मेरो खुशी : कान्तिपुरमा पहिलो अवसर …

भनिन्छ, मान्छेलाई कुनै कुराको साँचो लत बसेपछि त्यो सजिलै छुट्दैन । जुन लत जीवनको अर्थ बन्छ, त्यो छोड्नु भनेको आफैँलाई छोड्नु जस्तै हुन्छ । पत्रकार नुमाकान्त पौडेललाई पत्रकारिताको ठ्याक्कै त्यस्तै लत बसेको छ ।

दुई दशकभन्दा बढी समय देशकै ठूलो सञ्चारगृहमा खटिएका उनी हरेक उतारचढावमा कलम र क्यामेरालाई साथी बनाउँदै हिँडे । भूकम्प होस् वा महामारी, राजनीतिक उथलपुथल होस् वा व्यक्तिगत संघर्ष–पत्रकारिताले उनलाई कहिल्यै छोडेन, उनले पनि पत्रकारिता छोडेनन् ।

वि.सं. २०३९ साल माघमा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको एक सामान्य किसान परिवारमा बुबा केशवराज पौडेल र आमा देउकला पौडेलको सन्तानको रूपमा जन्मिएका नुमाकान्त पौडेलको जीवन सुरुदेखि नै एक गाउँबाट अर्को गाउँ, एक ठाउँबाट अर्को ठाउँको यात्रा जस्तो रह्यो ।

उनी जन्मेको एक महिना नबित्दै बाबुआमाले अर्घाखाँचीको दुर्गम गाउँको कठिन जीवनलाई अलि सहज बनाउने आशामा बसाइँसरी दाङको तुलसीपुर नजिकै गणेशपुरमा आए तर गणेशपुरमा केही वर्ष बिताएपछि परिवार फेरि बसाइँसरी घोराही उपमहानगरपालिका वडा नं. ८ मा पर्ने कटुकी गाउँमा आइपुग्यो । अर्घाखाँचीबाट गणेशपुर हुँदै कटुकीमा पौडेल परिवार बसेपछि त्यहीँ पौडेलको बाल्यकाल बित्यो ।

कटुकीको त्यो सामान्य परिवेशमा हुर्किएका पौडेलको प्रारम्भिक शिक्षा नेपाल राष्ट्रिय आधारभूत विद्यालय दुन्द्रामा कक्षा १ देखि ३ सम्म भयो । कक्षा ३ को पढाइ सकिएपछि कक्षा ४ मा भर्ना हुन घरबाट अलि टाढा जानुपर्ने भयो र त्यो उनका लागि सजिलो थिएन । त्यही समयमा घरबाट करिब ३०÷४० मिनेट हिँडेर पुगिने घोराही उपमहानगरपालिका–७ शुक्रवारस्थित मातापवित्रादेवी साङ्वेद संस्कृत माध्यमिक विद्यालयमा भयो ।

बाबुआमाले पौडेललाई अध्ययनका लागि त्यही विद्यालयमा भर्ना गराइदिए । त्यो विद्यालयसम्म आउनु जानु आफैँमा एउटा संघर्ष थियो । बाटोमा खोला तर्नुपथ्र्यो । वर्षायाममा बाढी आउँदा कतिपय दिन विद्यालय जान पाइँदैनथ्यो । कहिले काहीँ स्कुलबाट फर्कँदा जँवा खोला तर्दा स्कुलको पोशाक र किताब कापी पानीले भिज्थे तर ती कठिनाइले उनको पढाइप्रतिको जिज्ञासा कम गरेन, बरु अझ दृढ बनायो ।

कक्षा ४ देखि ७ सम्म त्यही विद्यालयमा पढेपछि उनी फेरि विद्यालय परिवर्तन गर्दै घोराही उपमहानगरपालिका–१० नारायणपुरमा अवस्थित श्री सिद्ध रत्ननाथ नमूना माविमा कक्षा ८ मा भर्ना भए । बाबुआमा आफैँ साक्षर नभए पनि छोरो पढोस् भन्ने उनीहरूको सपना थियो ।

त्यो सपनालाई सम्मान गर्दै पौडेल पढाइमा मन दिएर लाग्थे । कक्षामा उनी सधैँ राम्रा विद्यार्थीमा गनिन्थे, शिक्षकले उनलाई चिन्थे र अगाडि बढ्न प्रेरणा दिन्थे । घरमा बाबुआमाको खेतीपातीको काममा सहयोग गर्दै पढाइलाई निरन्तरता दिएका उनले एसएलसी परीक्षामा करिब १५० जना परीक्षार्थीमध्ये चौथो स्थान हासिल गरे ।

‘त्यो क्षण मेरो जीवनको एउटा ठूलो खुसीको क्षण थियो,’ पौडेल भन्छन्,‘आफूसँगै परीक्षा दिने साथीमध्ये चौथो नम्बरमा उत्तीर्ण हुँदाको त्यो अनुभूति अझ पनि ताजा छ ।’ विद्यालयमा पढ्दा पुस्तकालयमा आउने पत्रपत्रिका देखेर उनको मनमा एउटा जिज्ञासा जागेको थियो’ यी पत्रिका कसरी बन्छन् होला ?

पढाइ नहुने फुर्सदका बेला विद्यालयकै पुस्तकालयमा गएर पत्रपत्रिका पढ्न बस्थे उनी । त्यतिखेर पत्रपत्रिका प्राय काठमाडौँबाट आउँथे । त्यसैले उनको मनमा पनि उच्च शिक्षाका लागि काठमाडौँ जाने र त्यहाँबाट पत्रकारिताको संसारमा छिर्ने सपना पल्किन थाल्यो । वि.सं. २०५६ मा दाङकै श्री सिद्ध रत्ननाथ नमूना माविबाट एसएलसी उत्तीर्ण गरेपछि पौडेल उच्च शिक्षाका लागि काठमाडौँ हानिए ।

सुरुका केही महिना भान्जा दाजुसँग बसेका उनी दाजु दाङ फर्किएपछि एक्लै परे । नयाँ ठाउँ भए पनि उनले हार मानेनन् । जसरी पनि काठमाडौँमै टिकेर पढ्ने दृढ निश्चय गरेका उनले भान्जा दाजुसँग रहँदा अलि–अलि सिकेको कम्प्युटरको ज्ञानलाई अझ निखार्दै पुतलीसडकको एउटा डेस्कटप पब्लिसिङको काममा आफूलाई जोडे ।

एक दिन काठमाडौँको कमलादीमा हिँड्दा गर्दा उनले आफूसँगै स्कुलमा पढेका साथी ऋषिराज गुरुङलाई अचानक भेटे । साथीले पनि काम गर्दै उच्च शिक्षा जारी राख्ने सोचेका रहेछन् । विचार मिलेपछि दुवैले भृकुटीमण्डपमा रहेको श्री रत्नराज्यलक्ष्मी क्याम्पसमा प्रविणता प्रमाणपत्र तहमा भर्ना भए र बागबजारमासँगै कोठा लिएर बस्न थाले ।

प्रमाणपत्र तहको पढाइ गर्दै गर्दा वि.सं.२०५८ वैशाखको सुरुवातमा कान्तिपुर पब्लिकेशन्सले आफ्नो न्युजरूममा ले–आउटका लागि जनशक्ति माग गरेको विज्ञापन उनको नजरमा प¥र्याे । आवेदन दिए, तीन चरणका परीक्षा पास गरे र देशकै नामी सञ्चारगृहमा पाइला राख्ने अवसर पाए ।

‘अध्ययनका लागि काठमाडौँ गएको थिएँ, पढ्दै–पढ्दै पहिलो पटक कान्तिपुरमा पत्रकारका रूपमा काम गर्ने अवसर जुट्यो,’ पौडेल भन्छन्,‘देशको नाम चलेको पत्रिकामा काम गर्न पाउँदाको खुसी छुट्टै हुन्थ्यो त्यो बेला ।’ काम सुरु गरेको पहिलो महिना नबित्दै वि.सं. २०५८ जेठ १९ गते राजदरबारमा भएको त्यो भयावह हत्याकाण्डले देशलाई हल्लायो, जसमा तत्कालीन महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवसहित पूरै वंश नै सखाप भयो ।

त्यसपछिको राजनीतिक उथलपुथल र सञ्चार माध्यममा लगाइएको सेल्फ सेन्सरसिपले पत्रकारिताको काम झनै कठिन बनायो । २०६१ भदौमा इराकमा १२ नेपाली युवाको विभत्स हत्याले देशभर व्यापक विरोध र तोडफोडको आगो भड्कियो, जसमा कान्तिपुर पब्लिकेशन्समा पनि तोडफोड भयो ।

त्यस्तै २०६२÷६३ को जनआन्दोलनमा । कफ्र्युको परवाह नगरी कार्यालयतर्फ हिँडेका पौडेल माइतीघर क्षेत्रमा सुरक्षाकर्मीको बन्दुकको नाल आफूतर्फ तेर्सिएको त्यो क्षण आजसम्म बिर्सन सकेका छैनन् । शरीर नै सिरिंग भएको थियो विगत सम्झिँदै पौडेल भन्छन्,‘आफ्नो परिचयपत्र देखाउँदै एक ठाउँबाट अर्को ठाउँसम्म सुरक्षाकर्मीलाई जानकारी गराउँदै कार्यालय पुगेर आफ्नो दैनिक काममा व्यस्त भएको त्यो क्षणको सम्झना गहिरो छ ।’

२०७२ को विनाशकारी भूकम्पले देशभर ठूलो जनधनको क्षति गर्दा कान्तिपुरको कार्यालय भवन पनि क्षतिग्रस्त भयो, तर पौडेल आफ्नो काम छोडेनन् । पेप्सीकोलामा रहेको प्रेसबाट कठिन परिस्थितिमा पनि पत्रकारिता जारी राखे । कोभिड–१९ को महामारीको समयमा पनि आफ्नो ज्यानको परवाह नगरी पत्रकारिताको माध्यमबाट जनतालाई सूसूचित गर्ने काममा उनी निरन्तर खटिरहे ।

पत्रकारिताको काम गर्दा गर्दै पौडेलले आफ्नो शैक्षिक यात्रालाई पनि अनवरत अगाडि बढाए । त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरे र पूर्वाञ्चल विश्वविद्यालयबाट मास्टर्स इन मिडिया टेक्नोलोजी (पत्रकारिता) विषयमा पनि स्नातकोत्तर हासिल गरे । पेसागत जिम्मेवारी सँगसँगै अध्ययनलाई निरन्तरता दिनु आफैँमा ठूलो उपलब्धी हो ।

वि.सं. २०५८ वैशाखमा ’सहायक कम्प्युटर अपरेटर’ को रूपमा कान्तिपुर पब्लिकेशन्सको ‘द काठमाण्डु पोष्ट’ को न्युजरूममा पाइला राखेका पौडेलले आफ्नो क्षमता, अनुभव र लगनका बलमा पदोन्नति पाउँदै गए । ‘सहायक वरिष्ठ एक्जिक्युटिभ’ हुँदै अन्ततः ‘वरिष्ठ उपसम्पादक’ को पदमा पुगे । २०८२ मङ्सिरसम्म अर्थात् करिब साढे चौबिस वर्ष उनले एउटै सञ्चारगृहमा समर्पण भावले काम गरे ।

पत्रकारिताको काम गर्दा गर्दै उनले अनुसन्धानमूलक पुस्तक ‘अनलाइन मिडियाले प्रिन्ट मिडियामा पारेको प्रभाव’ पनि लेखे र प्रकाशनमा ल्याए । नेपाली छापा पत्रकारितामा नयाँ माध्यमको कस्तो प्रभाव पर्दैछ र पाठक सङ्ख्यामा के परिवर्तन आइरहेको छ भन्ने विषयलाई यो पुस्तकले उजागर गर्छ । अध्ययन भ्रमणको क्रममा हङकङ विश्वविद्यालयको अवलोकनसहित संयुक्त राज्य अमेरिकाको भ्रमण पनि गरिसकेका छन् ।

‘पत्रकारिता भनेको केवल पेसा होइन,’ पौडेल भन्छन्,‘यो एउटा जिम्मेवारी हो, एउटा मिसन हो । समाजलाई सत्य र सूसूचित राख्ने जिम्मेवारी बोकेर हिँड्दाको अनुभव शब्दमा बयान गर्न कठिन छ ।’ २०८२ पुस १ गतेदेखि स्वेच्छिक अवकाश लिएका पौडेल अहिले आफ्नो स्थायी घर दाङको घोराहीमा परिवारसँग बसेर सञ्चारका क्षेत्रमा अध्ययन तथा अनुसन्धानको काम गरिरहेका छन् ।

पच्चिस वर्षको पत्रकारिता यात्रामा उनले थुप्रै उतारचढाव भोगे, खुसी र दुःखका क्षण बाँडे, र एउटा सामान्य किसान परिवारको छोरोबाट देशकै ठूलो पत्रिकाको वरिष्ठ उपसम्पादकसम्मको यात्रा तय गरेका थिए । सिग्मा भट्राई पौडेलसँग बैवाहिक वन्धनमा बाधिएका पौडेल दम्पतीका सुशान्त पौडेल र सम्राट पौडेल दुई सन्तान रहेका छन् ।

प्रस्तुति : लीलाधर वली