दाङ, १२ जेठ । सामाजिक तथा आर्थिक रूपान्तरणका लागि युवा समूहको आयोजना तथा भ्याली जुनियर क्रिकेट एकेडेमीको सहआयोजनामा शहरदेखि गाउँसम्मको यात्राअभियानअन्तर्गत बालबालिकाको हाइकिङ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमअन्तर्गत घोराहीदेखि घोरदौरासम्म बालबालिका पुगेका हुन । कार्यक्रमको सुभारम्भ गर्दै अभियानका संयोजक हरि पौडेलले हाइकिङ कार्यक्रमको उद्देश्य तथा सञ्चालन गरिने गतिविधिबारे बालबालिकालाई जानकारी गराएका थिए । उनले बालबालिकालाई प्रकृतिसँग जोड्दै सामाजिक उत्तरदायित्वको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रमको आर्थिक व्यवस्थापन सुदिन घिमिरेले गरेका थिए भने सहभागी बालबालिका र स्थानीय समुदायबीच समन्वयको भूमिका सिरिस श्रेष्ठले निर्वाह गरेका थिए । सहआयोजक संस्था भ्याली जुनियर क्रिकेट एकेडेमीका निर्देशक केशव अधिकारीले कार्यक्रम अवधिभर बालबालिकाको सुरक्षा तथा आवश्यक रेखदेखमा विशेष भूमिका निर्वाह गरेका थिए ।
पदयात्राका क्रममा सहभागी बालबालिकालाई आवश्यक मनोसामाजिक सहयोग दीपा थापाले प्रदान गरेकी थिइन । कार्यक्रममा प्राकृतिक चिकित्सक डा. मानव बस्नेतले बालबालिकामा पछिल्लो समय देखिँदै गएको व्यवहारिक परिवर्तनका विषयमा अन्तक्र्रियात्मक प्रस्तुति दिएका थिए । उनले बालबालिकालाई प्राकृतिक वातावरणसँग घुलमिल गराउनु आवश्यक रहेकोमा जोड दिदै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
बालबालिकालाई स्थनीय जनजीवन बुझ्ने र प्रकृतिसँग रमाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमले बालबालिकाहरूमा नयाँ उत्साह र सामाजिक उत्तरदायित्वको भावना जगाउन भूमिका खेल्ने बताए । स्थानीय जनजीवनको अनुभव दिलाउने तथा प्रकृतिप्रतिको लगाव बढाउने उद्देश्यसहित सञ्चालन गरिएको उक्त कार्यक्रमले बालबालिकामा सकारात्मक सोच र सामाजिक चेतना अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकको विश्वास रहेको छ ।