गोरक्ष समाचारदाता
दाङ, १० जेठ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनाको अवधिमा एक सय बढीको मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको छ । प्रतिष्ठानको तथ्याङ्क अनुसार वैशाख १ देखि ३१ गतेसम्मको अवधिमा युरोलोजी विभागबाट एक सय १३ जना बिरामीको मृगौलाको पत्थरीको सफल शल्यक्रिया गरिएको हो ।
सोही अवधिमा युरोलोजीतर्फ पाँच सय पाँच जना बिरामीले ओपिडी सेवा लिएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ । युरोलोजी सेवा अन्तर्गत भर्ना गरेर ६१ जना बिरामीको उपचार गरिएको छ । प्रतिष्ठानमा युरोलोजिस्ट सर्जन डा. सुशील खनियाँ नेतृत्वको चिकित्सक, नर्स, स्वास्थ्यकर्मीसहितको टोलीले सानादेखि ठुला शल्यक्रिया नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।
प्रतिष्ठानले दिएको जानकारी अनुसार युरोलोजी ओपिडी (बाह्य बिरामी विभाग) मार्फत् दैनिक ७० बढी बिरामीले परामर्श तथा उपचार सेवा लिइरहेका छन् । यस अघि जिल्लामा युरोलोजी सेवा नहुँदा सामान्यदेखि विशेषज्ञ उपचारका लागि बिरामीलाई अन्य जिल्लाका अस्पताल जानु पर्ने बाध्यता थियो तर प्रतिष्ठानमा अत्याधुनिक उपकरणसहित यो सेवा विस्तार भएपछि बिरामीलाई सहज भएको छ ।
युरोलोजी सेवा अन्तर्गत पिसाबसम्बन्धी रोग, प्रोस्टेट, मृगौलाको पत्थरी, पित्तथैलीको पत्थरी, पिसाब नलीसम्बन्धी समस्या, अण्डकोषमा मासु पलाउने वा सुन्निने, पिसाब पोल्ने वा चुहिनेलगायतका रोगको उपचार प्रतिष्ठानमा गर्न सकिने युरोलोजिस्ट डा. खनियाँले जानकारी दिए । उनका अनुसार युरोलोजी सेवा लिने बिरामीको सङ्ख्या दैन्दैन्य बढ्दो क्रममा छ ।
प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सहप्राध्यापक डा. सुरेश रसाइलीले युरोलोजी सेवा अत्यन्त प्रभावकारी बनेको बताउँदै स्थानीय स्तरमै विशेषज्ञ उपचार सेवा प्राप्त गर्न पाउँदा बिरामी खुसी भएको बताए । डा. खनियाँ लामो समयदेखि प्रतिष्ठानमा युरोलोजी सेवा प्रदान गर्दै आएका अनुभवी चिकित्सकका रूपमा परिचित छन् ।
युरोलोजीसहित विशिष्टीकृत सेवालाई प्रभावकारी बनाउन प्रतिष्ठानले वीर अस्पताल र त्रिवि शिक्षण अस्पताललगायतसँग सहकार्य सुरु गरिएको जनाएको छ । सेवा विस्तार भए पनि भौतिक पूर्वाधारको अभाव भने अझै चुनौतीपूर्ण रहेको प्रतिष्ठानले जनाएको छ ।