शब्दभित्र जीवन खोज्ने उपन्यासकार : मालिका केशरी

नुमाकान्त पौडेल

व्यक्ति परिचय

नेपाली साहित्यको आकाशमा समय समयमा केही त्यस्ता नामहरु देखापर्छन् । जो केवल लेखकका रुपमा होइन, समयका संवेदनशील साक्षीका रुपमा उदाउँछन् । उनीहरुका शब्दहरुमा समाजको मौन पीडा बोलिरहेको हुन्छ, जीवनका असङ्ख्य अनुभवहरु धड्किरहेका हुन्छन् र समयका घाउहरु बिस्तारै मल्हम लगाइरहेको अनुभूति हुन्छ ।

समकालीन नेपाली साहित्यमा साहित्यिक नाम “मालिका केशरी”बाट परिचित उपन्यासकार प्रकाश कुमार श्रेष्ठ त्यस्तै एक स्रष्टा हुन् । जसले आफ्नो लेखनलाई केवल अभिव्यक्तिको माध्यम बनाएनन्, बरु समाज, संवेदना र समयसँगको गम्भीर संवादका रुपमा स्थापित गर्न सफल भए ।

मालिका केशरीका सिर्जना जीवनको प्रवाहमा समय निरन्तर बगिरहेको प्रतीत हुन्छ । कहिले आँधीको रुपमा, कहिले सम्झनाको धुवाँ बनेर त कहिले आशाको उज्यालो बनेर उनका पात्रहरु प्रवाहित भइरहेका हुन्छ । उनका कथाका पात्रहरु समाजका जीवित अनुहार हुन्, जो प्रेम गर्छन्, पीडा सहन्छन्, सङ्घर्ष गर्छन् त कतै आफ्नै अस्तित्वको खोजमा भौतारिन्छन् । यही कारण उनका उपन्यास पढ्दा पाठकले कथा मात्र पढिरहेको हुँदैन, उसले आफ्नै समय, आफ्नै समाज र कतै न कतै आफ्नै जीवनलाई स्पर्श गरिरहेको अनुभव गर्छ ।

उनको चर्चित उपन्यास “दुङाल” नेपाली साहित्यमा एउटा गहिरो संवेदनाको दस्तावेज जस्तै बनेर आएको कृति हो । उक्त उपन्यासमा समाजका वर्गीय अन्तर, मानवीय सङ्घर्ष, पहिचानका लागि गरिएको विद्रोह र मानव जीवनका अपूरा सपनाहरुलाई अत्यन्त मर्मस्पर्शी ढङ्गले प्रस्तुत गरिएको छ ।

“दुङाल” का पात्रहरु पीडाभित्र बाँचेका मानिसहरु हुन्, जसका आँखामा सपना छन् तर ती सपनाहरु समय र परिस्थितिका कठोर ढुङ्गामा बारम्बार ठोक्किन्छन् । यही जीवनसापेक्ष यथार्थ र कलात्मक अभिव्यक्तिका कारण उक्त कृतिले पाठक र समालोचक दुवैको मन जित्न सफल भयो । “आभास उत्कृष्ट साहित्य पुरस्कार”बाट सम्मानित हुनु केवल एउटा पुरस्कार प्राप्त गर्नु मात्र होइन, नेपाली साहित्यले उनको सिर्जनात्मक सामथ्र्यलाई स्वीकार गर्नु पनि हो ।

यसैगरी “सुवर्णलता” उपन्यासले मानवीय संवेदनाको अर्को गहिरो तह उजागर गरेको छ । यस कृतिमा जीवनका अव्यक्त पीडा, प्रेमका मौन आयाम र समाजभित्र दबिएका भावनाहरुलाई अत्यन्त सूक्ष्म ढङ्गले प्रस्तुत गरिएको पाइन्छ । उक्त कृति “पहिचान पुरस्कार” को सूचीमा समावेश हुनु मालिका केशरीको साहित्यिक उचाइको प्रमाण हो । उनका सिर्जनामा भावनाको गहिराइ छ तर त्यो केवल भावुकतामा सीमित छैन । त्यहाँ विचारको ताप पनि छ, समाजप्रतिको प्रश्न पनि छ र मानवीय अस्तित्वप्रतिको चिन्ता पनि छ ।

मालिका केशरीको लेखनको विशेषता भनेकै त्यसको लयात्मक गम्भीरता हो । उनका शब्दहरु पढ्दा कतै कविता बगेझैँ लाग्छ, कतै जीवन आफैँ बोलिरहेको अनुभूति हुन्छ । उनी भाषा प्रयोगमा भावनाको स्वाभाविक सौन्दर्यलाई प्राथमिकता दिन्छन् । त्यसैले उनका वाक्यहरु केवल पढिने होइनन्, महसुस गरिन्छन् । उनका सिर्जनामा प्रकृति, समय, स्मृति र मानवीय मनोविज्ञान अद्भुत ढङ्गले मिसिएका पाइन्छन् । उनी जीवनका सामान्य घटनाभित्र पनि असामान्य संवेदना खोज्न सक्ने लेखक हुन् ।

प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको उनको समर्पण उत्तिकै उल्लेखनीय छ । भौगोलिक दूरीले उनको साहित्यिक चेतनालाई कहिल्यै टाढा बनाउन सकेन । बरु प्रवासको एकान्त, विस्थापनको अनुभूति र मातृभूमिप्रतिको स्मृतिले उनका सिर्जनालाई अझ गहिरो बनाएको देखिन्छ । उनी साहित्यलाई केवल व्यक्तिगत अभिव्यक्ति मान्दैनन्; उनी यसलाई भाषा, संस्कृति र पहिचान जोगाउने एउटा मौन अभियानका रुपमा लिन्छन् ।

आजको तीव्र गतिमा बदलिँदो समय, प्रविधिको चमक र संवेदनाहीन बन्दै गएको समाजका बिच मालिका केशरीका सिर्जनाहरु मानौँ थाकेको मनलाई छुने एउटा शान्त स्पर्श हुन् । उनी भन्छन्, “लेखकको शब्दहरुमा जीवनको धड्कन सुनिनु पर्छ, समयको गोरेटो छोइनु पर्छ, भविष्यको मौन सन्देहभित्र पनि एउटा आशा केरिएको हुनुपर्छ ।” यही कारण उनका लेख रचनामा संवेदनशीलता र गम्भीर्यताको अनुभूति पाठकले महसुस गर्दछन् । जो समयसँगै हराएर जाने नभई पाठकको स्मृतिमा बसिरहनेछ नाम हुनेछ मालिका केशरी ।