अन्धोपन न्यूनीकरणमा थप जिम्मेवार बन्न आग्रह

गोरक्ष समाचारदाता
दाङ, ३ जेठ । नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य एवम् दाङ शाखाका सभापति कृष्णकुमार गिरीले अन्धोपन न्यूनीकरण अभियानलाई प्रभावकारी बनाउन कर्मचारीलाई थप जिम्मेवार र प्रतिबद्ध भएर काम गर्न आग्रह गरेका छन् । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित अस्पतालहरूमा पदोन्नति भएका तथा नवनियुक्त कर्मचारीबिच आयोजित शुभकामना आदानप्रदान एवम् बजेट तर्जुमा कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गिरीले दाङमा दृष्टिविहीनताको दर घटाउन चिकित्सक तथा कर्मचारीको लामो समयदेखिको मेहनत र समर्पण महत्वपूर्ण रहेको उल्लेख गरे । उनले पद अनुसारको जिम्मेवारी र दायित्वलाई आत्मसात् गर्दै सेवामुखी भावनाका साथ काम गर्न कर्मचारीलाई आग्रह गरे । उनले भने, ‘नेपाल नेत्रज्योति संघ, कर्मचारी प्रशासन र चिकित्सकबिचको समन्वय तथा सहकार्यका कारण दाङ शाखाले अन्धोपन न्यूनीकरणमा उदाहरणीय काम गर्न सफल भएको छ ।’ कार्यक्रम नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पताल प्रशासनिक समितिका संयोजक लीला शाहको अध्यक्षतामा भएको थियो । छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगन्जका प्रशासक जसराज विकलको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।

कार्यक्रममा अस्पतालका प्रमुख प्रशासक डा. सम्शेर थापाले पदोन्नति भएका कर्मचारीलाई कार्यसम्पादनका जिम्मेवारी तथा सेवाका क्रममा ध्यान दिनु पर्ने विषयमा प्रशिक्षण दिएका थिए । उनले आँखा स्वास्थ्य कार्यक्रमको नीति र परिधि भित्र रहेर सेवाप्रवाह गर्न निर्देशनसमेत दिएका थिए । सो अवसरमा नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्का, राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक ध्रुव गौतम, संघका सहकोषाध्यक्ष प्रणव खड्का, सदस्य तारा पोख्रेल, चिफ मेडिकल डाइरेक्टर सुलक्ष्मी कटुवाल, राप्ती आँखा अस्पतालका सहायक प्राध्यापक डा.रञ्जितकुमार शाहलगायतले अन्धोपनको वर्तमान अवस्था र भावी कार्यदिशाबारे धारणा राखेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आँखासम्बन्धी अस्पताल तथा उपचार केन्द्रहरूले गरेको प्रगतिबारे बरिष्ठ लेखा अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण राप्ती आँखा अस्पताल तुलसीपुरका व्यवस्थापक शशि लामिछानेले गरेका थिए । कार्यक्रममा अमृत नेपाल, विष्णु खनाल र प्रेमा सापकोटाले विषयगत उपलब्धिबारे प्रस्तुति राखेका थिए ।