समकालीन शिक्षण प्रणालीको रूपान्तरण

यादव गिरी

शिक्षा मानव सभ्यताको आधारभूत स्तम्भ हो । समय, प्रविधि, सामाजिक संरचना तथा विश्वव्यापी आवश्यकतासँगै शिक्षाको स्वरुप पनि निरन्तर परिवर्तन हुँदै आएको छ । परम्परागत शिक्षण प्रणाली मुख्यतः शिक्षक केन्द्रित, पाठ्यपुस्तक आधारित तथा परीक्षामुखी थियो तर वर्तमान विश्वमा ज्ञानको स्वरुप, सिकाइको शैली, प्रविधिको पहुँच तथा विद्यार्थीहरुको आवश्यकतामा आएको परिवर्तनले शिक्षालाई नयाँ दिशातर्फ उन्मुख गराएको छ ।

यही परिवर्तनशील अवस्थालाई “आधुनिक शिक्षाका प्रवृत्तिहरु” का रुपमा बुझिन्छ । आधुनिक शिक्षाले केवल जानकारी हस्तान्तरण गर्ने प्रक्रियालाई मात्र महत्त्व नदिई सिर्जनशीलता, समस्या समाधान क्षमता, आलोचनात्मक सोच, सहकार्य, भावनात्मक सक्षमता तथा जीवनोपयोगी सिप विकासलाई प्राथमिकता दिन थालेको छ । वर्तमान समयमा शिक्षा केवल विद्यालय वा कक्षाकोठाभित्र सीमित विषय बनेको छैन ।

सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै सिकाइ विश्वव्यापी, लचिलो तथा पहुँचयोग्य बन्दै गएको छ । आधुनिक शिक्षाको मूल उद्देश्य विद्यार्थीलाई भविष्यका चुनौतीहरुको सामना गर्न सक्षम, उत्तरदायी तथा नवप्रवर्तनशील नागरिकका रुपमा विकास गर्नु हो । यस परिप्रेक्ष्यमा विश्वव्यापी रुपमा देखापरेका केही प्रमुख शैक्षिक प्रवृत्तिहरुको अध्ययन अत्यन्त आवश्यक देखिन्छ ।

१. वैयक्तिकीकृत शिक्षण

आधुनिक शिक्षाका प्रमुख प्रवृत्तिमध्ये वैयक्तिकीकृत शिक्षण अत्यन्त महङ्खवपूर्ण मानिन्छ । परम्परागत शिक्षण प्रणालीमा सबै विद्यार्थीलाई समान सामग्री, समान समय तथा एउटै शिक्षण विधिबाट अध्यापन गरिने प्रचलन थियो तर आधुनिक शैक्षिक दृष्टिकोणले प्रत्येक विद्यार्थीको सिकाइ शैली, रुचि, क्षमता तथा आवश्यकता फरक(फरक हुने तथ्यलाई स्वीकार गरेको छ ।

यसै कारण विद्यार्थी केन्द्रित शिक्षण प्रक्रियामा प्रत्येक विद्यार्थीको आवश्यकता अनुसार उपयुक्त सामग्री, सिकाइको गति तथा मूल्याङ्कन प्रणाली अवलम्बन गर्ने अभ्यास तीव्र रुपमा विस्तार हुँदै गएको छ । विशेषतः प्रविधिको विकासले वैयक्तिकीकृत शिक्षणलाई अझ प्रभावकारी, व्यवस्थित तथा परिणाममुखी बनाएको छ ।

कृत्रिम बुद्धिमत्ता, अनलाइन शिक्षण प्लेटफर्म तथा डेटा विश्लेषण प्रणालीको प्रयोगमार्फत विद्यार्थीको सिकाइ प्रगतिको निरन्तर विश्लेषण गरी आवश्यक सहयोग तथा मार्गदर्शन प्रदान गर्ने अभ्यास विश्वव्यापी रुपमा बढिरहेको छ । यस प्रक्रियाले शिक्षण सिकाइलाई थप सहभागितामूलक, प्रभावकारी तथा विद्यार्थीमैत्री बनाउँदै गुणस्तरीय शिक्षाको विकासमा महङ्खवपूर्ण योगदान पु¥याएको छ ।

२. मिश्रित शिक्षण

मिश्रित शिक्षण आधुनिक शिक्षाको एक महङ्खवपूर्ण तथा प्रभावकारी प्रवृत्तिका रुपमा विकसित हुँदै गएको छ । यस शिक्षण पद्धतिले परम्परागत प्रत्यक्ष कक्षाशिक्षणलाई सूचना तथा सञ्चार प्रविधिमा आधारित अनलाइन शिक्षासँग समन्वय गरी शिक्षण सिकाइ प्रक्रियालाई थप लचिलो, प्रभावकारी तथा विद्यार्थी केन्द्रित बनाउने कार्य गर्दछ ।

परम्परागत शिक्षण प्रणालीमा विद्यार्थीहरु विद्यालयको कक्षाकोठाभित्र सीमित भई शिक्षकबाट प्रत्यक्ष रुपमा ज्ञान आर्जन गर्ने गर्थे भने मिश्रित शिक्षणले त्यस प्रक्रियालाई डिजिटल माध्यमसँग जोड्दै सिकाइका अवसरलाई अझ व्यापक बनाएको छ । यस प्रणालीअन्तर्गत विद्यार्थीहरुले विद्यालयमा शिक्षकसँग प्रत्यक्ष अन्तरक्रिया गरी विषयवस्तुको स्पष्ट बुझाइ प्राप्त गर्ने अवसर पाउनुका साथै भिडियो सामग्री, डिजिटल पाठ्यसामग्री, अनलाइन अभ्यास, भर्चुअल छलफल तथा अन्तरक्रियात्मक प्लेटफर्ममार्फत् पनि अध्ययन गर्ने सुविधा प्राप्त गर्दछन् ।

विशेषतः कोभिड–१९ महामारीपछिको समयमा विश्वव्यापी रुपमा विद्यालय तथा विश्वविद्यालयहरु बन्द हुँदा शिक्षण प्रक्रियालाई निरन्तरता दिन मिश्रित शिक्षणको प्रयोग उल्लेखनीय रुपमा विस्तार भएको पाइन्छ । यसले शिक्षा प्रणालीलाई समय, स्थान तथा भौगोलिक सीमाभन्दा बाहिर विस्तार गर्दै सिकाइलाई जहाँसुकै र जुनसुकै समयमा सम्भव बनाएको छ ।

साथै, विद्यार्थीहरुले आफ्नै गति, रुचि तथा आवश्यकता अनुसार अध्ययन गर्न सक्ने भएकाले आत्मनिर्भर सिकाइ संस्कृतिको विकासमा समेत यसले महङ्खवपूर्ण योगदान पु¥याएको छ । मिश्रित शिक्षणले विद्यार्थीहरुमा स्वअध्ययन, समस्या समाधान, प्रविधि प्रयोग तथा सिर्जनात्मक सोचजस्ता सिपहरुको विकास गर्न सहयोग पु¥याउने भएकाले आधुनिक शिक्षाको गुणस्तर अभिवृद्धिमा यसको भूमिका अत्यन्त महङ्खवपूर्ण मानिन्छ ।

त्यसैले वर्तमान समयको प्रविधिमैत्री तथा परिवर्तनशील शैक्षिक परिवेशमा मिश्रित शिक्षणलाई प्रभावकारी शिक्षण पद्धतिको रुपमा स्वीकार गरिँदै यसको प्रयोग दिनानुदिन विस्तार हुँदै गएको छ ।

३. परियोजना आधारित शिक्षण

आधुनिक शिक्षाले केवल सैद्धान्तिक ज्ञान आर्जनमा सीमित नरही व्यवहारिक तथा जीवनोपयोगी ज्ञानलाई विशेष महत्त्व दिन थालेको छ । यसै सन्दर्भमा परियोजना आधारित शिक्षण आधुनिक शिक्षाको प्रभावकारी तथा विद्यार्थी केन्द्रित प्रवृत्तिका रुपमा विकसित भएको छ ।

यस शिक्षण विधिमा विद्यार्थीहरुलाई वास्तविक जीवनसँग सम्बन्धित विषयवस्तु तथा समस्यामाथि आधारित परियोजनात्मक कार्यमा संलग्न गराइन्छ, जसद्वारा उनीहरुले अनुसन्धान, सहकार्य, विश्लेषण, प्रस्तुतीकरण तथा सिर्जनात्मक क्रियाकलापमार्फत ज्ञान तथा सिप आर्जन गर्ने अवसर प्राप्त गर्दछन् ।

परियोजना आधारित शिक्षणले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यवहारिक अनुभवद्वारा सिकाइलाई थप प्रभावकारी तथा अर्थपूर्ण बनाउने कार्य गर्दछ । यस प्रक्रियामा विद्यार्थीहरुले समूहगत रुपमा कार्य गर्दै समस्या पहिचान गर्ने, समाधान खोज्ने तथा निष्कर्ष प्रस्तुत गर्ने अभ्यास गर्ने भएकाले उनीहरुमा आत्मविश्वास, नेतृत्व क्षमता, आलोचनात्मक सोच, निर्णय क्षमता तथा समस्या समाधान सिपको विकास हुन सहयोग पुग्दछ ।

साथै, यस विधिले विद्यार्थीलाई केवल परीक्षा उतीर्ण गर्ने उद्देश्यमा सीमित नराखी वास्तविक जीवनका चुनौतीहरुको सामना गर्न सक्षम बनाउने दिशामा प्रेरित गर्दछ । फलस्वरुप शिक्षण(सिकाइ प्रक्रिया थप व्यावहारिक, रोचक, सहभागितामूलक तथा जीवनोपयोगी बन्न गई गुणस्तरीय शिक्षाको विकासमा महङ्खवपूर्ण योगदान पुगेको देखिन्छ ।

४. सामाजिक तथा भावनात्मक शिक्षण

आधुनिक शिक्षाले शैक्षिक उपलब्धिसँगै भावनात्मक तथा सामाजिक विकासलाई पनि शिक्षाको महङ्खवपूर्ण आधारका रुपमा स्वीकार गरेको छ । यसै सन्दर्भमा सामाजिक तथा भावनात्मक शिक्षण आधुनिक शिक्षाको प्रभावकारी प्रवृत्तिका रुपमा विकसित हुँदै गएको छ । यस शिक्षण प्रक्रियाले विद्यार्थीहरुमा आत्मचेतना, आत्मनियन्त्रण, सहानुभूति, सहकार्य, सकारात्मक सोच तथा स्वस्थ अन्तरव्यक्तिगत सम्बन्ध विकास गर्न विशेष सहयोग पु¥याउँछ ।

वर्तमान समयको अत्यधिक प्रतिस्पर्धात्मक, जटिल तथा तनावपूर्ण सामाजिक परिवेशमा केवल शैक्षिक सफलता मात्र पर्याप्त मानिँदैन, अपितु विद्यार्थी मानसिक रुपमा स्वस्थ, भावनात्मक रुपमा सन्तुलित तथा सामाजिक रुपमा जिम्मेवार नागरिकका रुपमा विकसित हुनु आवश्यक ठानिन्छ । यही आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयहरुले परामर्श सेवा, समूहगत क्रियाकलाप, सहकार्यात्मक सिकाइ, मूल्यमा आधारित शिक्षा तथा जीवनोपयोगी सिप विकाससम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिन थालेका छन् ।

यस्ता गतिविधिहरुले विद्यार्थीमा आत्मविश्वास, सहिष्णुता, जिम्मेवारीबोध तथा सामाजिक समायोजन क्षमताको विकास गर्न महङ्खवपूर्ण भूमिका निर्वाह गर्दछन् । साथै, सामाजिक तथा भावनात्मक शिक्षणले विद्यालयीय वातावरणलाई थप सहयोगात्मक, सुरक्षित तथा सकारात्मक बनाउन समेत योगदान पु¥याउँछ ।

फलस्वरुप विद्यालय केवल ज्ञान प्रदान गर्ने संस्थामा सीमित नरही विद्यार्थीको समग्र व्यक्तित्व विकास गर्ने केन्द्रका रुपमा रुपान्तरण हुँदै गएको देखिन्छ, जसले आधुनिक शिक्षाको गुणस्तर अभिवृद्धिमा महङ्खवपूर्ण योगदान पु¥याएको छ ।

५. डिजिटल साक्षरता तथा प्रविधिमैत्री शिक्षा

सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासले शिक्षा क्षेत्रमा व्यापक तथा दूरगामी परिवर्तन ल्याएको छ । आधुनिक शिक्षामा डिजिटल साक्षरतालाई आधारभूत तथा अपरिहार्य सिपका रुपमा स्वीकार गरिएको छ । वर्तमान शैक्षिक परिवेशमा कम्प्युटर, इन्टरनेट, स्मार्ट बोर्ड, मोबाइल एप, कृत्रिम बुद्धिमत्ता तथा विविध डिजिटल सामग्रीहरुको प्रयोग शिक्षण सिकाइ प्रक्रियाको अभिन्न अंगका रुपमा स्थापित हुँदै गएको छ ।

डिजिटल शिक्षाले विद्यार्थीहरुलाई विश्वव्यापी ज्ञान, सूचना तथा शैक्षिक स्रोतसँग सहज रुपमा जोड्ने अवसर प्रदान गर्दछ । विशेषतः अनलाइन पुस्तकालय, भिडियो सामग्री, भर्चुअल प्रयोगशाला, इ–लर्निङ प्लेटफर्म तथा अन्तरक्रियात्मक शिक्षण सामग्रीहरुको प्रयोगले सिकाइ प्रक्रियालाई थप सरल, प्रभावकारी, आकर्षक तथा विद्यार्थी केन्द्रित बनाएको छ । यस माध्यमबाट विद्यार्थीहरुले समय तथा स्थानको सीमाभन्दा बाहिर रहेर पनि आवश्यक ज्ञान तथा सिप आर्जन गर्न सक्ने अवस्था सिर्जना भएको छ ।

साथै, आधुनिक शिक्षाले प्रविधिको प्रयोगसँग सम्बन्धित नैतिक तथा जिम्मेवार पक्षलाई समेत महत्त्व दिएको छ । यसै कारण डिजिटल नागरिकता, साइबर सुरक्षा, सूचना नैतिकता तथा जिम्मेवार प्रविधि प्रयोगसम्बन्धी ज्ञानलाई पनि शिक्षाको महङ्खवपूर्ण अङ्गका रुपमा समावेश गरिँदै आएको छ । फलस्वरुप सूचना प्रविधिमा आधारित शिक्षा प्रणालीले शिक्षण सिकाइ प्रक्रियालाई थप आधुनिक, प्रभावकारी तथा विश्वव्यापी आवश्यकता अनुकूल बनाउन महङ्खवपूर्ण योगदान पु¥याएको छ ।

६. खेल आधारित तथा गेमिफिकेशन शिक्षण

विद्यार्थीहरुलाई शिक्षण–सिकाइ प्रक्रियाप्रति आकर्षित, सक्रिय तथा उत्साहित बनाउन आधुनिक शिक्षामा खेलमा आधारित शिक्षण तथा गेमिफिकेशनको प्रयोग तीव्र रुपमा विस्तार हुँदै गएको छ । यस शिक्षण पद्धतिमा सिकाइलाई खेल, चुनौती, पुरस्कार, स्तर उन्नति तथा स्वस्थ प्रतिस्पर्धासँग समन्वय गरिन्छ, जसले विद्यार्थीहरुमा अध्ययनप्रति रुचि तथा सहभागिता अभिवृद्धि गर्न महङ्खवपूर्ण भूमिका निर्वाह गर्दछ ।

परम्परागत शिक्षण प्रणालीमा विद्यार्थीहरु निष्क्रिय रुपमा ज्ञान ग्रहण गर्ने अवस्थामा रहने गर्थे भने खेलमा आधारित शिक्षणले उनीहरुलाई प्रत्यक्ष सहभागितामार्फत सिकाइ प्रक्रियामा सक्रिय बनाउँछ । विशेषतः प्रारम्भिक तथा माध्यमिक तहका विद्यार्थीहरुका लागि खेलमार्फत गरिने शिक्षण प्रभावकारी मानिन्छ, किनभने यसले सिकाइलाई मनोरञ्जनात्मक, रोचक तथा व्यवहारिक बनाउने कार्य गर्दछ ।

यस प्रक्रियाबाट विद्यार्थीहरुको स्मरण शक्ति, सहकार्य क्षमता, सिर्जनशीलता, तार्किक सोच तथा समस्या समाधान सिपको विकासमा उल्लेखनीय सहयोग पुग्दछ । साथै, आधुनिक सूचना प्रविधिको विकाससँगै डिजिटल खेल, अन्तरक्रियात्मक सामग्री, शैक्षिक एप तथा भर्चुअल अभ्यास प्रणालीहरुको प्रयोगले खेल आधारित शिक्षणलाई अझ प्रभावकारी तथा प्रविधिमैत्री बनाएको छ ।

फलस्वरुप यस प्रकारको शिक्षण पद्धतिले शिक्षण सिकाइ प्रक्रियालाई थप विद्यार्थी केन्द्रित, सहभागितामूलक तथा परिणाममुखी बनाउँदै आधुनिक शिक्षाको गुणस्तर अभिवृद्धिमा महङ्खवपूर्ण योगदान पु¥याएको छ ।

७. समावेशी तथा पहुँचयोग्य तथा जीवनपर्यन्त सिकाइ

आधुनिक शिक्षाको महङ्खवपूर्ण प्रवृत्तिमध्ये समावेशी शिक्षा एक प्रमुख अवधारणा हो । शिक्षा सबै व्यक्तिका लागि समान अवसरयुक्त तथा पहुँचयोग्य हुनुपर्छ भन्ने मान्यताका आधारमा समावेशी शिक्षाको विकास भएको हो ।

यस शिक्षण दृष्टिकोणले लैङ्गिक, भौगोलिक, आर्थिक, भाषिक तथा शारीरिक विविधतालाई सम्मान गर्दै सबै विद्यार्थीलाई समान रुपमा शिक्षण सिकाइ प्रक्रियामा सहभागी गराउने उद्देश्य राख्दछ । विशेष आवश्यकता भएका विद्यार्थीहरुलाई समेत मुख्यधाराको शिक्षामा समावेश गर्न सहायक प्रविधि, वैकल्पिक मूल्याङ्कन प्रणाली, लचिलो पाठ्यक्रम तथा अनुकूल शैक्षिक वातावरण निर्माणमा विशेष जोड दिइएको छ ।

यसप्रकारको शिक्षाले शिक्षालाई केवल ज्ञान प्रदान गर्ने माध्यमका रुपमा नभई मानवअधिकार, समानता तथा सामाजिक न्यायसँग सम्बन्धित विषयका रुपमा स्थापित गरेको छ । फलस्वरुप समावेशी शिक्षाले सबै वर्ग, समुदाय तथा क्षमताका विद्यार्थीलाई सम्मानपूर्वक शिक्षामा सहभागी गराई समतामूलक समाज निर्माणमा महङ्खवपूर्ण योगदान पु¥याएको छ ।

आधुनिक विश्वमा ज्ञान, सूचना तथा सिप निरन्तर परिवर्तन भइरहेका कारण शिक्षा केवल विद्यालय वा विश्वविद्यालयको सीमित अवधिसम्म मात्र केन्द्रित रहन सक्दैन । यही सन्दर्भमा जीवनपर्यन्त सिकाइ आधुनिक शिक्षाको अत्यन्त महङ्खवपूर्ण प्रवृत्तिका रुपमा विकसित भएको छ । जीवनभर नयाँ ज्ञान, प्रविधि तथा सिप आर्जन गर्ने निरन्तर प्रक्रियालाई जीवनपर्यन्त सिकाइ भनिन्छ ।

आधुनिक शिक्षाले विद्यार्थीलाई जिज्ञासु, आत्मनिर्भर, अनुसन्धानमुखी तथा निरन्तर सिकाइप्रति प्रेरित बनाउने उद्देश्य राख्दछ । अनलाइन पाठ्यक्रम, खुला विश्वविद्यालय, डिजिटल प्रमाणपत्र तथा सिप आधारित तालिम कार्यक्रमहरुको विकासले जीवनपर्यन्त सिकाइलाई अझ सहज, लचिलो तथा पहुँचयोग्य बनाएको छ । यस प्रकारको सिकाइले व्यक्तिलाई बदलिँदो श्रम बजार, प्रविधिगत विकास तथा सामाजिक आवश्यकतासँग अनुकूल हुन सहयोग पु¥याउँदै व्यक्तिगत तथा व्यावसायिक विकासमा महङ्खवपूर्ण भूमिका निर्वाह गरेको छ ।

८. शिक्षकको भूमिका र मूल्याङ्कन प्रणालीमा परिवर्तन

आधुनिक शिक्षामा शिक्षकको भूमिकामा व्यापक परिवर्तन आएको छ । परम्परागत शिक्षण प्रणालीमा शिक्षकलाई ज्ञानको मुख्य स्रोत तथा विद्यार्थीलाई निष्क्रिय रुपमा ज्ञान ग्रहण गर्ने व्यक्तिका रुपमा हेरिन्थ्यो । तर वर्तमान शैक्षिक दृष्टिकोणले शिक्षकलाई मार्गदर्शक, सहजीकरणकर्ता, प्रेरक तथा सिकाइ व्यवस्थापकका रुपमा स्थापित गरेको छ ।

आधुनिक शिक्षामा शिक्षकको जिम्मेवारी केवल पाठ्यपुस्तकमा आधारित ज्ञान प्रदान गर्नुमा सीमित नरही विद्यार्थीलाई अनुसन्धान गर्न, समस्या समाधान गर्न, सहकार्यात्मक रुपमा कार्य गर्न तथा सिर्जनात्मक सोचको विकास गर्न प्रेरित गर्नु हो ।

साथै, सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोग, व्यक्तिगत मार्गदर्शन तथा सकारात्मक सिकाइ वातावरण निर्माण गर्नु पनि शिक्षकका महङ्खवपूर्ण दायित्वका रुपमा विकसित भएका छन् । यस प्रकारको परिवर्तनले शिक्षण सिकाइ प्रक्रियालाई थप विद्यार्थी केन्द्रित, सहभागितामूलक तथा प्रभावकारी बनाएको छ ।

आधुनिक शिक्षामा मूल्याङ्कन प्रणालीमा पनि महङ्खवपूर्ण परिवर्तन आएको छ । परम्परागत रुपमा केवल अन्तिम परीक्षालाई आधार मानी विद्यार्थीको उपलब्धि मापन गर्ने अभ्यास प्रचलित थियो, तर आधुनिक शिक्षाले यस्तो एकपक्षीय मूल्याङ्कनलाई पर्याप्त मानेको छैन ।

वर्तमान समयमा निरन्तर मूल्याङ्कन, कार्यसम्पादन आधारित मूल्याङ्कन, पोर्टफोलियो, परियोजना कार्य तथा व्यवहारिक परीक्षणलाई विशेष प्राथमिकता दिइएको छ । यस प्रकारको मूल्याङ्कन प्रणालीले विद्यार्थीको वास्तविक क्षमता, सिर्जनशीलता, व्यवहारिक दक्षता तथा सिकाइ प्रक्रियामा भएको प्रगतिलाई समग्र रुपमा मूल्याङ्कन गर्न सहयोग पु¥याउँछ ।

साथै, मूल्याङ्कनलाई केवल नतिजा निर्धारण गर्ने माध्यमका रुपमा नभई सिकाइ सुधार गर्ने सहयोगी उपकरणका रुपमा प्रयोग गर्ने प्रवृत्ति पनि बढ्दो क्रममा रहेको छ । यसले विद्यार्थीमा परीक्षाजन्य अनावश्यक दबाब कम गरी सिकाइप्रति सकारात्मक दृष्टिकोण विकास गर्न महङ्खवपूर्ण योगदान पु¥याएको छ ।

निष्कर्ष; आधुनिक शिक्षाका प्रवृत्तिहरुले शिक्षा प्रणालीलाई व्यापक रुपमा रुपान्तरण गरिरहेका छन् । आजको शिक्षा केवल पाठ्यपुस्तक आधारित ज्ञान प्राप्तिको प्रक्रिया नभई व्यक्तिको समग्र विकास, जीवनोपयोगी सिप, सामाजिक उत्तरदायित्व तथा नवप्रवर्तन क्षमताको विकाससँग सम्बन्धित भएको छ । वैयक्तिकीकृत शिक्षण, मिश्रित सिकाइ, सामाजिक भावनात्मक शिक्षण, डिजिटल साक्षरता, परियोजनामा आधारित शिक्षण तथा समावेशी शिक्षाजस्ता प्रवृत्तिहरुले शिक्षालाई थप व्यावहारिक, पहुँचयोग्य तथा प्रभावकारी बनाएका छन् ।

यद्यपि आधुनिक शिक्षाका यी प्रवृत्तिहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न पर्याप्त पूर्वाधार, दक्ष शिक्षक, प्रविधिको पहुँच तथा नीतिगत स्पष्टता आवश्यक पर्दछ । विशेषतः विकासोन्मुख मुलुकहरुमा डिजिटल विभाजन, स्रोतको अभाव तथा सिप विकासका चुनौतीहरु अझै विद्यमान छन् ।

तथापि, विश्वव्यापी परिवर्तनसँग समन्वय गर्दै आधुनिक शिक्षाका सकारात्मक पक्षहरुलाई आत्मसात् गर्न सके शिक्षाले व्यक्तिको मात्र होइन, सम्पूर्ण समाज तथा राष्टूको विकासमा महङ्खवपूर्ण योगदान पु¥याउन सक्छ । आधुनिक शिक्षा भविष्य निर्माणको सशक्त आधार हो, जसले ज्ञानसँगै मानवीयता, सिर्जनशीलता तथा उत्तरदायित्वको विकास गर्दछ ।