घोराही–माडीचौर १३२ केभी प्रसारण लाइन, निर्माणको काम अन्तिम चरणमा

दाङ, ९ जेठ । घोराही–माडीचौर १३२ केभी प्रसारण लाइन आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । रोल्पालगायतका पहाडी जिल्लामा विद्युत विस्तारसँगै त्यसक्षेत्रमा उत्पादन हुन थालेको विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने गरी निर्माण सुरु भएको घोराही–माडीचौर १३२ केभी प्रसारण लाइनको करिब ८० प्रतिशत काम पूरा भएको हो ।

घोराही–माडीचौर १३२ केभी प्रसारण लाइन अन्तर्गत घोराही उपमहानगरपालिका–३ झिङ्नीदेखि रोल्पाको सुनिलस्तमृति गाउँपालिका–२ स्थित खुङ्ग्रीसम्मको करिब ३८ किलोमिटर लामो प्रसारण लाइन अन्तर्गत सवस्टेशनसँगै विद्युत टावर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । प्रसारणलाइन अन्तर्गत गाड्नु पर्ने एक सय २१ वटा विद्युत टावरमध्ये एक सय एक वटा टावर निर्माण गरेर तार तान्ने काम भइरहेको घोराही–माडीचौर १३२ केभी प्रसारण लाइन आयोजना प्रमुख प्रमुख बमबहादुर बुढाथोकीले जानकारी दिएका छन् ।

आयोजना प्रमुख बुढाथोकीका अनुसार बाँकी टावर निर्माणको काम पनि छिट्टै अघि बढ्नेछ । ‘जङ्गल क्षेत्र बाहेकका ठाउँमा प्रसारणलाइन अन्तर्गत विद्युत टावर निर्माण गरेर तार तान्ने काम भइरहेको छ’, आयोजना प्रमुख बुढाथोकीले भने, ‘आयोजना अन्तर्गत घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिका अन्तर्गतको जङ्गल क्षेत्रमा देखिएको समस्या समाधान गरेर विद्युत टावर निर्माणसँगै तार तान्ने काम अघि बढ्ने तयारीमा छौँ, त्यसका लागि पुनः वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तयार गरेर मन्त्रालय पठाएका छाँै ।’

उनका अनुसार विवादित ठाउँमा काम गर्न ढिलाइ भए पनि अन्यत्र भने लगभग अन्तिम चरणमा पुगिसकेको छ । ऊर्जा मन्त्रालय हुँदै वन मन्त्रालय फाइल पुगेर स्वीकृत गर्ने काम भइसकेको छ । जङ्गल क्षेत्रमा विद्युत टावर निर्माणका लागि रुख काटनु पर्ने भएकाले केही ढिलाइ भएको हो ।

नेपाल सरकारको ४० प्रतिशत र एसियाली विकास बैंकको ६० प्रतिशत गरेर करिब एक अर्ब ५० करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको प्रसारण लाइन अन्तर्गत रोल्पाको सुनिलस्तमृति गाउँपालिका–२ स्थित खुङ्ग्रीमा सवस्टेशन निर्माण भइरहेको छ । खुङ्ग्रीमा सवस्टेशन निर्माणसँगै स्टाफ क्वार्टर, गार्ड हाउस, कन्ट्रोल बिल्डिङलगायतका भौतिक पूर्वाधार निर्माण भइरहेको आयोजनाले जनाएको छ । खुङ्ग्रीमा सवस्टेशन निर्माणसँगै स्टाफ क्वार्टर, गार्ड हाउस, कन्ट्रोल बिल्डिङलगायतका काम अन्तिम चरणमा पुगेको छ ।

आर्थिक वर्ष २०८३÷०८४ मा काम सम्पन्न गर्ने गरी घोराही–माडीचौर १३२ केभी प्रसारण लाइनको काम आर्थिक वर्ष २०७८÷०७९ मा सुरु भएको थियो । आयोजना निर्माण सम्पन्न भएपछि रोल्पा, रुकुमलगायतका ग्रामीण ठाउँमा विद्युत विस्तारसँगै रोल्पा, रुकुममा उत्पादन हुन थालेको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्यसहित निर्माणको काम धमाधम भइरहेको छ ।

जग्गा प्राप्तिको ढिलाइका कारण निर्माणको काम सुरु हुन ढिलाइ भए पनि पछिल्लो समय काममा कुनै ढिलाइ नगरी धामधम भइरहेको आयोजना प्रमुख बुढाथोकी बताउँछन् । आयोजना प्रमुख बुढाथोकीका अनुसार नेपाल विद्युत प्राधिकरणले अहिले घोराही–माडीचौर आयोजन अन्तर्गत निर्माणको काम भइरहेको छ भने रोल्पाको माडीचौर हुँदै रुकुम पश्चिमको बाँफीकोट जोड्ने गरी सर्भे भइरहेको छ । आयोजना निर्माण सम्पन्न भएपछि रोल्पालगायते आसपासका क्षेत्रमा विद्युत लो भोल्टेजको समस्या हट्ने छ ।