यम रेग्मी
वैचारिक चिन्तन
चर्मचक्षु र अन्तर्चक्षुमध्ये सुन्दरता कुन हो ? सुन्दरता केवल आँखाले देख्ने रङ र आकारको सन्तुलन हो, वा यो त्योभन्दा गहिरो कुनै अदृश्य शक्ति हो ? विगत केही महिनादेखि मेरो मन यही प्रश्नको आँधीबेहरीमा छ ।
हामी प्रायः सुन्दरतालाई वस्तुमा खोज्छौँ, तर के सुन्दरता वस्तुमा हुन्छ कि हेर्नेको दृष्टि र महसुस गर्नेको भावमा ? आजको संसार भौतिक चमक धमकमा यति आशक्त छ कि हामीले सुन्दरतालाई ग्लामरको साँघुरो घेरामा कैद गरिदिएका छौँ । तर जब म एकान्तमा बसेर प्रकृति र मानवीय व्यवहारलाई नियाल्छु, तब म बाहिरी आँखा भित्री आँखा बीचको एउटा ठूलो खाडल देख्छु । चर्मचक्षुले केवल छालाको रङ र शरीरको बनोट देख्छ, तर अन्तर्चक्षुले अस्तित्वको त्यो गहिराइ देख्छ जहाँ सुन्दरताको वास्तविक परिभाषा लुकेको हुन्छ । यो खोजी केवल एउटा शब्दको अर्थ खोज्नु होइन, बरु दृश्य र अदृश्य बीचको सम्बन्ध बुझ्ने मेरो आफ्नै एउटा दार्शनिक यात्रा हो ।
मानवीय सौन्दर्य र समयको क्रूर ऐनामा मानिसको सुन्दरता एउटा ओइलाउने फूल जस्तै हो । बीसको जोश, तीसको चमक र चालिसको ओजपछि मानिस बिस्तारै चाउरिँदै जान्छ । जब मानिस चालिस वर्षको आसपास पुग्छ, उसमा एउटा अनौठो भय पैदा हुन्छ । ऊ अगाडि बढ्न डराउँछ र विगततिर फर्केर हेर्छ । तर विगत पनि सुखद कहाँ हुन्छ र ? अधुरा कर्म र छुटेका सपनाहरुले उसलाई भित्रभित्रै पोलिरहन्छ । मानिसले आफ्नो १०० वर्षको आयुलाई एउटा ठूलो साम्राज्य ठान्छ, तर प्रकृतिको विशाल क्यानभासमा यो केवल एक निमेष मात्र हो ।
महान् साहित्यकार लियो टोल्सटायले भनेका थिए, “सुन्दरता एउटा यस्तो भ्रम हो, जसले हामीलाई यो विश्वास दिलाउँछ कि बाहिरी रुप राम्रो हुनु नै आन्तरिक गुण पनि राम्रो हुनु हो ।” तर समयले यो भ्रमलाई छिट्टै तोडिदिन्छ । अनुहारका चाउरीहरुले यो बताउँछन् कि भौतिक सुन्दरता समयको दास हो, तर हाम्रो आत्माको निश्छलता र विचारको सुगन्ध मात्रै यस्ता चिज हुन्, जसलाई समयले छुन सक्दैन ।
कुरुपतामा लुकेको भव्यता सुन्दरताको वास्तविक कसी भनेको स्थायित्व हो । यस अर्थमा मानिसभन्दा वनस्पतिहरु कैयौँ गुणा बढी सुन्दर र महान् छन् । क्यालिफोर्नियाका पहाडहरुमा पाइने ‘ब्रिस्टलकोन पाइन’ वृक्षलाई हेरौँ । जब यसले पाँच हजार वर्षसम्म सूर्यको राप, हिउँको चिसो र आँधीको थप्पड सहन्छ, तब उसको बोक्राको हरेक धाँजामा एउटा इतिहास लेखिएको हुन्छ । संसारले त्यसलाई कुरुप वा खस्रो देख्ला, तर वास्तवमा त्यो धैर्यताको एउटा उत्कृष्ट कलाकृति हो । हाम्रै गाउँघरका वर(पिपललाई हेरौँ ।
मानिस बुढो हुँदा शक्तिहीन र चमकहीन देखिन्छ, तर यी वृक्षहरु जति पुराना हुन्छन्, त्यति नै भव्य, विशाल र परोपकारी बन्दै जान्छन् । उनीहरुको हाँगामा चराचुरुङ्गीको सङ्गीत बज्छ, जराले धर्तीलाई दह्रोसँग समात्छ र तिनीहरुको छायाँले हजारौँ बटुवाको थकाइ मेट्छ । जोन किट्सले भनेका थिए, “सत्य नै सुन्दरता हो र सुन्दरता नै सत्य हो ।” के यी परोपकारी वृक्षहरु भन्दा ठूलो सत्य र सुन्दरता अर्को केही हुन सक्छ ? जसले समयलाई जितेर परोपकारको छहारी फैलाउन सक्छ, त्यही नै वास्तविक सुन्दर हो ।
मानिसको कृत्रिम मुखौटा व्याख्या गर्ने एउटा उखान चरितार्थ हुन्छ, ‘मुखमा रामराम, बगलीमा छुरा’ । मानिस आफ्नो वास्तविक रुप लुकाउन अनेकौँ कृत्रिम मुखौटाहरु लगाउँछ । कोही गोरो हुन चाहन्छ, कोही अग्लो देखिन खोज्छ । यो हीनताबोध र अहङ्कारको चक्रव्यूह नै मानवीय कुरुपताको जड हो तर पशुपन्छीसित संसारमा एउटा अद्भुत प्राकृतिक इमानदारी छ । एउटा मयूरले आफ्नो प्वाँख सजाउन कुनै पार्लर धाउनु पर्दैन । उसको रङमा सृष्टिको मौलिक चित्रकारिता छ । एउटा बाघको शरीरका धर्साहरु उसको पहिचान हुन्, उसको अहङ्कार होइन । पशुपन्छीहरु जस्ता छन्, त्यस्तै देखिन्छन् । उनीहरुमा कुनै वर्णको विभेद छैन । मानिसको सुन्दर अनुहारभित्र कुरुप षड्यन्त्र लुकेको हुन सक्छ, तर एउटा मृगको आँखामा सधैँ निर्दोषता र एउटा सिंहको चालमा सधैँ स्पष्टता झल्कन्छ । यो प्राकृतिक स्पष्टता नै वास्तविक सौन्दर्य हो ।
गोल्डेन रेसियो र ब्रह्माण्डीय सुन्दरता केवल भावनाको विषय मात्र होइन, यो त ब्रह्माण्डको एउटा सटिक गणित पनि हो । विज्ञानले यसलाई गोल्डेन रेसियो को रुपमा व्याख्या गर्छ । एउटा सूर्यमुखी फूलको दानाको सजावटदेखि समुद्री शङ्खको घुमाउरो बनावटसम्म प्रकृतिले एउटा निश्चित गणितीय अनुपात पालना गरेको हुन्छ । यो अनुपात जहाँ मिल्छ, त्यहाँ हाम्रो मस्तिष्कले आनन्द महसुस गर्छ । एउटा पुतलीको पखेटाको बुट्टा होस् या एउटा पातको बनावट, त्यहाँ सृष्टिकर्ताले स्केल र कम्पासले कोरे जस्तै शुद्धता छ । यसर्थ, सुन्दरता भनेको अव्यवस्थित चमक होइन, बरु यो त प्रकृतिले तय गरेको एउटा अनुशासित, सन्तुलित र व्यवस्थित संरचना हो । जब हामी यो सन्तुलनबाट टाढा भाग्छौँ, तब हामी कुरुप बन्न पुग्छौँ ।
सौन्दर्यको सर्वोच्च शिखरफूलको सुन्दरता उसको रङमा मात्र हुँदैन, उसको वासनामा हुन्छ । तर त्यो वासना पनि तब मात्र सार्थक हुन्छ, जब उसले आफूलाई हावामा समर्पित गर्छ । वनस्पतिको सौन्दर्यको सर्वोच्च शिखर ’परोपकार’ हो । एउटा रुखले आफूलाई काट्नेलाई पनि शीतल छाया दिन्छ र ढुङ्गा हान्नेलाई मीठो फल दिन्छ ।
महान् दार्शनिक सुकरातले भनेका थिए, “भित्री आत्माको सुन्दरताले बाहिरी मानिसलाई पनि दिव्य बनाउँछ ।” अहिलेको मानिसले सुन्दरतालाई स्वार्थसँग जोडेको छ, “म कसरी अरुभन्दा राम्रो देखिऊँ ?” तर प्रकृतिले सुन्दरतालाई त्यागसँग जोडेको छ । जो जति बढी अरुका लागि बाँच्छ, ऊ त्यति नै सुन्दर देखिन्छ । आफू जलेर अरुलाई उज्यालो दिने सूर्य कुरुप हुन सक्दैन । आफू काटिएर अरुको घर थाम्ने काठ कहिल्यै पुरानो हुँदैन ।
वर्णको भ्रम र शाश्वत सत्य मानिसको वर्ण (रङ) त केवल भौगोलिक र वातावरणीय परिस्थितिको उपज मात्र हो । अफ्रिकाको चर्को घाममा बाँच्न प्रकृतिले दिएको उपहार कालो वर्ण हो भने ठन्डा प्रदेशका लागि दिइएको अनुकूलता गोरो वर्ण हो । यो त केवल एउटा पातलो छालाको पत्र मात्र हो । दुर्भाग्यवश, मानिसले यही पातलो आवरणलाई लिएर युद्ध ग¥यो, भेदभाव ग¥यो र सुन्दरताको गलत परिभाषा लेख्यो । तर के कालो बादलबाट झर्ने पानी सेतो हुँदैन र ? के कालो माटोबाट निस्कने फूल ररु्गीन हुँदैन र ? प्रकृतिमा रङको कुनै श्रेणी हुँदैन, त्यहाँ त केवल विविधताको उत्सव हुन्छ । राल्फ वाल्डो इमर्सनले भनेका थिए, “सुन्दरतालाई हामीले संसारभरि खोज्दै हिँडे पनि, यदि यो हामीभित्र छैन भने हामीले यसलाई कतै भेट्ने छैनौँ ।”
अस्तित्वको गहिराइमा सुन्दरतायस विशाल ब्रह्माण्डमा मानिस केवल केही समयका लागि आएको एउटा अतिथि मात्र हो । जबकि यी वनस्पति र पशुपन्छीहरु यस धर्तीका आदिम र वास्तविक हकदार हुन् । तिनीहरु शाश्वत कलाकृति हुन् । वास्तविक सुन्दरता त त्यो हो, जो हजारौँ वर्षसम्म वनस्पति झैँ धैर्यवान् र स्थिर छ; पशुपन्छी झैँ निश्छल, इमानदार र प्राकृतिक छ; र गोल्डेन रेसियो झैँ सन्तुलित छ । कृत्रिमताको लेपन लगाएर सुन्दर देखिनु एउटा हार हो । तर आफ्नो प्राकृतिक स्वरुपलाई स्वीकार गर्नु, धैर्यको काँचुली फेर्नु र परोपकारको सुगन्ध छर्नु नै सुन्दरताको साँचो परिभाषा हो । सुन्दरता अनुहारको छालामा होइन, अस्तित्वको गहिराइमा र कर्मको पवित्रतामा खोजिनुपर्छ । जबसम्म हामी आफूलाई प्रकृतिको यो वृहत्तर लयसँग जोड्न सक्दैनौँ, तबसम्म हामी केवल भ्रमको सुन्दरतामा बाँचिरहेका हुनेछौँ ।
मात्र हो । जबकि यी वनस्पति र पशुपन्छीहरु यस धर्तीका आदिम र वास्तविक हकदार हुन् । तिनीहरु शाश्वत कलाकृति हुन् । वास्तविक सुन्दरता त त्यो हो, जो हजारौँ वर्षसम्म वनस्पति झैँ धैर्यवान् र स्थिर छ । पशुपन्छी झैँ निश्छल, इमानदार र प्राकृतिक बनेको छ । गोल्डेन रेसियो झैँ सन्तुलित र व्यवस्थित छ
र वनस्पति झैँ परोपकारी र सेवाभावले भरिएको छ । कृत्रिमताको लेपन लगाएर सुन्दर देखिनु एउटा हार हो । तर आफ्नो प्राकृतिक स्वरुपलाई स्वीकार गर्नु, धैर्यको काँचुली फेर्नु र परोपकारको सुगन्ध छर्नु नै सुन्दरताको साँचो परिभाषा हो । सुन्दरता अनुहारमा होइन, अस्तित्वको गहिराइमा खोजिनुपर्छ ।