शान्तिनगरमा बिउ उपचार शिविर, रोगको उपचार ‘मोहनी पासो’

आरके शीतल
दाङ, ११ जेठ । करेसाबारीमा लगाएका तरकारी बाली सुक्न थालेपछि शान्तिनगर गाउँपालिका–५ कासीपुरकी पुतली चौधरी चिन्तित थिइन् । उनले रोपेको बोडीको झाल सुक्दै गएको थियो भने भिन्डीका बोटसमेत ओइलिन थालेका थिए । आफूले जानेका घरेलु उपाय अपनाउँदा पनि समस्या समाधान नभएपछि उनी सुक्दै गएको बोडी, भिन्डीको बोट र लौकाको फल बोकेर गाउँमै सञ्चालन गरिएको बाली उपचार शिविरमा पुगिन् ।

शिविरमा कृषि विज्ञको टोलीले उनले ल्याएका बालीको परीक्षण गर्दा बोडीमा भाइरस तथा ढुसी सङ्क्रमण, भिन्डीमा थोप्ले रोग र फड्के किराको समस्या तथा लौकाको फल कुहिने समस्या देखिएको पत्ता लाग्यो । कृषि विज्ञले फड्के र लाही जस्ता चुसाहा किरा नियन्त्रणका लागि पहेँलो पासो प्रयोग गर्न सुझाव दिए । समाधानको उपाय पाएपछि पुतली आशावादी हुँदै घर फर्किइन् । शान्तिनगर–५ कै चिजमानी चौधरी पनि गोलभेडा, बोडी, लौका र खुर्सानीका नमुना लिएर शिविरमा सहभागी भइन् ।

परीक्षणका क्रममा गोलभेडामा टुटाले पात खाने समस्या, लौका, करेला र फर्सीमा फल कुहाउने औँसा, बोडीमा गबारो तथा खुर्सानीमा लाही र जरा कुहिने समस्या देखिएको थियो । कृषि विज्ञहरूले लहरे तरकारीमा लाग्ने औँसा नियन्त्रणका लागि क्यूल्पुर पासो, टुटाल्युर, बत्ती पासो तथा निमजन्य जैविक विषादी प्रयोग गर्न सुझाव दिएका थिए । यसैगरी शान्तिनगर गाउँपालिका–४ गिधिनियाकी लबर्नी चौधरी पनि गाउँमै बाली उपचार शिविर सञ्चालन हुने खबरले उत्साहित थिइन् । उनले लौका, करेला, भिन्डी, मकै र फर्सीका बोट तथा फल बोकेर शिविरमा ल्याएकी थिइन् । कृषि विज्ञहरूसँगको परामर्शपछि उनले विभिन्न मोहनी पासो तथा घरमै तयार गर्न सकिने निमजन्य जैविक विषादी प्रयोगबारे जानकारी लिएपछि कृषि व्यवसायमा अपनाउन पनि थालेकी छिन ।

पुतली, चिजमानी र लबर्नी जस्तै धेरै किसानले गाउँमै कृषि सेवा पाएपछि आफ्नो बालीमा देखिएका समस्या समाधान गर्न सहज भएको बताएका छन् । हेफर इन्टरनेसनल नेपाल, शान्तिनगर गाउँपालिका र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको सहकार्यमा सञ्चालित ‘भिटा परियोजना’ अन्तर्गत गाउँपालिकाका विभिन्न स्थानमा बाली उपचार शिविर सञ्चालन गरिएको हो । शुक्रवार र शनिवार सञ्चालन गरिएको शिविरमा किसानले किरा लागेको, सुकेको तथा रोगग्रस्त तरकारीका बोट, फल र फूल बोकेर सहभागी भएका थिए ।

कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना अन्तर्गत आयोजना गरिएको शिविरमा शान्तिनगर गाउँपालिका वडा नं. ४, ५, ६ र ७ का सय बढी किसानको सहभागिता रहेको थियो । शिविरमा हेफर प्रोजेक्ट नेपालका कृषि विज्ञ विक्रम भट्ट, शान्तिनगर गाउँपालिका कृषि शाखा प्रमुख सुप्रभा भण्डारी, कृषि प्राविधिक केशव केसी, कृषि प्राविधिक मानबहादुर रानालगायतले बाली परीक्षण तथा उपचारसम्बन्धी अभिमुखीकरण गरेका थिए । त्यस अवसरमा मोहनी पासो र जैविक विषादी तयारीबारे प्रयोगात्मक विधिद्वारा किसानलाई सिकाइएको थियो ।

कार्यक्रममा सहभागी शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले गाउँपालिकाले कृषि क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै विषादीको प्रयोग कम गरी सुरक्षित तथा उत्पादनमुखी खेतीतर्फ किसानलाई प्रोत्साहित गरिएको जानकारी दिए । उनले कृषिसम्बन्धी जानकारी, अनुदान तथा बाली उपचारका विषयमा गाउँपालिका गम्भीर रहेको बताए । गाउँपालिका उपाध्यक्ष प्रेमा बुढाथोकीले बालीमा लाग्ने रोगको समयमै उपचार, घरेलु उपायको सही प्रयोग तथा मानव स्वास्थ्यमा असर नगर्ने गरी उत्पादन गर्न किसान सचेत हुनु पर्नेमा जोड दिएकी थिइन् । किसानका माग अनुसार बाली उपचार शिविर सञ्चालन गरिएको परियोजनाका प्रमुख यादव चौधरीले जानकारी दिए । किसानले बालीमा देखिएका समस्या समाधानका लागि माग गरेपछि कृषि उत्पादन बढी हुने चार वटा वडालाई समेटेर शिविर सञ्चालन गरिएको बताए ।

परियोजनाका फोकल पर्सन नमराज अधिकारीका अनुसार परियोजना अन्तर्गत कृषि, पशु तथा माटो परीक्षणसम्बन्धी शिविरहरू सञ्चालन भइरहेका छन् । शिविर हेफर प्रोजेक्ट नेपालका कृषि विज्ञ भट्टले किसानको नमुना जाँच गर्दा किराहरूको आक्रमण र ढुसीजन्य रोगको प्रकोप देखिएको बताए । उनले किसानले मनपरी औषधी खरिद गरेर प्रयोग गर्ने समस्या रहेको बताउँदै शिविरले किसानको बालीको सङ्क्रमणबारे जानकार हुनुका साथै जैविक विषादी प्रयोग गर्न प्रोत्साहित गरेको बताए ।

उनले शिविरबाट तथ्यपत्रको माध्यमबाट रिपोर्ट तयार गरेर पालिकामा रिपोर्ट पेस गर्ने बताए । प्राङ्गारिक कृषि खेती गर्न नसके तापनि एकीकृत शत्रु जीव व्यवस्थापनसम्बन्धी विधि अवलम्बन गर्न सके मात्र किसानको कृषि समस्या कम हुने उनले बताए । उनले किसानलाई जैविक विषादी प्रयोग गर्न र अन्तिम अस्त्रको रूपमा मात्र रासायनिक विषादी प्रयोग गर्नु पर्ने सुझाव दिएका थिए ।