धमिलो हुँदा पुष्टि नभएका समाचार, अफवाह, र भ्रम फैलाउने काम तीव्र भएको छ । डिजिटल साक्षरताको कमीका कारण नागरिकहरु सजिलै भ्रमको सिकार भइरहेका छन् ।

आर्थिक परनिर्भरता

अधिकांश मिडियाहरु विज्ञापन बजारमा निर्भर छन् । आर्थिक मन्दी र विज्ञापनको सीमितताका कारण मिडिया हाउसहरु संकटमा परेका छन्। यसले गर्दा श्रमजीवी पत्रकारहरुले समयमै पारिश्रमिक नपाउने समस्या विकराल बनेको छ । आर्थिक रुपमा कमजोर मिडियाले व्यावसायिक स्वायत्तता जोगाउन गाह्रो हुन्छ र तिनीहरु कर्पोरेट हाउस वा राजनीतिक दलको स्वार्थ समूहको चङ्गुलमा फस्ने खतरा रहन्छ ।

राजनीतिक दलीयकरण

नेपालको मिडिया क्षेत्र अझै पनि पूर्ण रुपमा व्यावसायिक बन्न सकेको छैन । पत्रकार सम्बद्ध सङ्गठनहरु राजनीतिक दलका भ्रातृ सङ्गठन जस्ता देखिन्छन्। यसले गर्दा समाचारको सन्तुलन र निष्पक्षतामाथि प्रश्न उठ्ने गरेको छ ।

कानुनी र संरचनागत अवरोधहरु

बेलाबेलामा राज्यका तर्फबाट प्रेस स्वतन्त्रतालाई सङ्कुचित पार्ने खालका कानुन वा निर्देशिकाहरु ल्याउने प्रयास भइरहेका हुन्छन् । साइबर अपराध नियन्त्रणका नाममा पत्रकारहरुलाई हतोत्साहित गर्ने वा पक्राउ गर्ने प्रवृत्ति अझै पूर्ण रुपमा अन्त्य हुन सकेको छैन ।
सुधारका उपायहरु र हाम्रो आगामी बाटो

गणतन्त्रलाई थप परिपक्व र सुदृढ बनाउन मिडिया क्षेत्रमा व्यापक सुधारको खाँचो छ । यसका लागि विभिन्न किसिमका कदमहरु चाल्नु आवश्यक देखिन्छ ।

आत्मनियमन र आचारसंहिताको पालना

मिडियाले राज्यको नियन्त्रणभन्दा पनि आफैँले बनाएको आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्छ । प्रेस काउन्सिल जस्ता नियामक निकायहरुलाई थप स्वायत्त, निष्पक्ष र प्रभावकारी बनाइनुपर्छ ।

खोजमूलक र तथ्यमा आधारित पत्रकारिता

सतही र सनसनीपूर्ण समाचारको सट्टा तथ्यमा आधारित, अनुसन्धानमूलक र सन्तुलित पत्रकारितामा जोड दिनुपर्छ । पत्रकारिताको मुल्य र मान्यतामा बसेर त्यसका अन्र्तराष्टिूय मापदण्डमा टेकेर समाचार प्रकाशन वा प्रसारण गर्नुअघि क्रस–चेक गर्ने बलियो संयन्त्र मिडिया हाउसभित्रै हुनुपर्छ ।

आर्थिक स्थिरता र श्रमको कदर

पत्रकारहरुको न्यूनतम पारिश्रमिक र पेसागत सुरक्षाको सुनिश्चितता हुनुपर्छ। सरकारले मिडियालाई उद्योगको रुपमा मान्यता दिँदै साना तथा स्वरोजगारमूलक मिडियालाई बचाउन लोककल्याणकारी विज्ञापनको न्यायोचित वितरण गर्नुपर्छ ।

डिजिटल साक्षरता अभियान

मिडिया र सरकारले संयुक्त रुपमा नागरिकहरुमाझ ‘मिडिया र डिजिटल साक्षरता’ सम्बन्धी अभियान चलाउनु पर्छ ताकि सर्वसाधारणले साँचो समाचार र अफवाहबीचको फरक छुट्याउन सकून् ।

सङ्घीयता अनुरुपको संरचना

मिडियाको केन्द्रीकृत स्वरुपलाई बदलेर सातै प्रदेश र स्थानीय तहसम्म गुणस्तरीय सञ्चारमाध्यमको पहुँच र क्षमता विकास गरिनुपर्छ। स्थानीय भाषा र स्थानीय मुद्दाले राष्टिूय प्राथमिकता पाउनु पर्छ ।

अन्त्यमा, गणतन्त्र र मिडिया एकै सिक्काका दुई पाटा हुन् । मिडिया बिनाको गणतन्त्र दिशाहीन र अधिनायकवादी बन्न सक्छ भने गणतन्त्र बिनाको मिडियाले स्वतन्त्र रुपमा साँचो बोल्ने अधिकार पाउँदैन । नेपाली मिडियाले व्यवस्था परिवर्तनको राजनीतिक लडाइँमा आफ्नो ऐतिहासिक परीक्षा उत्तीर्ण गरिसकेको छ ।

अबको मुख्य कार्यभार भनेको प्राप्त उपलब्धिहरुको रक्षा गर्दै सुशासन, विकास, र आर्थिक समृद्धिका लागि रचनात्मक दबाब सिर्जना गर्नु हो । मिडियाले आफूभित्र रहेका बेथिति, दलीय आग्रह र व्यावसायिक कमजोरीहरुलाई सुधार्दै अघि बढ्नुपर्छ ।

जबसम्म देशमा निष्पक्ष, निर्भीक, र व्यावसायिक मिडिया बलियो रहन्छ, तबसम्म नेपाली गणतन्त्रको जग कसैले हल्लाउन सक्दैन । त्यसैले, सबल गणतन्त्र र समृद्ध नेपालका लागि जिम्मेवार पत्रकारिता र स्वतन्त्र मिडिया आजको प्राथमिक आवश्यकता रहेको छ ।