गोरक्ष समाचारदाता
दाङ, ९ जेठ । स्थानीय तहमा निर्वाचित दलित महिला जनप्रतिनिधिले प्रतिनिधित्व भए पनि निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता हुन नसकेको भन्दै सहभागिता सुनिश्चितता गर्नु पर्नेमा जोड दिएका छन् । जागरण मिडिया सेन्टरद्वारा घोराहीमा आयोजना गरिएको ‘दलित महिला जनप्रतिनिधिको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि’ सम्बन्धी कार्यशालामा सहभागी दलित महिला सदस्यले संविधानले अधिकार सुनिश्चितता गरे पनि व्यावहारिक रूपमा प्राप्त गर्न नसकेको गुनासो गरेका थिए ।
नेपालको संविधानले प्रत्येक वडामा एक दलित महिला सदस्य अनिवार्य व्यवस्था गरे पनि व्यवहारमा दलित महिला जनप्रतिनिधि अझै अवसर र भूमिकाको दृष्टिले पछाडि पारिएको सहभागीको भनाइ थियो । घोराही उपमहानगरपालिका वडा नं. ७ की वडा सदस्य गोमा नेपालीले दुई कार्यकालसम्म निर्वाचित हुँदासमेत दलित महिला सदस्यलाई हेर्ने दृष्टिकोणमा अपेक्षित परिवर्तन आउन नसकेको बताइन् ।
बैठक, योजना निर्माण र कार्यान्वयन तहमा वडा सदस्यहरूको समान भूमिका हुनु पर्ने भए पनि व्यवहारमा विभेद कायम रहेको उनले बताएकी थिइन् । घोराही उपमहानगरपालिका वडा नं. १० की वडा सदस्य केशरी विश्वकर्माले जनप्रतिनिधि बनेपछि नेतृत्व विकास, नीति निर्माण र विधि प्रक्रियाबारे धेरै सिक्ने अवसर पाए पनि दलित महिला तथा पिछडिएका समुदायप्रति राज्यको पर्याप्त ध्यान नपुग्दा चुनौती कायम रहेको बताइन् । वडामा योजना निर्माणदेखि सेवाग्राहीका समस्या समाधानसम्म सक्रिय भूमिका रहे पनि महिला र पुरुषलाई हेर्ने दृष्टिकोणमा अझैसम्म समान हुन नसकेको उनले बताएकी थिइन् ।
उनीहरू जस्तै गुनासो थियो, कार्यशालामा सहभागी घोराही उपमहानगरपालिका वडा नं. १ देखि १९ नम्बर वडाका सदस्य तथा कार्यपालिका सदस्यहरूको । उनीहरूले प्रतिनिधित्वका रूपमा हरेक वडामा दलित सदस्य भए पनि जिम्मेवारी प्रदानका सवालमा समान हुन नसकेको बताएका थिए ।
कार्यशालामा संविधान सभा सदस्य तथा दलित अधिकारकर्मी कमला विश्वकर्माले स्थानीय सरकारमा दलित महिलाको सङ्ख्या बढ्नु सकारात्मक उपलब्धि भए पनि उनीहरूको सहभागिता अझै प्रभावकारी बन्न नसकेको बताइन् । उनले उपस्थितिलाई मात्र उपलब्धि मान्नुभन्दा निर्णय प्रक्रियामा निर्णायक भूमिका सुनिश्चितता गर्न आवश्यक रहेको धारणा राखेकी थिइन् ।
कार्यशालामा अधिवक्ता हेमा न्यौपानेले दलित महिला सदस्यका काम, कर्तव्य तथा अधिकारबारे जानकारी गराएकी थिइन् । कार्यक्रमको उद्देश्यबारे जागरण मिडिया सेन्टरका लुम्बिनी प्रदेश संयोजक विनोद परियारले प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण गिरिराज नेपालीले गरेका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा विभिन्न वडाका दलित महिला जनप्रतिनिधिको सहभागिता रहेको थियो ।