खेमराज रिजाल
दाङ, ११ जेठ । तुलसीपुर–१७ झिँगैकी चमेली रिजाल घरको छतमा झुल टाँगेर सुत्न थालेको तीन दिन भयो । एकाबिहानै उठेर डेरीमा पुगी दुध ल्याएर फर्कँदा पनि उनी पसिनैपसिना थिइन् । ‘कस्तो उम्सो छ, बिहानीपख देखिने बादलले झुक्याई मात्रै रहन्छ, पानी नपर्दा दैनिकी चलाउनै गाह्रो भो’, चमेलीले भनिन् । त्यसैमाथि अस्वाभाविक रूपमा विद्युत अनियमित भइरहँदा झनै समस्या परेको उनको अनुभव छ ।
घोराही–तुलसीपुर सडकखण्डमा पर्ने दुधरासको लक्ष्मी चिया पसल अहिले सुनसान देखिन्छ । चियाका पारखीहरूको भिड लाग्ने सो चिया पसलमा अहिले आधा ग्राहक घटेको पसल सञ्चालिका शान्ति खड्काले बताइन् । ‘उकसुमकुस गर्मी, त्यसैमाथि चारलेनको धुलोले व्यवसाय नै प्रभावित भयो, मुस्किलले आधा जति ग्राहकलाई मात्र सेवा दिन पाएका छौँ’, शान्तिले गोरक्षलाई भनिन् । मानौँ उनी अहिले अरू कसैसँग होइन प्रकृतिसँग रिसाइरहेकी छिन् ।
गर्मीले नागरिकको जनजीवन मात्र प्रभावित भएको छैन, सिजनल सङ्क्रमणसमेत बढिरहेको स्वास्थ्य संस्थाहरूले बताएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुर राप्ती प्रादेशिक अस्पतालमा गर्मीका कारण हुने सङ्क्रमणका बिरामी बढिरहेको ती अस्पतालले बताएका छन् । निजी स्वास्थ्य संस्थाहरूमा पनि गर्मीका कारण हुने सङ्क्रमण बढिरहेको चिकित्सकले बताएका छन् । भर्मीसँगै स्क्रव टाइफसका बिरामी बढेको तुलसी बाल अस्पतालका सञ्चालक तथा बाल रोग विशेषज्ञ किशोर खत्रीले बताए । गर्मी बढेसँगै अहिले बालबालिका तथा वृद्धवृद्धाहरूमा भुसुनाका कारण स्क्रव टाइफसको सङ्क्रमण बढिरहेको उनले बताए । अहिले हरेक बस्ती तथा बजार र कार्यालयमा मानिसका आँखा अघिल्तिर थुप्रै भुसुना भुन्भुनाउने गरेका छन् । यसलाई चिकित्सकहरूले गर्मीको प्रभाव भनेका छन् ।
केही दिन यता बढेको चर्को गर्मीका कारण चौतर्फी रूपमा जनजीवन प्रभावित भएको छ । बजारका पसलमा व्यावसायिक कारोबार अत्यन्तै कम भएको व्यवसायीले बताएका छन् । गर्मी यसरी नै बढ्दै गए यहाँ तातो हावा चल्न सक्ने सम्भावना नजिक रहेको मौसमविदले बताएका छन् । चर्को गर्मीको प्रभाव यातायात क्षेत्रमा पनि देखिएको छ । सार्वजनिक सवारीसाधन खाली खाली गुडिरहेका छन् । ‘अत्यावश्यक कामबाहेक नागरिकले यात्रा गर्न छाडेको हामीले पाएका छौँ’, त्रिसिद्धेश्वरी राप्ती सार्वजनिक यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले भने ।
यातायात व्यवसायीका अनुसार चारलेन सडक निर्माणका क्रममा सडक किनाराका रुखहरू काटिएका तथा यात्रु प्रतीक्षालयसमेत भत्काइएका कारण पछिल्लो साता यात्रुहरूलाई गाडी कुर्नै समस्या देखिएको छ । अहिले बस कुर्नेहरू सडक किनारामा होइन, अलि परै शीतलमा कुरिरहेका देखिन्छन्’, एकजना बस परिचालकले भने । चर्को गर्मीसँगै लामो खडेरीका कारण खानेपानीको समस्या पनि विकराल बन्न थालेको पानी उपभोक्ता संस्थाले बताएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–१८ दुधरासस्थित जुरपनिया मैनातारा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ गठन भएको कार्यसमितिको पहिलो बैठकले नै ट्याङ्करबाट उपभोक्तालाई पानी पु¥याउने निर्णय गरेको छ । ‘मुहान सुक्दै गए, डिपबोरिङ पनि सफल भएको छैन, त्यसैले यी खडेरीका दुई महिना जति ट्याङ्करबाट पानी बोकेर उपभोक्तालाई खुवाउने पहिलो निर्णय गरेका हौँ’, नवनिर्वाचित समितिका सचिव दामोदर बस्नेत (राकेश)ले गोरक्षलाई भने ।
खानेपानीका पुराना मुहानहरू मात्र होइन, इनारमा पनि पानी सुक्न थालेको छ । त्यसैले खानेपानीको माग अत्यधिक बढ्न थालेको छर्छरे खानेपानी उपभोक्ता संस्थाका कोषाध्यक्ष शङ्कर नेपालीले भने । दिनभरि पानी उपलब्ध गराउने छर्छरेले पानी वितरणको तालिकामा केही कटौती गरेको छ । त्यसरी नै जिल्लाभरका संस्थाहरूले खानेपानी वितरणको व्यवस्थापन समय कटौती गरेर गर्न थालेका छन् । अहिले सडकमा खानेपानी ढुवानीका ट्याङ्कर छ्याप्छ्याप्ती देखिन थालेका छन् ।
यसैगरी प्रचण्ड गर्मीको प्रभाव शिक्षा क्षेत्रमा पनि देखिन सक्ने छ । गर्मी बढ्दै गएमा सोमवार पछि स्थानीय सरकारले निर्णय गरेर केही दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गर्ने मनस्थितिमा रहेका छन् । ‘भोलिसम्मको अवस्था हेरौँ, कस्तो हुन्छ, सबै पालिकाले सल्लाह गरेर गर्मी अति नै वृद्धि हुने देखिएमा केही दिनका लागि विद्यालय बन्द गर्नु पर्ने हुन्छ’, लमही नगरपालिका प्रमुख जोगराज चौधरीले गोरक्षलाई बताए । अन्य पालिकाहरू पनि सोमवार मात्रै खुल्ने भएकाले कार्यालय खोलेपछि मात्र यो विषयमा निर्णय हुने शिक्षा शाखा प्रमुखले बताएका छन् ।
पछिल्लो समयमा दाङ सुख्खा मरुभूमीकरणतर्फ उन्मुख बन्दै गएको छ । हरियाली क्षेत्रमा कमी आउनुका साथै उत्तरी महाभारत शृङ्खलामा रहेका पानीका स्रोत चुनढुङ्गा उत्खनन् बढेपछि पानी सङ्कट चुलिन थालेको वातावरणविदले बताएका छन् । चुनढुङ्गा पानीको रिचार्ज गर्ने मुख्य स्रोत हो । यसैगरी रिचार्ज कमजोर हुँदै गर्दा जमिन मुनिको पानीको सतह दिनदिनै तल भासिँदै गएको छ ।
‘दश वर्षलाई अनुमान गरेको डिपबोरिङ तीन वर्षमै सुक्न थालेका छन्’, पानी व्यवसायी तथा गौतम वाटर सप्लायर्सका सञ्चालक राजिव गौतमले भने । यो क्रममा सुधार भएन भने चाँडै नै दाङमा पानी सङ्कटको अवस्था झेल्नु पर्ने छ । मौसम पूर्वानुमान शाखाका अनुसार पछिल्लो दुई दिन यता दाङको अधिक्तम तापक्रम ३६ डिग्री सेल्सियस माथि छ । गर्मी बढ्दै गएमा केही दिनमै तापक्रम ४० डिग्रीसम्म पुग्न सक्ने अनुमान मौसमविद्ले गरेका छन् । मौसमविद्का अनुसार आगामी एक सातासम्म यहाँ पानी पर्ने विश्वासीले आधार देखिएको छैन ।