गोविन्द रिजाल
सामाजिक सञ्जालमा आधिकारिक जानकारी हनुपूर्व नै दाङ जिल्लामा दुई जना कोरोनाका संक्रमित पुष्टि भएको कुरा आइरहँदा यसलाई आधिकारिक पुष्टि गर्न स्वास्थ्य मन्त्रालयलाई करिब पौने दुई घण्टा लागेको थियो । विभिन्न सामाजिक सञ्जालमा आएका समाचार र अनलाइनमा आएका समाचारलाई पुष्टि गर्ने प्रयास हुँदै गर्दा रातिको सवा ८ बजिसकेको थियो । त्यसपछि पुष्टि भयो कि दाङमा दुईजनामा संक्रमित देखिए भनेर ।
संक्रमित पुष्टि भएसँगै जिल्लाका सबै सुरक्षा निकाय र सरोकारवाला स्थानीय सरकार प्रमुख र जिल्ला स्वास्थ्य कार्यालयबीच पनि फोन सम्पर्क भइरहेको थियो । देउखुरीको गढवामा २ जना संक्रमित भएको र उनीहरु ‘लोकेट’ भएको सबै प्रोफाइलहरु लिइसकेका थियौँ । काममा केही तनाव त हुन्छ नै, तर हामीले त्यसलाई बानी बनाइसकेका छौँ । किनकि दिनदिनै यस्तै काम गरिरहँदा तनाव भन्ने शब्दै हाम्रोमा हुँदैन । किनकि हामीले दैनिक जिम्मेवारीको काम गरिरहेकै छौँ । त्यसलाई थप प्रभावकारी र थप फलदायी कसरी बनाउने भन्नेमा मात्रै हाम्रो ध्यान हुन्छ ।
नेपालका सीमा क्षेत्रहरुमा दिनदिनै एकपछि अर्को गरी कोरोनाका संक्रमित पुष्टि भइरहेको अवस्थामा दाङ जिल्ला पनि अछूतो रहन सक्दैन भन्ने सोचका साथ हामीले मनस्थिति बनाउने र तयारी गर्ने त गरिरहेकै थियौँ । अझ भन्नुपर्दा भारतमा लकडाउन खुकुलो भएसँगै नेपाल भित्रिने भारत आवासीय नेपाली आइसकेको अवस्थामा अझै अवस्था विकराल हुनसक्ने हाम्रो प्रक्षेपण पनि हो । यस्तो अवस्थामा हामी वेतुकका विषयमा समय खेर फाल्ने अवस्था नै रहँदैन ।
हामीले अनुमान गरिसकेका थियौँ, देउखुरीको गढवाका संक्रमितका विषयमा । किनकि उनीहरुलाई स्थानीय पालिकाले शंकास्प्रद भनेको थियो । त्यसैले त उनीहरुको पहिलो पटक स्वाब परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोजेटिभ आएपछि फेरि पुष्टि गर्न नेपालगञ्जको ल्यावमा लगिएको थियो । त्यहाँको परीक्षणमा पनि पोजेटिभ देखिएपछि सरकार ढुक्क भयो, समाचारमा दाङ जिल्लामा ३ जना कोभिड—१९ का विरामी पुष्टि भनेर मन्त्रालयबाट विज्ञप्ती आयो । प्रतिष्ठानले पनि दुई जनामा देखिएको भनेर विज्ञप्ति निकाल्यो ।
गढवाका २ जनाको विषयमा स्थानीय पालिकासँग समाचारपछि नै खोजी सुरु भएको थियो । उनीहरुको भ्रमण प्रोफाइल लियौँ, उनीहरुले भारतमा रहँदा काम गरेको सहरको कोरोना संक्रमणको अवस्थाका विषयमा पनि जानकारी लियौँ । उनीहरु सम्पर्कमै थिए, आइसोलेशनमा ल्याउन कुनै समस्या थिएन । थप एक जना तुलसीपुर उपमहानगरपालिका–७ का भनिएको थियो, तर उनको कोरोना परीक्षण ५ नम्बर प्रदेशमै गरिएको थिएन । अझैसम्म पनि उनको अवस्थाका विषयमा सम्बन्धित निकायले पुष्टि गरेका छैनन्, तैपनि स्थानीय प्रशासकका नाताले यो विषयमा पनि अनौपचारिक जानकारी लिइरहेको छु । यद्यपि अझै पनि केही तथ्य खुलेको छैन । जहाँ स्वाब परीक्षण गरिएको थियो, त्यहीँबाटै ती व्यक्तिको पहिचान हुनुपर्ने हो । त्यसैले पनि धेरै सोधीखोजी हाम्रो विषय बनेन । प्रतीक्षा गरौँ, सायद ती अर्का संक्रमितका विषयमा पनि नेपाल सरकारले पाठकले यो सन्देश पढ्नु अघि नै जानकारी गराइसक्ने छ ।
राति नै संक्रमितलाई ल्याउनुपर्छ भन्ने विषय हाम्रो मुख्य मिशन थियो । संक्रमितहरु सम्पर्कमै हुनुहुन्थ्यो । सकेसम्म स्थानीय पालिकाकै एम्बुलेन्समा ल्याउने भन्ने थियो । एम्बुलेन्सको पनि जोहो भयो । सुरक्षा व्यवस्थापनको तयारी पनि सँगसँगै गरियो । राति ९ बजे एम्बुलेन्सको अन्तिम टुङ्गो लागिसकेको थियो । तर संक्रमितका परिवारलाई पनि सम्पर्क ग¥यौँ, उहाँहरुले एकघण्टा समय माग्नुभयो, आन्तरिक तयारीका लागि । हामीले सहज रुपमा स्वीका¥र्यौँ । अनि राति १० बजे एम्बुलेन्स मार्फत् बेलझुण्डीको कोरोना अस्पताल ल्याइपु¥यायौँ। विरामीहरुसँग पनि कुरा गरेँ, आफन्तसँग पनि कुरा गरेँ । उहाँहरु अस्पतालमा बसेर उपचार गर्न पाउँदा अत्यन्तै खुशी हुनुहुन्छ । अस्पतालको व्यवस्थापन पनि राम्रै छ ।
हामीलाई अब खोजीको विषय भनेको उहाँहरुको सम्पर्कमा आएका व्यक्तिहरुको हो । त्यसका लागि पनि सम्बन्धित पालिका प्रमुखहरु तथा स्थानीय तहका सुरक्षा निकाय र अनुसन्धान अधिकारीहरु समेत परिचालन गरिसकेका छौँ । सम्भव भएसम्म उहाँहरुको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पनि खोजी गरी कोरोना परीक्षणको दायरामा ल्याउनु नै हाम्रो प्रमुख दायित्व भन्ने सम्झेका छौँ । यसमा आम नागरिक तथा स्थानीय सरकार र सुरक्षाकर्मीहरुको पनि साथ र सहयोगको अपेक्षा गरेका छौँ । गढवाका विरामी बेलझुण्डीको कोरोना विशेष अस्पताल भर्ना भइसकेपछि राति साढे ११ बजे निदाएको थिएँ ।
गोरक्षकर्मी खेमराज रिजालसंगको कुराकानीमा आधारित