गोरक्ष समाचारदाता
दाङ, १३ जेठ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक महिनाको अवधिमा करिब डेढ सय जनाको आँखाको जटिल रोगको उपचार सेवा दिएको छ । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा प्रतिष्ठानमा एक सय ४० जना बिरामीको आँखाको जटिल रोगको उपचार तथा सल्यक्रिया सेवा दिएको हो ।
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख तथा निर्देशक, सहप्राध्यापक डा. सुरेश रसाइलीको नेतृत्वमा चिकित्सक, नेत्र सहायक, स्वास्थ्यकर्मीको सहभागितामा सानादेखि गम्भीर प्रकृतिका आँखाको उपचारदेखि अप्रेसन हुँदै आएको छ । आँखा रोग विभागका प्रमुखसमेत रहेका रसाइलीका अनुसार एक हजार चार सय २० जना आँखाका बिरामीले ओपिडीमार्फत् सेवा पाएका छन् भने २६ जना बिरामीको भर्ना गरेर आँखाका उपचार गरिएको छ ।
आँखा रोग विशेषज्ञ सह प्राडा रसाइलीले प्रतिष्ठानमा आँखाको कोटरसम्बन्धी उपचार, आँखाको प्लास्टिक तथा पुनर्निर्माण शल्यक्रिया र आँखाको क्यान्सर उपचार जस्ता सेवाहरू विस्तार गरेसँगै जटिल आँखाका रोगको उपचार जिल्लामै सम्भव भएको बताए । यसैगरी आँसु नली खोल्ने तथा पुनर्निर्माण गर्ने शल्यक्रिया, कालो मोतियाको उपचार तथा सौन्दर्यसम्बन्धी आँखा शल्यक्रिया प्रतिष्ठानमा उपलब्ध छन् ।
दृष्टि पर्दाको विस्तृत परीक्षण, आँखाको दृष्टि फैलावट जाँच्ने सेवा, नानीको बनोट परीक्षण जस्ता अत्याधुनिक जाँच सेवा प्रतिष्ठानमा उपलब्ध रहेको उनले बताए । मधुमेह, उच्च रक्तचाँप र थाइराइडका कारण आँखामा पर्ने असरको परीक्षण र उपचार हुँदै आएको छ ।
प्रतिष्ठानमा विशेषज्ञ सेवा सुरु हुँदा दाङसहित रोल्पा, रुकुम, सल्यान, प्युठानलगायतका बिरामीलाई सहज भएको छ । प्रतिष्ठानले आगामी दिनमा अत्याधुनिक उपकरण र विशेषज्ञ जनशक्ति थप गर्ने योजना रहेको बताएको छ ।