टेकबहादुर पुन
दाङ, १३ जेठ । दाङमा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेयले नागरिकका गुनासा नआउने गरी प्रशासनिक सेवा प्रवाह गर्ने बताएका छन् । मङ्गलवार जिल्लामा क्रियाशील पत्रकारसँग आयोजना गरिएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेयले नागरिकमैत्री प्रशासनिक सेवासँगै जिल्लाको शान्ति सुरक्षा, सुशासन, सेवा प्रवाह, विकास निर्माण, विपद् व्यवस्थापन, सिमा नाका व्यवस्थापनलगायतका विषयमा सबैसँग छलफल गरेर अघि बढ्ने बताएका हुन् ।
उनले प्रशासनलाई जनमुखी, पारदर्शी र उत्तरदायी बनाउने आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै नागरिकका गुनासा तथा जिल्लामा देखिएका समस्याबारे पत्रकारबाट सुझाव लिएका थिए । ‘पत्रकार समाजका ऐना हुन् । जिल्लाको वास्तविक अवस्था, जनताको पीडा र आवश्यकतालाई सञ्चारमाध्यमले नजिकबाट उठाउने भएकाले प्रशासनले सञ्चार क्षेत्रसँग समन्वय गरेर अघि बढ्न आवश्यक छ’, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने, ‘जनताको समस्या समाधान गर्ने दिशामा प्रशासन प्रतिबद्ध भएर काम गर्नेछ ।’
उनले दाङको भुगोल, सामाजिक विविधता तथा नेपाल–भारत सीमासँग जोडिएका संवेदनशील पक्षलाई ध्यानमा राख्दै शान्ति सुरक्षा र सुशासनलाई प्रभावकारी बनाइने बताए । सेवा प्रवाहलाई सहज, छिटो र पारदर्शी बनाउन आफूले ध्यान दिने बताउँदै उनले प्रशासन र सञ्चार क्षेत्रबिच नियमित संवाद आवश्यक रहेको बताए ।
कार्यक्रममा सहभागी पत्रकारले जिल्लामा रहेका समस्या तथा चुनौतीबारे धारणा राखेका थिए । उनीहरूले सरकारी कार्यालयमा सेवा प्रवाहमा देखिने ढिलासुस्ती, विकास निर्माणका काममा अनियमितता, सुरक्षा संवेदनशीलता, विपद् व्यवस्थापनको अवस्था, सिमा क्षेत्रमा हुने गतिविधि तथा जनचासोसँग सम्बन्धित विषय उठाएका थिए । पत्रकारले प्रशासनले जनअपेक्षा अनुसार काम गर्नुका साथै सञ्चारमाध्यमले उठाएका विषयमा गम्भीर बन्न सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, पूर्वअध्यक्ष डा.सुदीप गौतम, प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य शरद अधिकारीलगायतले जिल्लामा पछिल्लो समय बढ्दो सवारी दुर्घटना, लागूऔषध दुव्र्यसन, अव्यवस्थित बजार अनुगमन, सार्वजनिक सेवा प्रवाहमा हुने ढिलाइलगायतका विषयमा प्रशासनको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए । कार्यक्रममा प्रशासन र पत्रकारबिच सहकार्य भए जिल्लाको विकास, सुशासन र जनचासोका विषय प्रभावकारी हुने बताएका थिए ।