आलोक भावुक
गढवा, २ जेठ । गढवा गाउँपालिकालाई शुक्रवार एक कार्यक्रमकाबिच पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । खोपको सबै मापदण्ड पूरा गरेको गढवा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको हो ।
गढवा गाउँपालिका अध्यक्ष तथा पालिका स्तरीय खोप समन्वय समितिका संयोजक यमनारायण शर्मा पोख्रेलको अध्यक्षता, जिल्ला समन्वय समिति दाङका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक नित्यानन्द शर्माको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले खोप नेपाल सरकारको पहिलो प्राथमिकताको पहिलो कार्यक्रम भएको बताउँदै देशका कोही पनि रोगी नहोऊन् भन्ने मान्यताका साथ बच्चा जन्मिनेबित्तिकै १५ महिनाभित्र विभिन्न औषधी खोपको माध्यमबाट दिने गरेको बताए । गढवा गाउँपालिका र स्वास्थ्य शाखाले समयमा शतप्रतिशत पूर्णखोप सुनिश्चितता गर्न सफल भएको भन्दै धन्यवादसमेत दिए ।
यसैगरी पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पूर्णखोप सुनिश्चितता नहुँदा ठुलो मात्रामा रोग लाग्ने गरेको बताउँदै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गर्न सुरु भएदेखि स्वास्थ्य क्षेत्रमा देखिएको परिवर्तन सराहनीय भएको बताए । घोषणा गर्दै गर्दा कोही छुटेका भए पनि खोजेर खोपको दायरामा ल्याउनै पर्ने बताउँदै अध्यक्ष पोख्रेलले कागजमा मात्र नभएर व्यवहारमै पूर्णखोप सुनिश्चितता हुन जरुरी रहेको र त्यसै अनुरूप गढवा गाउँपालिका स्वास्थ्य शाखा निरन्तर काम गरेको बताए ।
गढवा गाउँपालिकाका पूर्ण खोप सुनिश्चितता तथा दिगोपन कार्यक्रमका फोकल पर्सन तथा गढवा स्वास्थ्यचौकीका प्रमुख सूर्यनारायण यादवले शून्यदेखि १५ महिनासम्मको घरधुरी सर्वेक्षण सात सय ३३ घरपरिवारमा गरिएको, १६ देखि ५९ महिना पूर्णखोप पाएका बच्चाको सङ्ख्या एक हजार नौ सय ४४ घरबाट सङ्कलन गरी पाएको बताए । जिल्ला स्वास्थ्य कार्यालय दाङका पूर्णखोप सुनिश्चितता तथा दिगोपन कार्यक्रमका फोकल पर्सन भानुज्योति वलीले खोप सुनिश्चितता सबै बालबालिकाको अधिकार भएको बताउँदै खोप सेवा स्थानीय तहको जिम्मेवारी भएको बताए । राष्ट्रिय खोप तालिका अनुसार शून्यदेखि १५ महिनाभित्र पूरा गरे पूर्णखोप मान्ने गरेको बताए । पूर्णखोप सुनिश्चितताका लागि कम्तीमा ९५ प्रतिशत खोप लगाएको हुनु पर्ने बताए ।
कार्यक्रममा गढवा गाउँपालिकाका आठ वटै वडाबाट एक–एक जना सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविकालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, सुशासन समितिका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष लेखबहादुर थापा, विभिन्न स्वास्थ्यचौकी लगायतका स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, सामुदायिक महिला स्वास्थ्य स्वयम्सेविका सहभागिता रहेको थियो । गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गढवा स्वास्थ्यचौकीका प्रमुख सूर्यनारायण यादवले गरेका थिए ।