प्रतिष्ठानबाट तीन सय ५० बढीले लिए प्रसूति सेवा

गोरक्ष समाचारदाता
दाङ, १२ जेठ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक महिनाको अवधिमा तीन सय बढीले प्रसूति सेवा लिएका छन् । आमा सुरक्षा कार्यक्रम निशुल्क रुपमा सञ्चालनमा भएसँगै प्रतिष्ठानबाट प्रसूति सेवा थप प्रभावकारी बन्दै गएको हो ।

प्रतिष्ठानले चालु आर्थिक वर्षको वैशाख १ देखि ३१ गतेसम्म एक महिनामा तीन सय ४८ जना महिलाले निःशुल्क प्रसूति सेवा लिएका छन् । प्रतिष्ठानका प्रसूति रोग विशेषज्ञ प्राध्यापक डा. वसन्त लामिछाने नेतृत्वमा अन्य प्रसूति रोग विशेषज्ञ चिकित्सकको सहभागितामा निःशुल्क प्रसूति सेवा अस्पतालमा प्रदान हुँदै आएको छ । आमा सुरक्षा कार्यक्रम निःशुल्क रूपमा सञ्चालन भएपछि प्रतिष्ठानमा निःशुल्क प्रसूति गराउन आउने महिलाहरू अहिले सेवा पाउँदा खुसी भएको प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सहप्राध्यापक डा. सुरेश रसाइलीले बताए ।

उनका अनुसार प्रतिष्ठानमा सञ्चालित निःशुल्क प्रसूति सेवाले बिरामीको सङ्ख्या दिन प्रतिदिन सेवा दिनेको सङ्ख्या बढ्दै गएको छ । प्रतिष्ठानमा प्रसूति सेवा निःशुल्क भएपछि एक महिनाको अवधिमा नर्मल डेलिभरी दुई सय आठ जना र शल्यचिकित्सा सेवाबाट एक सय ४० जना गरेर तीन सय ४८ जना महिलाले सुरक्षित सुत्केरी सेवा पाएका छन् ।

यसैगरी प्रसूति सेवा विभागबाट एक महिनाकै अवधिमा गर्भपतन (मिसक्यारिज) ४१ जना र अन्य छ जनाले सेवा पाएका छ्न् । यसैगरी वैशाख महिनामा प्रसूति सेवाबाट दुई हजार एक सय ९४ जना महिलाले ओपिडी सेवा र ५३ जनाको भर्ना गरेर उपचार गरिएको छ ।