गोरक्ष समाचारदाता
तुलसीपुर, १३ जेठ । तुलसीपुुर उपमहानगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । ‘पूर्णखोप सुनिश्चितता, हाम्रो प्रतिवद्धता’ पूर्णखोप सुरक्षित भविष्य भन्ने नाराका साथ मङ्गलवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
नगर प्रमुख टीकाराम खड्काको अध्यक्षता एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले नगर प्रमुख खड्कालाई पालिकालाई खोप सुनिश्चितता घोषणा भएको प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि शर्माले खोप सुनिश्चितता पालिका घोषणा भएको प्रशंसा व्यक्त गरेका थिए । शर्माले हरेक बालबालिकाले खोप लगाउन पाउने मौलिक अधिकार भएको बताए । सो अवसरमा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, स्वास्थ्य कार्यालय दाङका प्रमुख टिबी गुरुङलगायतले बोलेका थिए ।
जनस्वास्थ्य प्रवर्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सजीकरण जनस्वास्थ्य निरीक्षक बिमल केसीले गरेका थिए । कार्यक्रममा खोप सुनिश्चितता घोषणा गर्न महत्वपूर्ण सहयोग गरेको भन्दै १९ वटै वडा कार्यालय र स्वास्थ्य संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो ।