आध्यात्मिक, शैक्षिक र पर्यटकीय प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा
गोरक्ष समाचारदाता
दाङ, १० जेठ । घोराहीमा रहेको मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्रमा नौ करोड बढीको लगानीमा ‘शिवशक्ति भवन’ निर्माण गरिएको छ । घोराही–१५ स्थित मधुवन टोलमा साढे सात कट्ठा जग्गामा नौ करोड पाँच लाख ३८ हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको हो ।
नवनिर्मित तीन तले भवन दुई सय बढी व्यक्तिलाई आवासीय सुविधा तथा पाँच सय क्षमताको बहुउद्देश्यीय सभाहलसहितको रहेको छ । भवनमा ३७ वटा आवासीय कोठा, साना ठुला गरी तीन वटा सभाहल, तीन वटा भण्डार गर्नेलगायतका कोठा रहेको ब्रह्माकुमार शिवलाल महतराले जानकारी दिएका छन् ।
भवन निर्माणका लागि सङ्घीय सरकारबाट चार करोड ४७ लाख, लुम्बिनी प्रदेश सरकार तथा सम्बन्धित कार्यालयबाट एक करोड ५५ लाख ६५ हजार, स्थानीय सरकारबाट ३१ लाख, संस्थाका सदस्य तथा विभिन्न दाताबाट एक करोड १४ लाख ७३ हजार, संस्थाका नाममा दाताद्वारा प्रदान गरिएको जग्गा बिक्रीबाट एक करोड २० लाख र ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको क्षेत्रीय कार्यालयबाट ३७ हजार गरी जम्मा नौ करोड पाँच लाख ३८ हजार रुपैयाँ लगानी भएको ब्रह्मकुमार महतराले बताए ।
शिवशक्ति भवनले दाङलाई आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्नुका साथै सामाजिक सद्भाव, शान्ति र संस्कारयुक्त समाज निर्माणमा दीर्घकालीन योगदान पु¥याउने विश्वास लिइएको छ । विश्वविद्यालयद्वारा सञ्चालित मधुवन आध्यात्मिक पुनर्जागरण केन्द्र परियोजना अन्तर्गत निर्माण गरिएको भवनबाट आध्यात्मिक साधना, मूल्यनिष्ठ शिक्षा, प्रशिक्षण तथा सामाजिक सेवाका गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको ब्रह्माकुमार महतराले बताए ।
उनका अनुसार शिवशक्ति भवनलाई दाङको शैक्षिक, आध्यात्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको छ । २०७६ साल मङ्सिर २१ गते लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलले शिलान्यास गरेको उक्त भवनको जेठ १५ गते लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्रीलगायतका अतिथिहरूद्वारा उद्घाटन हुने कार्यक्रम रहेको छ । उक्त जग्गा घोराही निवासी देवराज पाण्डेले संस्थालाई दान गरेका थिए ।
ब्रह्माकुमारीज राष्ट्रिय दिव्य सम्मेलन हुँदै
शिवशक्ति भवनको उद्घाटनसँगै जेठ १५ देखि २० गतेसम्म ‘ब्रह्माकुमारीज राष्ट्रिय दिव्य सम्मेलन–२०८३’ सञ्चालन हुने भएको छ । सम्मेलनमा लुम्बिनी प्रदेशसँगै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत ४२ जिल्ला तथा अन्तर्राष्ट्रिय मुख्यालय एवम् पूर्वोत्तर भारतको बनारस सबजोन क्षेत्रबाट राजयोग साधक, प्रशिक्षक तथा आध्यात्मिक अभियन्ताहरू सहभागी हुने कार्यक्रम रहेको छ ।
कार्यक्रममा राजयोग साधना, आध्यात्मिक जागरण, प्रशिक्षण, अनुभव आदान प्रदान तथा शान्ति प्रवर्धनसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिने ब्रह्माकुमारीज राप्ती क्षेत्रीय प्रमुख एवम् राजयोगिनी गीता न्यौपानेले जानकारी दिइन् । उनका अनुसार ‘विश्व नवनिर्माणका लागि आध्यात्मिक जागरण’ अभियानको राष्ट्रिय शुभारम्भ पनि सम्मेलनमा गरिनेछ ।
आत्म परिवर्तनमार्फत् विश्व परिवर्तनको सन्देश प्रवाह गर्ने उद्देश्यले सञ्चालन हुने उक्त अभियानले समाजमा नैतिकता, सकारात्मक सोच, सहअस्तित्व र विश्वबन्धुत्वको भावना विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
सम्मेलनका अवसरमा जेठ ११ गते घोराहीमा सरसफाइ कार्यक्रम सञ्चालन हुनेछ भने जेठ १७ गते बिहान घोराही बजारमा शान्ति पदयात्रा हुने राजयोगिनी न्यौपानेले बताइन् । पदयात्राले शान्ति, अहिंसा, सद्भाव र सकारात्मक सोचको सन्देश समाजमा फैलाउने विश्वास गरिएको छ । सम्मेलन अवसरमा नैतिकता, संस्कार, सेवा र आध्यात्मिक जीवनशैलीमा प्रेरणादायी योगदान पु¥याउँदै आएका दुई सय ५० कन्याकुमारीलाई विशेष सम्मान गरिने भएको बताइन् ।
देश तथा विदेशबाट आउने सहभागीलाई दाङको धारापानी मन्दिर, बाह्रकुने दहलगायतका धार्मिक तथा प्राकृतिक स्थल र स्वर्गद्वारी एवम् लुम्बिनी दर्शन गराउने कार्यक्रममा समावेश गरिएको छ ।
ब्रह्माकुमारीज राप्ती क्षेत्रीय प्रमुख एवम् राजयोगिनी गीताको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले आध्यामिक सचेतनाका माध्यमबाट समाजमा सकारात्मक सन्देश पु¥याउन सकारात्मक भूमिका खेल्दै आएको ईश्वरीय विश्वविद्यालयले निर्माण गरेको भवनले थप सहयोग पु¥याउने बताए । पत्रकार सम्मेलनको सहजीकरण ब्रह्मकुमार माधव तिमिल्सिनाले गरेका थिए ।