गोरक्ष समाचारदाता
तुलसीपुर, १४ जेठ । राप्ती आँखा अस्पतालमा रिफ्रेसर रेफ्राक्सन तालिम सुरु भएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालको आयोजना, एनएबिपी एट्लस एलायन्स नर्वेको आर्थिक सहयोगमा तीनदिने इन हाउस रिफ्रेसर रेफ्राक्सन तालिम सुरु भएको हो ।
राप्ती आँखा अस्पतालका मेसु सहायक प्राडा रन्जितकुमार साहको अध्यक्षता तथा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको प्रमुख आतिथ्यतामा भएको तालिमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि गिरीले दृष्टिविहीनता न्यूनीकरण गर्न सबैको साथ, सहयोग आवश्यक रहेको बताए ।
गिरीले रिफ्रेसर रेफ्राक्सन तालिमले नयाँ प्रविधि सिक्ने र बिरामीलाई गुणस्तरीय आँखा परीक्षण सेवा प्रदान गर्न मद्दत पुग्ने बताए । गिरीले गुणस्तरीय सेवा प्रवाहका लागि यस्ता खालका तालिम उपयोगी हुने बताए । कार्यक्रममा राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक ध्रुव गौतमले सिकेको सिपलाई व्यवहारमा लागु गरेर आँखाका बिरामीलाई गुणस्तरीय सेवा प्रवाह गर्न सबैमा आग्रह गरे ।
यसैगरी आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले रिफ्रेसर रेफ्राक्सन तालिमले आफ्नो सिप तिखार्ने बताए । उनले मोतियाविन्दुसँगै दृष्टिदोष पनि दृष्टिविहीनताको अर्को प्रमुख समस्या रहेको भन्दै दृष्टिविहीनता न्यूनीकरणका लागि तालिम उपयोगी हुने बताए । उनले तालिमले कर्मचारीमा थप निखारता ल्याउने विश्वास व्यक्त गरे ।
सहायक प्राडा रन्जितकुमार साहले अस्पतालमा विभिन्न समयमा कर्मचारीको सिपको विकासका लागि विभिन्न तालिम, गोष्ठी आयोजना गर्दै आएको भन्दै आयोजित तालिम पनि उपलब्धिमूलक हुने बताए । तालिममा नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, लमही आँखा अस्पताल र विभिन्न आँखा उपचार केन्द्रका एक दर्जन बढी नेत्र सहायकको सहभागिता रहेको छ ।
तालिमको प्रशिक्षकमा बरिष्ठ दृष्टि विशेषज्ञ ओमप्रकाश यादव, बरिष्ठ अनुगन तथा मूल्याङ्कन अघिकृत शालिकराम गौतम र दृष्टि विशेषज्ञ सुशील कार्की रहेका छन् ।