भुपेन्द्र सुवेदी
विगतको नेपालको राजनीतिक अवस्थाको राम्रो–नराम्रो दुवै पक्षको खोजबिन गर्ने कर्तव्य आजको सरकारमा जो आउँछ, उसैको हुन्छ तर ‘म र मेरो अधिकारभित्र परेको छ’ भन्दैमा राजनीतिक अराजक मण्डेयता देखाउँदाको परिणाम आजको अवस्था अगाडि आएको छ । समस्यालाई लिएर काम गरियो भने मात्र सफल होला, अन्यथा कामको परिणाम उस्तै हुन सक्छ ।
विश्वले आज नेपालका राजनीतिक दललाई कुन दृष्टिले हेरेको छ ? भविष्यमा नेपालका यी हालका अग्रगामी छलाङ मार्ने गफाडी नेतालाई कुन र कस्तो श्रेणीमा राखेका छन् त ? आफ्नो अस्तित्वको समेत वास्ता नराख्ने नेताले कसरी राष्ट्र र राष्ट्रियताको अस्तित्व बचाउन सक्लान् ? आजको नेपाललाई हेर्ने विश्वको दृष्टिकोण के रहेछ त ?
देशको गृह प्रशासन, न्याय प्रशासन, आर्थिक प्रशासन र राष्ट्रिय सुरक्षा प्रशासन चलाउने नै भ्रष्टाचारीको सूचीमा सूचीकृत हुनु भनेको नेपाल र नेपाली जनताको राष्ट्रिय अखण्डता, सार्वभौम सम्पन्नताको बखान गरेर नथाक्ने २०४७ देखि आजसम्म निर्वाचित नेता तथा गृह प्रशासनमा रजाइँ गर्न पुगेका कुनै पनि गृहमन्त्री सच्चा र चोखा रहेनन् भन्ने हो कि ? अझभन्दा अन्य अर्थ नलागोस्, २०७२ को संविधानको परिपालन त भएकै छैन । साधारण वडा अध्यक्षसहितको सेटिङमा आ–आफ्नो गाउँपालिका, नगरपालिकामा डोजर आतंकको भिडले भ्रष्टाचारीको बेरुजुको सूची आज असुल गर्न सकेको अवस्था छैन, किन ? स्वयम् जसले असुल गर्ने हो, उही नै भ्रष्ट छ भने कसले पत्याओस् बेरुजु असुल होस् नेपालमा ? अझ बत्ती आउँदैन ।
बिजुलीको तार आएको दुई–तीन वर्ष भयो, बत्ती बलेको छैन । सडक आएको छ तर हिउँदमा डोजरका ठेकेदारको मनोमानीमा बायो इन्जिनियरिङ बिना सडकका नामले परिचित नेपालको धेरै भू–भागमा वर्षातमा बाढी, पहिरो, डुबान, खानेपानीका मुहान समेत बन्द भएका छन् । वन्यजन्तु, घरपालुवा जनावर समेतका पानीघाट सुकेर चरिचरणको स्थान समेत नष्ट भएको छ । यो पनि मानिसमाथि मात्र नभएर अन्य जीवन र जगतमा समेत भ्रष्टाचार हुँदै आएको छ ।
नेपालमा जति विदेशीहरुसँग सहयोग प्राप्त हुँदै आएको छ, ७५ प्रतिशत सरकारी सेवा र सुविधा, सरकारमा रहेका स्थानीय नेता, प्रदेशस्तरीय नेता, सङ्घीय स्तरका नेता–मन्त्रीगण र उनका आसेपासेको भरणपोषणमा खर्च भएको हुन्छ । के यो भ्रष्टाचार हो कि होइन? बाँकी २५ प्रतिशत मात्र विकास निर्माणमा लगाइएको देखिन्छ । त्यो पनि जब–जब असार मसान्त आइपुग्छ, तब वर्षे विकासको सुरुवात हुन्छ । सबै एकै महिनामा बगेर जान्छ, फेरि त्यसको मर्मतका नाममा बजेट छुट्याइन्छ ।
के यो भ्रष्टाचार नेपाली जनताले गरेका हुन् कि नेताहरुले ? तर आजका नेताहरुमा ‘यो मेरो पालामा भएको’ भन्दै, आज प्रतिपक्षले आफ्नो कार्यकालमा भएको कामको जनता सामु भाषणबाजीमा सधैं घोचपेच र तथानाम गाली गर्दै एकअर्का पार्टी र पार्टीका नेताको खोइरो खन्ने काम बाहेक यो ३६ वर्षे कार्यकालमा अरु सफलता पाएको र जनताको मनमा घुस्ने सफल कार्यकर्ता आजसम्म कोही पनि ‘इमानदार नेता यही हो’ भन्ने लायकको छैनन् भन्दा फरक नपर्ला ।
तर यसो भन्दा कुनै नेताजीलाई अन्यथा लाग्न सक्छ । २०४८–४९ सालतिर दाङमा मात्र नभई नेपालको पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी जिल्लाहरुमा स्वर्गीय खुमबहादुर खड्का यातायातमन्त्री हुँदा गाउँ–गाउँमा पुग्न नसकेको सडकको सुरुवात गरेकै हुन् तर कहाँ–कति सम्पन्न भयो, त्यो स्थानीय सडक डिभिजनको आँकडामा होला तर उसैलाई फेरि भ्रष्टाचारको मुद्दा खेप्न बाध्य भएर गृहमन्त्री जस्तो गरिमामय पदको समेत इज्जत जोगाउन सकेनन्, कसको कारण ?
यो बिचको ३३–३४ वर्षे कार्यकालमा कति सरकार बने, कति सरकार फेरिए, तर जनताले बहुमतमा पु¥याएको चाहे नेपाली कांग्रेस होस्, चाहे नेकपा एमाले होस्, चाहे माओवादी वा अन्य पार्टीहरुको सहकार्यमा बनेको सरकार होस्, तर यो अवधिमा कसैले आफूलाई जनताले पाँच वर्षका लागि दिएको म्यान्डेट पूरा गरेको अवस्था छैन । यो सरासर जनताको मतको अपमान हुँदै आएको संसारका नागरिकलाई समेत जानकारी भइसकेको छ । अझ नागरिकको सामु आज निराश लाग्दो र घिनलाग्दो राजनीतिक व्यवहारिक कुरा गर्दा, हिजो जिन्दगीभर आफ्नो विचार बोकेर आ–आफ्नो पार्टीमा रहेर काम गर्दै आएका नेता आज चार पार्टीको संयुक्त मोर्चा गठन गरेका छौँ भन्दै आफ्नो असफलताको पराकाष्ठा बाहिर ल्याएका छन् । योभन्दा गलत केही हुनै सक्दैन ।
यो अवधिमा खाली नेताहरु कसरी, कुन जुगाडले आफू मात्र र आफ्नो पार्टी सरकारमा रहिरहन पाउने भन्ने खेलमा सबै पार्टीका नेताको ध्यान रह्यो । तर, राष्ट्र, राष्ट्रियता, देशको विकास, जनताको समस्या, किसानको समस्या, देशको आजको बाह्य आयातको कारण देश सङ्कटग्रस्त स्थितिमा पुग्दासम्म नेपालको कृषिजन्य उत्पादन क्षेत्रको जमिनको खण्डीकरण, खाद्यान्नको अभाव, विगतमा नेपाल आफैँ आत्मनिर्भर थियो ।
हामीलाई पुगेर हाम्रा धान, गहुँ, तोरी, दालजन्य वस्तु, नेपालमा उत्पादन हुने जडीबुटी, गाई–भैंसीको घिउ र तोरीको तेल, वन–जंगलबाट प्राप्त हुने चिउरीको घिउजस्ता हाम्रा महङ्खवपूर्ण खाद्य सामान यहाँबाट बाहिर निर्यात गरिन्थ्यो तर यसतर्फ यो ३६ वर्षे कार्यकालबाट जनताले के पाए त भन्नेमा सबैका लागि प्रश्नको खात लागेको छ ।
यहाँ भएका विभिन्न उद्योग, कलकारखाना आ–आफ्नो स्वार्थका लागि निजीकरण गरी बेचिएका छन् र केही उद्योग बेवारिसे अवस्थामा पुगेका छन् । यस्ता उद्योगले निरन्तरता पाएको भए लाखौँ युवाहरुले स्वदेशकै उन्नति गर्ने थिए । तर, आज खाली नेताहरुले एकआपसमा गालीगलौज, पार्टी–पार्टीबिचको अन्तद्र्वन्द्व, पार्टीका समर्थक कार्यकर्ताबिच मारपिट, हत्या, हिंसा, बलात्कारजस्ता गतिविधिलाई मात्र प्रश्रय पाएका छन् । के प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आयो भन्दैमा मानिस एकअर्कालाई गालीगलौज गर्ने, नेताको पछि लागेर हिजो एक ठाउँमा मिलेका र बसेका हामी नेपाली दाजुभाइहरुलाई कित्ता–कित्तामा विभाजित गराएर आफ्नो स्वार्थ सिद्ध गर्ने परिपाटीले के सबैको पेट भरिएला ?
भन्न पाए भन्दैमा तथानाम एकआपसमा जीवनभर नभुल्ने शब्द उच्चारण गरेर जनता सामु आफैँहरु नांगिएका छन्, तर उनीहरुलाई आज मैले को–कसलाई के–के भने भन्ने चेतना समेत छैन । बिहानभरसँगै हिँडेर भन्छन् ‘जेल–नेल प¥यो, घर–द्वार छाडियो’ र सँगै एउटै राजनीतिक मूलधारका नेता आज एकआपसमा फुटेर धुजा–धुजा परेको अवस्था छ । मैले जानेसम्म २०३२–०३३ सालसम्म नेपालमा संगठित भूमिगत रुपमा रहेका नेपाली कांग्रेस र नेकपा कम्युनिष्ट पार्टीले परिचित सम्मान र इज्जत कमाएका यी दुई पार्टी मात्र थिए । आज किन, कसरी र के–का लागि यति धेरै टुक्रा–टुक्रा भएका होलान् ?
नेपालमा कम्युनिष्ट पार्टीका गुरु भनेर पहिचान बनाएका प्युठानी भएकै नाताले परिचित मोहनविक्रम सिंह, मोहन वैद्य, दाङका स्वर्गीय नेत्रलाल अभागीलगायत नेपालभर रहेका नेताहरुले आजको राजनीतिक अवस्था किन बुझेर पनि नबुझेझैँ भान गर्छन् होला ? नेपालमा अग्रगामी छलाङ मार्ने, देशको विकास गर्ने, सर्वहाराको नेताको नामले पहिचान बनाएको माओवादीका क्रान्तिकारी नेताले देशका ९० वटा बैंक लुटे, देशका १८–२० हजार नागरिकको हत्या गरे, देशका ७७ जिल्लामा अवस्थित स्थानीय तत्कालीन गाविस र अन्य सरकारी भवन ध्वस्त पारे । आखिर फर्केर उही संसदीय व्यवस्थाको पुच्छर समात्नु थियो भने किन यति धेरै गर्नु परेको हो ?
अब त सबैले सम्झिनै पर्ने विषय बन्ला जस्तो छ । नेपालको शिक्षा क्षेत्रमा ह्रास आउनु भनेको सिंगो मुलुककै शिक्षामा भएका कमी–कमजोरीको परिणामले आजको अवस्था आएको हो । शिक्षा भनेको अर्थ, संस्कृति र नेपालीले पालन गर्नुपर्ने संस्कार छोड्नु, आफ्नै छोरा–नातिले आमा–बुबाको मान–सम्मानको महङ्खव दिन छाड्नु, छोराले बाबु–बाजेको खुट्टा छुन हुँदैन भन्ने संस्कार भित्राउने शिक्षाको परिणाम आउँदै छ । हिजोको पुरानो संस्कारले सधैं पछि फर्काउने सिद्धान्त अपनाउनेहरुको शिक्षाले आज आफ्नै छोराछोरीले आफूलाई बोझ सम्झिरहेका छन् । सबै पुराना संस्कार मेटाएर आज आफ्नो घरको खानपिनको बाबजुद बाहिरबाट आएको प्याकिङजस्ता खानाले आज हाम्रो समाज बच्चादेखि बुढासम्म दीर्घरोगी हुन थाले । आज १० वर्षको बच्चाले चस्मा लगाउनु पर्ने के हो ? यही हो आफ्नो संस्कार र संस्कृति छाडेको उपलब्धि ?
एक साहित्यकारको गुनासो, साहित्यकारको मौनता तोड्दै भनेका छन्– ‘यिनै थिए, यिनै आउने हुन् । तपाईँ–हामीहरुको र राष्ट्रको यो हालत बनाउने पनि यिनै हुन् । हामीले बनायौँ भनी भएका संरचना ढालेर भताभुंग पारेर फेरि उही स्थानमा आफूलाई कमिसन चुहाई खान राष्ट्रकै ढुकुटीको सत्यानास भइरहेको छ ।’ राष्ट्रिय अर्थतन्त्रमा बिनाहिसाबका कार्य, बजेट भाषणमा खाली आफूहरुलाई कसरी सहज हुन्छ त्यसरी आयस्रोतभन्दा बाहिर गएर बजेट ल्याउने, नेपालका युवा–युवतीहरुले पाएका कष्ट, त्यहीबाट पठाएको रेमिट्यान्सले नेता मस्त छन् ।
त्यसैको स्वादमा नेताका कार्यकर्ताहरुलाई आफ्नै वरिपरि घुमाउने साँचोले ‘भ्यूटावरलाई किन तीन अर्ब, मन्दिरलाई एक अर्ब, जनतालाई साउदी अरब ?’ कस्तो नेपालको गणतन्त्र हो ? खाली आफू मात्र सधैं मालिक हुन पाए भयो कि ? यस्तो किन भएको हो ? भन्दा–भन्दा नथाकेका नेता आज आपसमै पोल खोलाखोल गर्दैछन् । वामदेवले भन्दै थिए – ‘केपी ओलीले कालीगण्डकी बेचेर नौ अर्ब खाएको प्रत्यक्ष साक्षी म आफैँ छु’ भन्नेसम्म बाबुराम भट्टराईले भन्न भ्याएका छन् । अब कस्तो र कसको पोल कसले खोल्दैछन् ? कुर्सी नपाएर बौलाएकाहरुलाई अब त्यो कुर्सीमा भुलेर पनि अबका युवाहरुले, आजका भ्रष्टाचारीको सूचीमा रहेका र भ्रष्टाचारलाई जोगाउन लागेकाहरुलाई जान दिने होइन । अबको पालो भनेकै युवाको हो । प्रत्येक निर्वाचनमा अरुलाई अघि आउनै नदिने व्यवस्थाको अन्त्य हुनुपर्छ ।