मोबाइल एपबाटै प्रहरीमा उजुरी दर्ता गर्न सकिने

लीलाधर वली
दाङ, ८ जेठ । अब मोबाइल एपबाटै प्रहरीमा उजुरी दर्ता गर्न सकिने भएको छ । नेपाल प्रहरीले सर्वसाधारण नागरिकको सहजताका लागि घरबाटै उजुरी दर्ता गर्न सकिने व्यवस्था गरेसँगै दाङमा पनि सेवा सुरु भएको हो ।

प्रविधिको प्रयोगका माध्यमबाट कुनै पनि घटना हुँदा प्रहरी कार्यालय टाढा भए वा समय नमिलेको अवस्थामा पीडितले नेपाल पुलिसको मोबाइल एपमार्फत् उजुरी दिन सक्ने व्यवस्था सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिएका छन् ।

उनका अनुसार यो सुविधा प्रयोग गर्न नागरिकले मोबाइलमा ‘नेपाल पुलिस एप’ डाउनलोड गर्नु पर्ने छ । एप डाउनलोड भएपछि साइन–अप गरी आफ्नो नाम, मोबाइल नम्बर, इमेल र ठेगाना भरेर पासवर्ड सेट गरेर एपमा लगइन गरेपछि उजुरी दिन सक्नेछन् ।

प्रमाणका लागि उजुरीकर्ताले फोटो, भिडिओ वा अडियोसमेत राखेर उजुरी सबमिट गर्न सक्ने व्यवस्था मोबाइल एपमा रहेको सूचना अधिकारी बोहराले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय दाङमा सेवा सुरु भएसँगै मोबाइल एपको प्रयोग गरेर तीन वटा उजुरी दर्ता भएका छन् ।

‘मोबाइल एपमार्फत् आउने उजुरीको प्रकृति हेरेर प्रहरीले आवश्यक कारबाही अघि बढाउने छ’, सूचना अधिकारी बोहराले भने, ‘प्रहरीमै मुद्दा चल्ने प्रकृतिका उजुरीमा कारबाही प्रक्रिया अघि बढाउने छ ।’ यसरी पठाइएको उजुरी जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमको ड्यासबोर्डमा पुग्नेछ ।

ड्यासबोर्ड मनिटर गर्ने प्रहरी अधिकारीले घटनाको प्रकृति हेरेर तत्काल आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउने पत्रकार सम्मेलनमा सूचना अधिकारी बोहराले जानकारी दिएका थिए । यसैगरी प्रहरीले जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीको सहजताका लागि तीन जना नागरिक सहजकर्ताका रूपमा प्रहरीलाई खटाएको छ । जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीको सहजतासँगै उनीहरूको मुद्दा प्रक्रियाबारे सहजकर्ताले जानकारी दिने गरेको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।

६६ जना फरार प्रतिवादी पक्राउ

यसैबिच प्रहरीले दाङमा वैशाख महिनामा ३३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतको फैसला अनुसार दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने प्रहरी अभियान अन्तर्गत वैशाख महिनाको अवधिमा ६३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका ६३ जनामध्ये पाँच जना १० वर्ष बढी समयपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी रेशम बोहराले जानकारी दिएका छन् । उनका अनुसार पाँच जना फैसलाको पाँच वर्षपछि र बाँकी ५३ जना पाँच वर्षभन्दा कम समयमा पक्राउ परेका हुन् ।

प्रहरी नायव उपरीक्षक बोहराका अनुसार वैशाख महिनामा नदी तथा खोलाबाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन् तथा ओसारपसारमा संलग्न ३२ वटा सावारीसाधनलाई नियन्त्रणमा लिएको छ । उक्त सवारीसाधनबाट १० लाख ३३ हजार सात सय १९ रुपैयाँ राजस्व सङ्कलन भएको छ । प्रहरीले राजस्व छली गरी अवैध रूपमा भित्राइएका विभिन्न सामग्री बरामद गरी एक महिनाको अवधिमा २३ लाख १५ हजार सात सय ११ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

१०३ उजुरी दर्ता

यसैबिच प्रहरीमा वैशाख महिनामा एक सय तीन वटा उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयसँगै मातहतका निकायमा एक महिनाको अवधिमा विभिन्न प्रकृतिका एक सय तीन वटा उजुरी दर्ता हुँदा ८६ जना पक्राउ परेको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिएका छन् । उनका अनुसार १५ जना फरार रहेका छन् । प्रहरीमा दर्ता भएका उजुरीमध्ये २४ वटा फस्र्योट भएका छन् भने बाँकी ७९ वटा अनुसन्धानका क्रममा रहेका छन् ।