सीमित स्रोत र साधनबाट नागरिकलाई स्वास्थ्य सेवा दिइरहेका छौँ : डा चौधरी [अन्तर्वार्ता]

लमही अस्पतालले देउखुरीका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । लमही नगरपालिकाले सञ्चालन गरेको आधारभूत अस्पतालका रुपमा रहेको लमहीले लमहीमात्रै नभएर राजपुर, गढवा र राप्ती गाउँपालिका नागरिकलाई समेत उपचार सेवा दिँदै आएको छ । सीमित स्रोत र साधनका कारण जिल्लाका कतिपय स्थानीय तहले आधारभूत अस्पताल सञ्चालन गर्न नसकिरहेको अवस्थामा लमही अस्पताले निरन्तर सञ्चालन गर्दै आएको छ ।  देउखुरी क्षेत्रकै प्रमुख केन्द्र लमहीमा रहेको अस्पतालले नागरिकलाई स्तरीय सेवा प्रदान गर्न नसकेको, जनशक्ति तथा औषधीको अभाव हुने नागरिकको गुनासो हुने गरेको छ । यसै सन्दर्भमा पत्रकार प्रियास्मृति गजमेरले लमही अस्पतालले प्रदान गर्दै आएका स्वास्थ्य सेवासँगै नागरिक गर्ने गरेका गुनासाका विषयमा लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट
डा. सुदीप चौधरीसँग गरेको कुराकानीको सारसंक्षेप ।
— लमही अस्पतालको वर्तमान अवस्था कस्तो छ ? अहिले कस्ता सेवाहरू सञ्चालनमा छन् ? 
लमही अस्पताल लामो समयसम्म प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सञ्चालन हुँदै आएको थियो । विगत केही वर्षदेखि १५ शैयाको अस्पतालका रूपमा सेवा प्रवाह गर्दै आएको छ । अहिले अस्पतालबाट दैनिक रूपमा ओपीडी सेवा, आकस्मिक सेवा, प्रसुति सेवा, ल्याब सेवा, खोप सेवालगायतका आधारभूत स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन भइरहेका छन् ।
अस्पतालमा उपलब्ध स्रोत साधनलाई उपयोग गरेर नागरिकलाई सहज, शुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन गरि लागिरहेका छाँै । नागरिक आएर स्वास्थ्य सेवा पनि लिइरहनुभएको छ । साथै अस्पतालमा न्यूनतम शुल्क लिएर पोस्टमार्टम सेवा प्रदान गर्दै आएका छौँ । सुत्केरी महिला तथा ज्येष्ठ नागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउँदै आएका छौँ । निःशुल्क एम्बुलेन्स सेवाले नगरभित्रका सुत्केरी तथा ज्येष्ठ नागरिकका लागि प्रभावकारी बन्दै गएको छ । आर्थिक रूपमा विपन्न नागरिकका लागि राहत पुगेको छ ।
— अस्पतालमा आउने बिरामीको अवस्था कस्तो छ ? 
लमही अस्पतालमा प्रायः बिरामीको चाप बढी नै हुने गरेको छ । दैनिक रूपमा करिब सयको हाराहारीमा बिरामीहरू सेवा लिन आउने गरेका छन् । लमहीमा अस्पताल भए पनि लमहीसँगै गढवा, राजपुरलगायतका ठाउँबाट बिरामी आउने गरेका छन् ।
ओपीडी तथा आकस्मिक सेवामा आउने बिरामीको सङ्ख्या निरन्तर बढिरहेको छ । यसले अस्पतालप्रति नागरिकको विश्वास बढ्दै गएको देखाउँछ । बिरामी बढ्दा सेवा दिन समस्या छ । बिरामीको आवश्यकता अनुसार सेवा विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ । तर सकिरहेका छैनौँ ।
लमही अस्पतालले उपलब्ध गराउँदै आएको सेवाका बारेमा सेवाग्राहीले पनि स्पष्ट रूपमा बुझ्न आवश्यक छ । अस्पतालमा हाल एकजना एमडीजीपी डाक्टरसहित चारजना चिकित्सक कार्यरत हुनुहुन्छ । बिरामी अस्पताल आएपछि स्वास्थ्यकर्मीको सुझाव र उपचार प्रक्रियामाथि विश्वास गर्नु आवश्यक छ । सीमित स्रोत र साधनबाट सेवा दिनुपर्दा बिरामीले खोजेको जस्तो सेवा नहुँन सक्छ । तर पनि हामी स्तरीय सेवा दिने गरी लागिरहेका छौँ ।
— सीमित स्रोतसाधनकाबिच सेवा दिन कत्तिको चुनौती छ ?
सीमित स्रोत र साधनकाबिच जनतालाई सेवा दिन चुनौती अवश्य हुन्छ । जनशक्ति, उपकरण तथा पूर्वाधारको सीमितताका बाबजुद हामीले सेवा निरन्तर सञ्चालन गरिरहेका छौँ । कहिले काहीँ आवश्यक उपकरणको अभाव वा जनशक्तिको कमीका कारण केही असहज अवस्था सिर्जना हुनसक्छ, तर त्यसलाई व्यवस्थापन गर्दै सेवाग्राहीलाई समस्या नहोस् भन्ने हाम्रो प्राथमिकता हो । उपचारका लागि अस्पतालमा आउने बिरामीलाई सकेसम्म उपचार दिएर पठाउनु हाम्रो धर्म हो । यद्यमी कहिले काही नसकेर बाहिर पठाउनु पर्ने अवस्था आउने गर्दछ ।
त्यो भनेको बिरामीको जटिल अवस्था, अस्पतालमा पयाप्त जनशक्ति र उपकरणको अभावका कारण हो । कहिले काही कुनै औषधी वा भ्याक्सिनको पनि अभाव हुन सक्छ । तर हामीले अस्पतालमा समस्या हुन नदिने गरी काम गर्दै आएका छौँ । देउखुरीका चारवटै पालिकाका साथै छिमेकी जिल्लाबाट समेत बिरामीहरू उपचारका लागि लमही अस्पतालमा आउने गर्छन् । सीमित स्रोतसाधनका आधारमा सञ्चालन भइरहेको अस्पतालका लागि यति धेरै बिरामीको चाप व्यवस्थापन गर्नु सहज छैन तर पनि उपलब्ध साधन र क्षमताभित्र रहेर हामीले सकेसम्म प्रभावकारी सेवा प्रदान गर्दै आएका छौँ ।
लमही अस्पतालमा उपचार सम्भव नभएको अवस्था आएमा हामी बिरामीलाई समयमै सुविधा सम्पन्न अन्य अस्पतालमा जान सल्लाह दिने गर्छौँ । त्यसैले बिरामीका आफन्तले पनि स्वास्थ्यकर्मीको सुझावलाई विश्वास गरेर सहयोग गरिदिनुपर्छ । लमही अस्पतालबाट हुन नसक्ने अवस्थामा मात्र बिरामीलाई उपचारका लागि बाहिर पठाउने गर्दछौँ नत्र लमहीमै उपचार गर्ने गरेका छौँ ।
— सेवा विस्तारका लागि अस्पतालले के पहल गरिरहेको छ ? 
सेवा विस्तारका लागि आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधार व्यवस्थापनमा अझै केही चुनौतीहरू रहेका छन् । यद्यपि, पहिलेको तुलनामा अहिले धेरै समस्याहरू क्रमशः समाधान हुँदै गएका छन् र बाँकी समस्याहरू पनि विस्तारै समाधान हुने विश्वास लिएका छौँ । यसका लागि हामी सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल गरिरहेका छौँ । सम्बन्धी निकाय भनेको लमही अस्पतालले पनि पहल गर्नुपर्छ । स्थानीय सरकारको मातहतमा रहे पनि प्रदेश वा संघ सरकारबाट पनि सहयोग भयो भने अस्पतालबाट थप सेवा दिन सहज हुन्छ ।
अस्पतालमा आवश्यक विशेषज्ञ जनशक्ति थप गर्ने, अत्यावश्यक स्वास्थ्य उपकरणको व्यवस्था गर्ने तथा सेवा प्रवाहलाई अझ व्यवस्थित बनाउने विषयमा स्थानीय सरकारसँगै प्रदेश र सङ्घीय सरकारसँग समेत सहकार्य आवश्यक रहेको छ । हाम्रो उद्देश्य आगामी दिनमा नागरिकलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु हो ।
लमही अस्पताल मुख्य राजमार्गसँग जोडिएको क्षेत्रमै रहेकाले यहाँ सवारी दुर्घटनाका बिरामीहरू धेरै आउने गर्छन् । त्यस्ता गम्भीर अवस्थाका बिरामीलाई तत्काल उपचार आवश्यक पर्ने भएकाले अस्पतालमा थप सुविधा विस्तार अपरिहार्य देखिन्छ । हालको अवस्थामा केही बिरामीलाई थप उपचारका लागि अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।
यदि लमही अस्पताललाई प्रदेश वा केन्द्र सरकारको विशेष प्राथमिकतामा राखेर प्रदेशस्तरको सुविधा सम्पन्न अस्पतालका रूपमा विकास गर्न सकियो भने देउखुरी क्षेत्रका साथै आसपासका जिल्लाका नागरिकले सहज रूपमा गुणस्तरीय उपचार सेवा पाउने छन् । साथै दुर्घटना तथा जटिल बिरामीहरूलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता पनि अन्त्य हुने विश्वास हाम्रो छ ।
— अन्त्यमा सेवाग्राहीलाई के भन्न चाहनुहुन्छ ?
लमही अस्पतालप्रति विश्वास गरेर सेवा लिन आउनुभएका सम्पूर्ण सेवाग्राही, स्थानीयबासी तथा सरोकारवाला सबैप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । सीमित स्रोतसाधन, जनशक्ति र पूर्वाधारका बाबजुद पनि हामीले नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौँ, र सेवा अझ प्रभावकारी तथा गुणस्तरीय बनाउन निरन्तर प्रयास गरिरहेका छौँ ।
कहिले काहीँ सेवा प्रवाहका क्रममा केही समस्या, ढिलाइ वा असहजता हुन सक्छन् । त्यस्तो अवस्थालाई लिएर निराश नहुनुहोस्, बरु आवश्यक सल्लाह सुझाव र रचनात्मक सहयोग दिनुहोस् भन्ने आग्रह गर्न चाहन्छु । तपाईंहरूको सुझावले हामीलाई कमजोरी सुधार गर्दै आगामी दिनमा सेवा प्रदान गर्न सहजसँगै सेवालाई थप व्यवस्थित बनाउन सहयोग पुग्नेछ ।
अस्पतालमा आउने बिरामी तथा आफन्तजनले स्वास्थ्यकर्मीहरूको सल्लाह, उपचार प्रक्रिया र अस्पतालको क्षमतालाई बुझेर सहयोग गरिदिनु पनि आवश्यक छ । हामीले सम्भव भएसम्म यहीँ उपचार सेवा प्रदान गर्ने प्रयास गर्छौँ र आवश्यक परेमा बिरामीको हितलाई ध्यानमा राख्दै सुविधा सम्पन्न अस्पतालमा जान सिफारिस पनि गर्छौँ ।
आगामी दिनमा लमही अस्पताललाई अझ व्यवस्थित, सुविधा सम्पन्न र नागरिकमैत्री स्वास्थ्य संस्था बनाउने हाम्रो लक्ष्य रहेको छ । त्यसका लागि स्थानीय सरकार, सरोकारवाला निकाय र आम नागरिक सबैको साथ सहयोग र विश्वास आवश्यक छ । फेरि पनि अस्पतालप्रति विश्वास देखाउनु भएका सबैमा धन्यवाद व्यक्त गर्न चाहान्छु ।