एकराज शर्मा अधिकारी
विचार
संसारले आज सुख खोजिरहेको छ । सुख पाएको छैन किन ? सुख भएको ठाउँमा खोजेकै छैन, सुख आफैभित्र छ, मानिसले सुख बाहिरी पदार्थमा खोज्छ । बाहिरी पदार्थमा दुःख मात्र छ । लोभीलाई कहिल्यै सुख शान्ति मिल्दैन । कामना पूर्ति भयो भने लोभ बढ्दै जान्छ, पूर्ति भएन भने क्रोध बढ्दै जान्छ ।
गीतामा भगवान् कृष्णले लोभ पापको कारण हो भन्नुभएको छ । लोभी असन्तोषी मानिस कहिले संसारमा सुखी हुँदैन । किनभने कुनैबेला पनि उसको मनबाट कामनाले विश्रान्ति पाएको हुँदैन । प्रारब्ध अनुसार जे जति प्राप्त भयो त्यसैमा सन्तुष्ट भए सुख प्राप्त हुन्छ ।
जसले कामनालाई त्यागेर आफू–आफूमा रमाएको छ, सन्तुष्ट भएको छ, त्यो सुखी हो । कुनै प्रकारको इच्छा आशक्ति अन्तरात्मादेखि गर्दैन त्यो सुखी हो । सबै शास्त्रहरुले यही कुरा बताएका छन् । योगवासिष्ट मोक्ष शास्त्रले पनि यही कुरा बताएका छन् ।
जसमा इच्छा ज्यादा छ, काम बासनाले सताइएको छ, जसले भोग बासनाको तृप्तीलाई नै पुरुषार्थ मानेको छ । निष्कासपूर्वक व्यवहार चलाउने सकिने कुरामा विश्वास छैन त्यो मानिस दुःखी हो, दरिद्रि हो । तृष्णारहित मानिस सुखी हुन्छ । विषयानुरागी मानिसलाई कहिले पनि पूर्णताको अनुभव हुँदैन । विषयको पूर्ति नहुँदै यमराजको पाहुना बन्न जान्छ ।
कामनारहित मानिस समुद्र जस्तै गम्भीर हुन्छ, मर्यादित हुन्छ, परिपूर्ण हुन्छ । प्रतिष्टित हुन्छ, खहरे खोला जस्तो उत्ताउलो हुँदैन, समुन्द्रमा पानी परे पनि केही असर पर्दैन समुन्द्रमा पानी घटे पनि केही असर पर्दैन । समुन्द्रले आफ्नो गम्भीरतालाई विचलित हुन दिँदैन । इच्छा र आशक्ति जहाँ गएर विलिन हुन्छन्, त्यही नै शान्ति हुन्छ, आनन्द हुन्छ, तृप्ती हुन्छ ।
निस्काष भावले कर्म गरे इच्छा र आशक्ति विलिन हुन्छ । विषयबाट पाइने आनन्द पनि आत्मा कै अंश हो, विषय त जड हो, विषयमा रस छैन, आत्माकै रसले रसिलो भएको हो । समुन्द्रले वर्षाको अपेक्षा नगरेपछि समुन्द्रमा पानीको कमी हुँदैन, कि आकाशबाट पानीको वर्षा हुन्छ, कि नदीहरु समुन्द्र खोज्दै जान्छन् र समुन्द्रमा मिले पछि नदीहरुले आनन्द मान्दछन् ।
विषयजन्य सुखहरु पनि आत्मामा गएर विलिन हुन्छन् । सारा विषय आत्मातिर आकर्षित भएका छन् । अज्ञानी मानिस लोभी मानिस थोरै धन पाए पनि पागल जस्तो भएर उफ्रिन थाल्दछन् । थोरै मान पद पाए पनि उत्ताउला हुन्छन् । शिष्ट मानिस जतिसुकै धन पद पाए पनि आफ्नो स्वभावबाट विचलित हुँदैनन् ।
यही हो निस्काम भावको महिमा । आत्माले कामना गर्दैन मनले कामना गर्छ शरीरले दुःख पाउँछ । भगवान्मा कामना छैन, आफै तृप्त छ, आनन्दै आनन्द छ । भगवान् रामकृष्ण जहाँ–जहाँ जानु हुन्थ्यो, त्यहाँ सबैलाई आनन्द मग्न पार्नुहुन्थ्यो ।
रामले वनबास गएकोबेला ऋषिहरुलाई आनन्द बाँड्नु भयो । कृष्णले, मथुरा वृन्दावनका गोप गोपिनीहरुलाई आनन्द बाँड्नु भएको थियो । कलियुगमा समेत राम र कृष्णको नाम लिँदा भक्तहरुले आनन्द मान्दछन् । निष्काम व्यक्तिको संगतले सत्संगी पनि आनन्दित हुन्छन् ।
जहाँ कामना छैन, त्यहाँ सुख सन्तोषको मूल फुट्छ । कामनाले आनन्दको ढोका लुटिदिन्छ । मनमा कुनै कामना नभएको हुनाले भगवान् रामलाई राज्याभिषेकको समाचारले सुखी बनाएन वनबासको आज्ञाले दुःखी बनाएन । कामना नगर्नु नै सुखको कारण हो, सुख आफैभित्र छ ।
कसैले भन्दछन्– गृहस्थीले कामना नगरेर व्यवहार कसरी चल्ला ? कामना नगरे पनि व्यवहार चल्छ । आशाको अनुभवमा भर पर्नुपर्छ भन्ने थाहा हुन्छ । क्रमश कामना छोड्नुपर्छ । जति कामना छोड्दै गर्दा आफूभित्र आनन्दको अनुभूति हुँदै जान्छ ।