खेमराज रिजाल
दाङ, ३ जेठ । नयाँ सरकार गठन भएको करिब दुई महिना पूरा भएको छ । यस बिचमा सरकार स्वयम् निजी मिडियाप्रति कडा रूपमा प्रस्तुत भयो । तीनै तहका सरकारी कार्यालयले निजी सञ्चार क्षेत्रलाई उपलव्ध गराउने टेन्डर ‘नोटिस’मा ठुलो आर्थिक घोटाला भएको निष्कर्षसहित नयाँ सरकारले मिडियाप्रति नयाँ नियम बसाल्यो, सरकारी विज्ञापन सरकारी मिडियामा मात्रै प्रकाशित गर्ने ।
गोरखापत्र एक मात्र सरकारी स्वामित्वको छापा सञ्चारमध्यम हो । जसलाई सबै पालिका, संघ र प्रदेशका विज्ञापन छाप्न ठुलो सङ्ख्यामा जनशत्ति थप्नु प¥यो, पृष्ठ सङ्ख्या करिब तेब्बर बनाउनु प¥यो । त्यसको केही दिनपछि सरकारको अर्को निर्णय आयो, टेन्डरका सूचना नछापे पनि हुने, गोरखापत्र फेरि खुम्चियो ।
अहिले निजी छापामाध्यम त टेन्डर ‘नोटिस’विहीन बने, गोरखापत्र पनि फेरि आफ्नै साइजमा आयो । अब त समाचार र सूचनाको आधार नै सामाजिक सञ्जाल बनेको छ । कहीँकतै एआई निर्मित कपोलकल्पित सामाजिक सञ्जालले दिने सूचनाले भने पाठकलाई झुक्याउने गरेको देखिन्छ । सरकारले यसको निगरानी बढाउनुको साटो पछिल्लो समय सरकारी सूचनासमेत धमाधम फेसबुक पेजमा आइरहेका छन् ।
जसको आधिकारिकता पुष्टि हुनुपर्छ वा यसैलाई आधिकारिकता मान्ने भन्ने एउटा बहसको विषय बनेको छ । सरकारले सरकारी सूचना निजी सञ्चारमाध्यमलाइ उपलब्ध नगराउने तथा निजी सञ्चारमाध्यमहरूलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको अनुदानसमेत रोक्ने तरखर गरिरहँदा अब मुलुकलाई सरकारी छापा चाहिन्छ वा चाहिदैन भन्ने बहस बनेको छ ।
अहिले पनि सरकारी छापा तथा विद्युतीय माध्यमका पाठकहरूको अवस्था अत्यन्तै कमजोर छ । सरकारी सञ्चारमाध्यम प्रतिको जनविश्वास नै ‘कोल्याप्स’को स्थितिमा छ । यही विषयमा हामीले तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रामप्रसाद चालिसेलाइ सोधेका थियौँ, ‘पूर्व अध्यक्षज्यु, तपाईंले गोरखापत्र पढ्नुहुन्छ ? रेडियो नेपाल सुन्नुहुन्छ ? नेपाल टेलिभिजन हेर्नुहुन्छ ?’
प्रत्युत्तरमा चालिसेले भनेका थिए, ‘गोरखापत्र नदेखेको त धेरै भइसक्यो, सूचना प्रविधिको बढ्दो प्रयोगले मेरो टेलिभिजन पनि दिनहु जसो खुल्दैन सायद, रेडियो नेपाल सुन्नुको कुनै तुक छैन । मैले मोबाइलभित्रै विश्वको यात्रा गरिरहेको छु ।’ ‘त्यसो भए सरकारी सञ्चारमाध्यमको औचित्य देख्नुहुन्न ?’ उनले भनेका छन्, ‘सायद कुनै कानुनी÷अदालती प्रक्रियामा अझै बाध्यात्मक छ कि सरकारी छापा तर मलाइ याद भएन । भारतीय सञ्चारमाध्यम प्रधानमन्त्रीको किचन क्याविनेटमा छिरिसक्दा नेपाल टेलिभिजन हेरेको हे¥यै छ भने सरकारी सञ्चारमाध्यमको औचित्य के हो ?’ चालिसेले प्रतिप्रश्न गरे ।
गोरखापत्र दैनिक नेपाल सरकारको स्वामित्वको पत्रिका हो । सरकारसँग यसको पहुच हुन्छ वा सरकारी समाचारको विश्वसनीयता हुन्छ भनेर सरकारी सञ्चारमाध्यम खोज्ने हो तर केही दिनअघि गोरखापत्र दैनिकमा प्रकाशित एउटा समाचार प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई उल्लेख गर्दै प्रकाशित गरिएको थियो । कारण गोरखापत्रसँग पनि प्रधानमन्त्रीको ‘एक्सेस’ कमजोर छ ।
खोजेन वा खेजेर उपलव्ध नभएका कारण फेसबुक स्टाटसलाई समाचार बनाएर प्रकाशित गरियो । नेपाल सरकारको स्वामित्व भएको एक मात्र पत्रिकाले पनि प्रधानमन्त्रीको समाचार फेसबुक वालबाट बनाउँछ भने सरकारी छापाको औचित्य खोई ? आमनागरिक र पाठकहरूले पछिल्लो समयमा यही खोजिरहेका छन् ।
सरकारी सञ्चारमाध्यमहरूको औचित्यवारे हामीले नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झासँग पनि कुरा गरेका छौँ । झा भन्छन्, ‘सरकारले सञ्चारमाध्यम चलाउनुको कुनै औचित्य छैन, अहिलेको सूचना प्रविधिको युगमा त सरकारको सञ्चारमाध्यममा भएको लगानीको शून्य प्रतिफल मात्रै देखिन्छ ।’ पत्रकार झा राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष पनि हुन् । उनको अनुभवले अब सूचना प्रविधिले विश्व समुदायलाई नै कभर गरिसकेकाले सरकारले सञ्चारमाध्यम चलाउनुको कुनै औचित्य नभएको देख्छन्, उनी ।
प्रधानमन्त्री कार्यालयको हवाला दिँदै प्रकाश खड्का भन्ने व्यक्तिले टेलिफोन गरी एक जना वडा सचिव कमल भण्डारीलाई बेस्सरी हप्काए । त्यसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गम्भीर ध्यानाकर्षण भयो तर त्यो ध्यानाकर्षणको आधिकारिक समाचार फेसबुक पेजमै सार्वजनिक भयो । अन्ततः ती कर्मचारीलाइ हप्काउने व्यक्ति पनि तत्काल पक्राउ परे । जुन सूचनाका लागि सरकारले गोरखापत्र कुर्नु परेन, रेडियो नेपालमा यो सूचना आएन, टेलिभिजनमा पनि सायद यो सूचना अलि ढिलो प्रशारण भयो कि ?
सूचना प्रविधिको विकास क्रमले नेपाली सञ्चार जगतलाई मात्र ध्वस्त बनाएको छैन, बिबिसी समाचार एजेन्सीले पनि हजारौँ कर्मचारी कटौती गर्नुपरेको छ । हेराल्ड ट्रिवन जस्ता पत्रिकाहरू बन्द हुने अवस्थामा छन् । अहिले अनलाइनले समाचारको भरथेग गरेको छ, सामाजिक सञ्जालले सूचनाको भोक मेटाएको छ । लेखनी र पढ्ने अभ्यास विस्तारै हराउँदै गएको छ । छापामाध्यमको भविष्य के हुने भन्ने चासो सर्वत्र छ तर जोगाइराख्ने भन्ने चासो र चिन्ता कहीँकतै छैन ।
घरघरका टेलिभिजनको मोनिटरमा पर्दा लगाइएका छन् । भित्तामा झुन्ड्याइएका गाउघरका रेडियोमा धमिरा लागिसकेको छ । एफएम स्टेसनहरूले ‘ननस्टप’ गीत बजाइरहेका छन् । ‘छोरा विदेशमा छन्, घरघरमा वाइफाई जोडिएका छन्, बुहारीका हातमा आइफोन छन्, के लाई चाहियो सरकारी सञ्चारमाध्यम’, दुधरासमा शनिवार बिहानै भेटिएका स्थानिय डिल्ली बुढाथोकी भन्दै थिए … ।