नारायण श्रेष्ठ
धार्मिक शास्त्रलाई मान्यता दिने हो भने जीवन पुण्य कर्म र शौभाग्यले मिलेको भनिन्छ । यसरी प्राप्त जीवन सधै चुनौती र अवसर बोकेर अघि बढेको देखिन्छ ।
जाने श्रीखण्ड, नजाने खुर्पाको विड भनेझै यदि जीवनको महत्व नबुझ्ने हो भने मानवीय जीवन केवल कोरा भावनाभित्र मात्र रोमलिरहन्छ । तसर्थ यसको महत्व र गरिमालाई बुझ्न जरुरी छ । जीवन कहिले घाम, कहिले छाया, समयको गतिसँगै बाल, युवा, वृद्ध हुँदै अघि बढेको सत्री हो ।
भनिन्छ– संघर्ष नै जीवनको अर्को रुप हो । त्यसैले संघर्ष, अवसर र चुनौतीसँगै अघि बढेको जीवनको प्रत्येक क्षणलाई यो मेरो जीवनको सफलतासँग गाँसिएको छ भन्ने सोच गरी अघि बढ्ने सङ्कल्प गर्नुपर्दछ । अहिले नगरे कहिले गर्ने, मैले नगरे कसले गर्ने भन्ने सोच र चिन्तन गरी प्राप्त समयलाई सदुपयोग गरेर जीवन नौंकालाई सहज गराउने दृढता गर्नुपर्दछ ।
सफलता उन्मुख जीवनको हरेक बाटामा आउने काँडालाई पन्छ्याउँदै जीवनलाई चलायमान बनाउनु पर्दछ । औंसीको रात पछिको परेवाको दिनमा झुल्कने चन्द्रमाको पहिलो किरणसँगै अघि बढेको पूर्ण चन्द्रमाको त्यो शीतल उज्यालो झै जीवनलाई बाल्यकालदेखि नै लगनशील र कर्तव्य परायण गराउँदै अघि बढ्ने सङ्कल्प गर्नुपर्दछ ।
शिक्षा र स्वास्थ्य जीवनलाई सफल बनाउने मुख्य आधार हुन् । त्यसैले यसको गम्भीरतालाई बुझ्न जरुरी छ । परिश्रम बिनाको कर्म र शिक्षाबिनाको जीवन साँच्चिकै दुःख र भावनाभित्र गुम्सिएको मानिन्छ । त्यसैले यो सत्यलाई आत्मसात गरी समुन्नत जीवनको गोरेटोमा आउने अनावश्यक सोच चिन्तन र कु प्रवृतिलार्ई हटाई सिर्जनाको नयाँ अध्याय सुरु गर्नुपर्दछ ।
जीवनलाई संघर्षमय वातावरणमा हुर्काउँदै अघि बढ्ने सङ्कल्प गर्नुपर्दछ । देख्दा खासै महत्व नदेखिने स्वास्थ्य र शिक्षा वास्तवमा जीवन जिउने महत्वपूर्ण आधार हो । त्यसैले पूर्ण चन्द्रमाको शीतलतासरी जीवनलार्ई सबैको आशा र भरोसाको केन्द्र बनाई ज्ञान र विज्ञानले परिपूर्ण स्वस्थ जीवन उच्च विचार प्रवाह गरी जिउने प्रयत्न गर्नुपर्दछ ।
सुन्दर शान्त र विशाल हृदय लिएर जीवनमा स्वतन्त्र र निर्भिक भएर अगाडि बढ्ने प्रेरणाको स्रोत बन्नुपर्दछ । समाजमा बढ्दै गरेको कुरुतिले निम्त्याएको जात, धर्म, वर्ण र संस्कृतिका कारण देखा परेको वैमानश्यतालाई हटाई, स्वच्छ र पवित्र चिन्तन गर्नुपर्दछ । बाँच र बचाऔँको सिद्धान्त बोकी हामी सबै एक हौँ भनी एकको लागि सबै र सबैको लागि एक भन्ने मनसायका साथ अघि बढ्नुपर्दछ ।
एकअर्कालार्ई सहयोग र सद्भाव बाँड्दै हाम्रो व्यवहार हाम्रो उन्नति र प्रगतिको आधार हो भनी समर्पित हुनुपर्दछ । आफू नमरे स्वर्ग देखिँदैन भनेझैँ सुकर्मबाट आफूलार्ई पहिचान गराउनुपर्दछ ।
सुनसान सडक छ तपाईँ गाडी चलाइरहनुभएको छ, बाटोमा गाईभैँसी बसेका छन्, सडक किनारा ढुंगा मुढा छन्, सुनसान त्यो बाटोमा तपाईं एक्लै गाडी चलाइरहनुभएको छ । गाईभैँसी हटुन भनी हर्ण पनि दिइरहनु भएको छ तर पनि गाईभैँसी सडकमा बसिरहेका छन् । यस्तो अवस्थामा तपाईँ आफ्नो गाडीलार्ई अगाडि बढाउन पनि सक्नुहुन्न र तपाईं रोकिने मनसायमा पनि हुनुहुन्न भने त्यो तपाईंको लागि दुर्भाग्य मानिन्छ ।
सडक बन्दैमा सबै चिज हुने होइन । सडकमा हिँड्ने पशु चौपायाको लागि पनि हामीले त्यत्तिकै सम्मान गर्न सिक्नुपर्छ । यसको लागि तपाईँ आफू स्वयम् गाडीबाट ओर्लेर गाईभैँसीलार्ई निश्चित गन्तव्यमा जान सहयोग गरी सडकलार्ई खाली गराएर आफू गाडीमा बसी गन्तव्य निर्धारण गर्नुपर्दछ । यसको लागि आफै लाग्नुपर्छ ।
अरुले गरिदेला र मलाई मेरो गन्तव्य सहज होला भन्ने इच्छा राख्नुभयो भने त्यो तपाईंको लागि प्रति उत्पादक पनि बन्न सक्छ । त्यसैले जे गर्नुपर्छ म आफैले गर्नुपर्छ भन्ने चिन्तन र सोच बढाई आफूलार्ई सकारात्मक गन्तव्यतर्फ लैजान जरुरी हुन्छ । मानवीय जीवनशैलीमा ज्ञानको आधार तयार गर्न आफू स्वयम्् त्यसमा समाहित हुनुपर्दछ ।
जीवन हो जो आज आज भोलि–भोलि भन्दैमा अगाडि बढ्छ भन्ने सोच राखी सधैँ आलश्यको साथी बन्न रुचाउनु हुनुहुन्छ भने त्यो जीवन व्यर्थको जीवन बन्न सक्छ । सपना सधैँ अधुरो भइरहन्छ । तसर्थ ज्ञानरुपी अमृत पिउँदै आफूलार्ई स्वस्थ, फुर्तिलो र जागरिलो बनाई अन्तर हृदयभित्र लुकेको कल्पनाको साकार सत्यलार्ई उजागर गर्न आफै सङ्कल्पित हुनुपर्दछ ।
अहिले भौतिक उन्नतिको प्रभावले हामीले हाम्रो घर आँगन कोठा–छोटा स्वीच दबाएर उज्यालो र अध्यारो बनाउँछ । वास्तवमा यसको मूल कारण शैक्षिक गुण र विज्ञानले ल्याएको परिवर्तन हो । ज्ञान र सिपको आधारमा खोज अनुसन्धान गरी प्राप्त गरेको उपलब्धी हो । यसभन्दा पूर्व केही समय अगाडि पहाडमा दियालोको माध्यमबाट उज्यालो बनाउने प्रचलन थियो ।
जो अहिले पनि दुर्गम गाउँबस्तीमा भइरहेको हुनुपर्छ । दियालो भन्नाले सल्लाको रुखबाट निकालिएको काठका साना–साना दाउराको मुठा बनाई बाल्ने चलन भन्ने बुझिन्छ । यही दियालो सल्काई बाटोघाटो घरदैलो उज्यालो बनाउने प्रचलन पनि थियो हिजो । जसरी उहिले दियालोको भरमा उज्यालोको प्रत्याभूति गराइन्थ्यो शिक्षा र विज्ञानको अभावमा थियो, जीवन संघर्षमय थियो, तर अहिले त्यो अवस्था छैन ।
तसर्थ हिजोको परिवेशलाई बुझेर वर्तमानमा जीवनले जे जति उतारचढावको सामना गर्दै यो अवस्थामा आइपुगेको छ, यसलार्ई अझ कसरी परिमार्जित गर्दै अन्तर हृदयभित्रको सपना पूरा गर्ने हो, त्यसतर्फ सबैको ध्यान जानु जरुरी छ । माया र मोहबाट उत्पन्न आलश्य र स्वार्थलार्ई परित्याग गरी ज्ञानचक्षु खोल्नुपर्दछ ।
यदि यस्तो हुन सकेन भने आफू र समाजमा हुने जति पनि विकृति छन् ती सबैको कारक स्वयम् आफूमा रहन सक्ने अवस्था रहन्छ । बलिरहेको एउटा लाल्टिनले संसार उज्यालो बनाउँछ भनिन्छ । यसको महिमा पनि गाइन्छ तर के एउटा लालटिनले संसार उज्यालो हुन्छ र रु झ्वाट्ट हेर्दा यो अप्रत्यार लाग्दो जस्तो देखिन्छ तर यसभित्रको सत्य बुझ्ने हो भने लालटिन समाउने व्यक्ति जसरी अगाडि बढ्दै जान्छ त्यसरी नै उसका प्रत्येक पाइलाहरुमा उज्यालोको अनुभूति हुँदै जाने संस्कृतिलाई बुझ्ने हो भने लालटिन समाउने जहाँ–जहाँ जान्छ त्यहाँ–त्यहाँ उज्यालो हुने कुरा यथार्थ बन्दै गएको धेरै उदाहरण पाइन्छ । यो सबै आफूभित्रको ज्ञान र विवेकको प्रतिफल हो ।
जीवनको अर्को नाम संघर्ष हो भन्ने मान्यता बोकेको मानवीय जीवनको सोच चिन्तनभित्रको यथार्थ धरातलार्ई केलाएर हेर्ने हो भने जहाँ संघर्ष छ, त्यहाँ सफलता भएको पाइन्छ । त्यस्तै जीवनमा पनि सधैं उज्यालो भइरहन्छ भन्ने पनि मान्नु हुँदैन सबै सत्य मान्न सकिँदैन । औँसीपछिको पूर्णिमा आएर उज्यालो भएको अनुभूति भए पनि पुनः पूर्णिमा पछिको औंसीमा अध्यारो हुने कुरा लुकाएर लुक्न सक्दैन । यो त प्रकृतिको नियम हो ।
सूर्य पूर्वबाट उदाउँछ पश्चिममा अस्ताउँछ र फेरि पूर्वबाट उदाउँछ । यो त घुमिरहने चक्रको इतिहास हो । त्यस्तै जीवन पनि जन्मन्छ, हुर्कन्छ, मर्छ र पूर्ण जन्म हुन्छ । त्यसैले यो जन्म हाम्रो शौभाग्यले प्राप्त भएको हो भन्ने मान्यता राखिएको हो । तसर्थ यो जन्मको सार्थकता हाम्रो जिम्मेवारी हो भन्ने मान्यता राखी ज्ञान र विवेकको माध्यमबाट आफूलार्ई समाजको सच्चा पहरेदार बनाउनु पर्दछ ।
हिजो के थियो आज के भइरहेको छ र भोलि के हुने हो त्यसको चिन्ता गरिरहनु हुँदैन । वर्तमानमा जे जस्ता अप्ठ्यारा–अप्ठ्यारा कुराहरु आउँछन् त्यसलार्ई समाधान गर्दै मेरो जन्मको उद्देश्य भनेको मेरो कर्म र व्यवहार र मेरा सपनालार्ई पूरा गर्ने हो भन्ने सोची जीवनलार्ई सहज रुपले अगाडि बढाउँदै लैजानुपर्दछ ।
जसरी दिन सप्ताह सप्ताह महिना र महिना वर्षौ भएर युग परिवर्तन हुन्छ त्यसरी नै नित्य र सकारात्मक कर्मबाट पनि परिपोषित सामाजिक रुपरेखाले भविष्यलाई उज्यालो बनाउन मद्दत गरिरहेको हुन्छ । बुद्धले ज्ञानको ज्योति हासिल गरेर जसरी अमर बनेको इतिहास अहिले पनि पाइन्छ वास्तवमा यो उनले गरेको सकारात्मक खोज र चिन्तनको परिणाम हो ।
यसरी नै हिजोको इतिहासलार्ई केलाउने हो भने कयौँ वैज्ञानिकले ज्ञानको साधक बनेर समाजलार्ई परिस्कृत गर्दै युगलार्ई रुपान्तरण गरेको इतिहास पाइन्छ । त्यसैले हतार मनस्थितिमा होइन सम्यम र धैर्यशील भई आज नभए भोलि अवश्य सफल हुन्छु भनी आफूलार्ई प्रस्तुत गर्नुपर्दछ । कर्म र व्यवहारमा सकारात्मक धारणा विकसित गरी आफूलार्ई समर्पित गर्नुपर्दछ ।
कलकल वग्ने झरनामा कति पानी बग्यो भनी त्यसतर्फ ध्यान नदिई बगेको सङ्लो पानीले तिर्खाएको मनको प्यासलार्ई मेटाई प्रत्येक वुतले म कसरी सिञ्चित भएको छु, यो बुद कसरी मेरो जीवनको हिस्सा बनेको छ भन्ने चिन्तन गर्नुपर्दछ । कल्पनाको महलमा होइन अन्तर हृदयभित्र लुकेको सपनाको यथार्थ धरातलमा आफूलार्ई उभ्याई मेरो कर्म र व्यवहारबाटै नयाँ युगको सुरुवात गर्न सक्छु भन्ने दृढ सङ्कल्पका साथ आफूलाई प्रस्तुत गर्न सिकौँ । वर्तमान यही खोजिरहेको छ । चेतना भया ।