दाङ, ११जेठ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा बिरामीको चाप अत्यधिक बढेको छ। सोमबार मात्रै प्रतिष्ठानमा १ हजार २ सय ७ जना बिरामीले विभिन्न विभागबाट उपचार सेवा लिएका छन्। भौतिक पूर्वाधारको अभावकाबीच सीमित स्रोत–साधन प्रयोग गरेर प्रतिष्ठानले सेवा प्रवाह गरिरहेको जनाएको छ।
प्रतिष्ठानमा ४ सय बेडको नयाँ भवन निर्माण प्रक्रिया अझै सुरु हुन नसक्दा सेवा प्रवाहमा थप समस्या देखिएको छ। यसअघि राष्ट्रिय योजना आयोगमार्फत योजना अघि बढाइएको जानकारी सार्वजनिक भएपनि अर्थ मन्त्रालयबाट बहुवर्षीय बजेटको स्रोत सुनिश्चितताको प्रक्रिया भने टुंगोमा पुगेको छैन। शनिबार र आइतबारको सार्वजनिक बिदापछि सोमबार बिरामीको चाप अत्यधिक बढेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानले शुक्रबार पूर्ण कार्यालय समय लागू गरिसकेको छ भने संघीय सरकारको निर्णयअनुसार शनिबार र आइतबार बिदा दिने व्यवस्था लागू गरेको छ।
सोमबार उपचार सेवा लिने बिरामीमध्ये ओपिडीमा १ हजार ८७ जना, आकस्मिक कक्ष (इमर्जेन्सी) मा ६६ जना तथा भर्ना भएका बिरामीको संख्या ५४ रहेको छ। इमर्जेन्सी सेवामा आएका बिरामीमध्ये ३२ जना पुरुष र ३४ जना महिला रहेका छन्। त्यसैगरी, ओपिडी सेवामा ३८० जना पुरुष तथा ७०७ जना महिला बिरामीले सेवा लिएका छन्। स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पनि सोमबार ३९३ जना बिरामीले सेवा प्राप्त गरेका छन्।