‘सोच र चिन्तन दुःखको कारण’

गुरुप्रसाद शर्मा रेग्मी

संसारमा जन्म लिएका हरेक मानिसमा विक्षणको शक्ति र उर्जा हुने भएकाले नै देवताको अंक संकल्पित भएर कुनै कार्यमा लाग्यो भने उसको लागि असम्भव भन्ने कुनै कुरा हुँदैन तर विडम्नबना के देखिन्छ भने मानिसले न आफूले आफूलाई चिन्न खोजेको हुन्छ । न आफूभित्रको असीमित उर्जा र शक्तिलाई जान्न सकेको हुन्छ । त्यसैले उ सधै अरु प्राणीहरु जस्तै अभाव, भए, दुःख आशान्तिको सागरमा डुबुल्की लगाइरहनु परेको हुन्छ । आफैभित्र अन्तरनिहीत भएको सुख, शान्ति, आनन्दको स्रोत खोज्न रि जीवनको सामाजिक आर्थिक, धार्मिक, संस्कृतिको उन्नती र प्रगति गर्ने नाममा भैतरणी नदीको किनारामा रोएर बसिरहनु परेको हुन्छ । आफूभित्रको चेतनाको उर्जालाई उत्थापित गरेर भैतरणी नदी पार गर्ने सोच बनाउन सकिरहेको हुँदैन । आफ्नो यही कमजोरीलाई आफ्नो भाग्य र देवताको कुरता भनेर जीवन ढकेलिरहेको हुन्छ । यही नै मानिसको गन्तव्य बनेकाले आजको मानिस स्रसहाय, कमजोर, परावलम्बी बन्न गएको हो ।

मानिस यस्तो दुःखद् यात्राबाट मुक्त हुन सक्ने सहज र सरल उपाय आफैभित्र हुन्छ । त्यसको सही रुपमा उपयोग हुन र गर्न सक्नुपर्दछ । मानिसले आफ्नो जीवनको धर्म र कर्मलाई भुत, भविष्य र वर्तमानमा विभक्त गरेर गर्ने गरेको हुन्छ । मानिसको जीवनको भूत, भविष्य, वर्तमानका सबै कुरा मानिसको जीवनको अस्थिरता सँग जोडिएको हुन्छ । कुनै पनि मानिस अजर र अमर हुँदैन । जाने कुनबेला हो त्यो पनि थाहा हुँदैन । त्यसैगरी मानिसको भूत, भविष्य, वर्तमानको पनि देख्न पाइने हो वा होइन त्यो पनि थाहा हुँदैन । जो कुरा अनिश्चित हुन्छ । त्यसैक पछि मानिस लाग्यो भने जो दुःखद् अवस्था र व्यवस्था देख्न र भोग्नु पर्दछ । त्यो उसैको अन्तरनिहीत उर्जाले दिएको प्रतिफल हो ।

जो मानिसले भूत भविष्यको कुरा गर्ने, त्यसैबारे बढी सोच्ने, आवश्यकताभन्दा बढी संचय गर्ने, अरुका र आफ्ना दुःखका कुरा गर्ने, गराउने मानिसहरु नै बढी दुखी असन्तुष्ठ, रिसाहा, अर्काको डाहा गर्ने, यस्तै कुरा गर्ने र गराएर सन्तुष्ठ हुने मानिस न कहिले आफू सन्तुष्ठ हुन सक्छ, न अरुलाई खुसी राजी भएको देख्न सक्छ । यस्तै मानिसहरु बढी बोल्ने, अरुलाई बोल्ने, अवसर नदिने, आफ्नो अस्तित्व र महत्व देखाउन भरपाइका कुरा गर्ने स्वभावले गर्दा आफ्नो जति सम्पन्न भए पनि विपन्न देखिएका हुन्छन् । त्यसैले मानिसलाई मानिस भएर सुखी र खुसी भएर बस्न वर्तमानमा नै आफूलाई अतिरञ्जित गराउनु सक्नुपर्छ । जो छ त्यसैमा सन्तुष्ठ भएर उन्नती र प्रगतिको बाटो समाउने मानिस नै इतिहासको पानामा सदा जीवित रहिरहन्छ । मानिस सुखी बन्ने कि दुःखी बन्ने भन्ने कुरा मान्छेको आफ्नै हातमा हुन्छ । आफ्नो भाग्य आफैले लेख्ने हो अरु कसैले लेखिदिन्न ।

यो संसारमा मानिस दुःखी अशान्त र पीडित हुनुको कारण भुतकालमा आफूले पाएका दुःखकष्ट । आशान्तिका कुरालाई विषयवस्तुलाई प्रमुखता दिएर सोच, चिन्तन र मनन गर्ने, भदै न भएको भविष्यको परिकल्पना गर्ने र भविष्यको लागि भनेर समूह गर्ने प्रवृत्ति र प्रकृतिको मानिसको जीवन अथुकपुथुक बनाइदिएको हुन्छ । यो जीवनकोन तितो सत्य हो । संसारमा आउने मानिस रित्तै आउँछ, रित्तै जान्छ । उसको साथमा जाने त उसले गरेको धर्म र कर्म मात्र जाने गर्दछ । यो तितो सत्य जानेर बुझेर पनि त्यही वस्तुको पछि लाग्दा चिन्ता बढ्दछ । भोक लाग्दैन, निद लाग्दैन, मन अशान्त र अस्वस्थ भएर शरीरलाई पनि रोगले लछार्न लागेको देखिन्छ । यसरी स्वस्थ जीवनको लागि नगर्ने काममा नै लिप्त हुन्छ भने उसको लागि रामराम बाहेक अरु के भन्न सकिन्छ ।

आफ्नै गाउँघर वरपर भेट्ने हो भने सहजरुपमा देख्न सकिन्छ । ज्यादा जसो मानिसहरु भूतकालमा आफूले भनेका, सहेका, अनुभव र अनुभूति गरेका कुराहरु सोचेर पीडित भएर मेरा सन्तानलाई यस्तो दुःख पीडा भोग्न नपरोस् भनेर भविष्यका नाना बुनेर बस्ने गरेको हुन्छ । तर, आफ्नो बारेमा सोच्ने फुर्सद उसलाई कहिले हुँदैन । उसको धेरै समय बाबुआमाको काख र संरक्षणमा बिताउँछ । त्यसपछि विवाह गर्दछ । जिम्मेवारी थपिन्छ, त्यसबेला उसको सामु बाबुआमा दम्पत्ति, सन्तती र सम्पत्तिको तिर्खाले सताउन थाल्दछ । अनि उसको दृष्टिबाट बाबुआमाको प्रतिको सोच र चिन्ता हराए झै उसको आफ्ना चिन्ता पनि हराएको हुन्छ । जन्म दिने र कर्म दिने बाबुआमा पनि बोझ बन्न थाल्दछन् ।

वृद्धाश्रममा आश्रित हुनु पर्ने अवस्था हुन्छ । जब आफू बुढो हुन्छ र परिवारको लागि बोझ बनेको अनुभूति गर्दछ । अनि मात्र उसलाई अनुभूति हुन्छ कि धिक्कार हो मेरो जीवन मैले भूत र भविष्यको बारेमा बसेर अरुको बारेमा त सोचे तर आफ्नो वर्तमानको बारेमा केही सोचेन । त्यसैले आज यो जीवनको उत्तरार्धमा उपेक्षित, अपहेलित भएर बस्नु प¥यो भनेर पछुताएको हुन्छ । दुरावस्थामा पु्ग्दासम्म पनि उसले अरुलाई दोष नदिएर आफ्नै भाग्यले दिएको प्रतिफल मानेर बस्दछ । तर, उसले मेरो धर्म र कर्मको प्रतिफल हो भन्ने कुरा मान्दैन । जसले जस्तो कर्म गर्छ उसले त्यस्तै फल भोग्दछ भन्ने कुरा बिर्सनु हुँदैन ।

मानिसलाई कुनै मनठमन्दिरमा जानु पनि पर्दैन । तीर्थ, ब्रत बस्नु पनि पर्दैन । मन शुद्ध, तन शुद्ध, खानपान शुद्ध, व्यवहार शुद्ध, सबैको हित गर्ने, कसैको अहित नगर्ने, मिठो बोली बचन गर्ने, कसैको पनि गलत बोली विचार, व्यवहारको कुरा नगर्ने, गरे आफैमा फर्किने गर्दछ । यसको अनुशरण गर्ने मानिसको लागि कुनै कुरा पनि असम्भव हुँदैन भने गीताले भन्दछ । त्यसैले मानिसले भूत, भविष्यभन्दा वर्तमानलाई सोच्न थाल्यौ भने मानिस सुरक्षित हुने मात्र हैन, अपहेलित र अपमानित पनि हुनु पर्दैन । हामीलाई दुःखकष्ट अशान्ति दिने हाम्रो सोच र चिन्तन नै हो ।