बालाराम खड्का
तुलसीपुर, ९ जेठ । राप्ती आँखा अस्पताल परिसरमा अत्याधुनिक शल्यक्रिया भवन निर्माण भएको छ । नेपाल भारत विकास सहयोग अन्तर्गत राप्ती आँखा अस्पतालमा शल्यक्रिया भवन निर्माण भएको हो ।
भारतीय राजदूतावासको आर्थिक सहयोगमा तुलसीपुर उपमहानगरपालिका र राप्ती आँखा अस्पतालको लागत साझेदारीमा चार करोड २४ लाखमा ३८ हजार रुपैयाँमा शल्यक्रिया भवन निर्माण भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिए । अस्पताल परिसरमा निर्माण भएको भवनबाट चाँडै नै शल्यक्रिया सेवा सुरु हुने गरी तयारी भइरहेको अध्यक्ष गिरीले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकामार्फत् भारतीय राजदूतावासको आर्थिक सहयोगमा सिएनएस, आरएस, भक्टोरिया जेभी बुद्धनगर काठमाडौंले २०८३ वैशाखमा भवन निर्माण सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको थियो । ‘भवन निर्माणको काम सम्पन्न भएको छ, अब नयाँ भवनको उद्घाटनसँगै सेवा सूचारु गर्ने तयारीमा छौँ’, अध्यक्ष गिरीले भने । नयाँ शल्यक्रिया भवन बनेसँगै अब अस्पतालमा सेवा प्रवाहमा सहज हुने उनले बताए ।
गिरीले नेपाल भारत विकास सहयोग अन्तर्गत यो महत्वपूर्ण योजना भएकाले भारत सरकारले स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदान अतुलनीय र भौतिक संरचनाको निर्माण कार्य मात्र नभई लाखौँ नागरिकको दृष्टि जोगाउने महत्वपूर्ण अभियानको कोसेढुङ्गा भएको बताए । समयमै निर्माणको काम सम्पन्न गरी तुलसीपुर उपमहानगरपालिकाकालाई निर्माण कम्पनीले वैशाख १५ गते बुझाएको ई.विशाल केसीले जानकारी दिए ।
यसैगरी अस्पतालका मेसु सहायक प्राडा रन्जितकुमार साहले शल्यक्रिया भवन निर्माणसँगै भवनभित्र आवश्यक भौतिक तथा प्राविधिक व्यवस्थापनको तयारी भइरहेको र केही समयमै नयाँ भवनबाट सेवा सुचारु हुने बताए । २०८१ फागुन २० गते भारतीय राजदुतावास, काठमाडाँंका प्रथम सचिव वशिष्ठ नन्दन र तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले संयुक्त रूपमा भवनको शिलान्यास गरेका थिए ।