गोरक्ष समाचारदाता
दाङ, १५ जेठ । पूर्वाधार निर्माण क्षेत्रमा समयमा काम नसकिने समस्या देखिरहेको समयमा दाङमा सम्झौता अगावे पुल निर्माणको काम सकिएको छ । देउखरीको मौरीघाट श्रीनारायण चोकदेखि देवीकोट जोड्ने सडक अन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटस्थित दोलाई खोलामा सम्झौता अवधिभन्दा करिब एक वर्ष अघि अर्थात् छ महिनामै पुल निर्माणको काम सकिएको हो ।
मौरीघाट श्रीनारायण चोकदेखि देवीकोट हुँदै स्वर्गद्वारी जोड्ने सडक अन्तर्गत दोलाई खोलामा २०८४ जेठ १३ गतेभित्र पुल निर्माणको काम सक्ने गरी २०८२ मङ्सिर १४ गते एम–एस शारदा श्री निर्माण सेवा लिमिटेडसँग, पाँच करोड २६ लाख ७३ हजार चार सय ५३ रुपैयाँ २४ पैसामा ठेक्का सम्झौता भएको थियो ।
सम्झौता अनुसार निर्माण कम्पनीले २०८३ जेठको पहिलो सातामै पुल निर्माणको काम सम्पन्न गरेको छ । सम्झौता मितिभन्दा चाँडै निर्माण कम्पनीले पुल निर्माणको काम सम्पन्न गरेको सडक पूर्वाधार विकास कार्यालय दाङका सवइन्जिनियर कविन्द्र जोशीले जानकारी दिएका छन् । उनका अनुसार फुटपाथ बाहेक साढे सात मिटर चौडाइ र ४० मिटर लम्बाइ रहेको पुलको निर्माण कार्य कम्पनीले करिब छ महिनाको अवधिमै सम्पन्न गरेको छ ।
पुल निर्माणको काम सकेर हस्तान्तरणको तयारीमा रहेको पुल निर्माण कम्पनीका प्रतिनिधि कृष्ण गिरी बताउँछन् । १८ महिनामा पुल निर्माणको काम सक्ने गरी ठेक्का सम्झौता भएकोमा करिब सात महिनामा पुलको निर्माण कार्य सकिएको उनले बताए । मङ्सिरमा ठेक्का सम्झौता गरेर पुसबाट निर्माण कम्पनीले काम सुरु गरेको थियो । पुल निर्माण नहुँदा वर्षात्को समयमा खोलाको बहाव बढ्दा स्थानीय नागरिक तथा सवारीसाधनका लागि आवागमनमा समस्या हुने गरेको थियो । पुल निर्माणले राप्ती गाउँपालिका–४ र ९ का स्थानीयलाई सहज भएको छ ।