दाङमा आर्थिक गणनाको काम ८० प्रतिशत

गोरक्ष समाचारदाता
दाङ, १३ जेठ । सरकारले सञ्चालन गरेका आर्थिक गणनाको काम दाङमा ८० प्रतिशत सकिएको छ । वैशाख २ गतेदेखि सुरु भएको आर्थिक गणना २०८२ को हालसम्म जिल्लामा ८० प्रतिशत व्यावसायिक प्रतिष्ठानको गणना सकिएको तथ्याङ्क समन्वय कार्यालय दाङका प्रमुख पोमनारायण पौडेलले जानकारी दिए । तथ्याङ्कप्रदायसँग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

हालसम्म १९ हजार आठ सय २७ प्रतिष्ठानको गणना सकिएको बताउँदै प्रमुख पौडेलले बाँकी गणनाको काम जारी रहेको बताए । आर्थिक गणना असार ७ गतेसम्म सञ्चालन हुने छ । आर्थिक गणनाका लागि जिल्लामा गणक तथा सुपरीवेक्षक गरी ८० जना जनशक्ति परिचालन गरिएको प्रमुख पौडेलले जानकारी दिए । केही समस्या देखिए पनि काम सञ्चालन भइरहेको उनको भनाइ छ । ‘समस्या देखिएका केही ठाउँमा सहजीकरण गरेर गणनाको काम भइ रहेको छ’, उनले भने । अहिले समयले पनि केही समस्या उत्पन्न भएको उनले बताए ।

कार्यक्रममा प्रमुख पौडेलले गणना भएका तथ्याङ्क देशको नीति निर्माण, योजना प्रक्रिया, तथ्य थाहा पाउन, तुलनात्मक अध्ययन, प्रक्षेपण तथा लक्ष्य निर्धारण, अन्तर्राष्ट्रिय तुलना गर्न महत्वपूर्ण हुने भएकाले यर्थाथ सूचना दिन सरोकारवालालाई आग्रह गरे । यसका लागि नागरिकलाइ सचेतना दिन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा सहभागीले राज्यले नागरिकलाइ सचेतना दिन नसक्दा गणनाको काममा केही समस्या भोग्नु परेको बताएका थिए । कार्यक्रमको सहजीकरण कार्यालयका सूचना अधिकारी हरिभक्त गौतमले गरेका थिए ।